पोटरी स्क्वेरका स्थानीय पाला बनाउन व्यस्त
भक्तपुर : तिहार घरदैलोमा आइसकेको छ। यसैबीच भक्तपुर पोटरी स्क्वेरका राजेश प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ छ। अन्य बेलामा भन्दा तिहारको लक्ष्मीपूजामा माटोको पालाको माग बढी हुने भएकाले प्रजापतिले धेरै दिन अघिदेखि माटोको पाला बनाउनमै व्यस्त भएका हुन्।
उनी बिगत २ दशकदेखि माटोको भाँडो बनाउने पेसामा आबद्ध छन्। उनले पुख्र्यौली पेसालाई नै आफ्नो पेसा बनाएका हुन्। अरू समय उनी माटोका विभिन्न भाडा बनाउँछन्। तर, तिहारको समयमा पालाको अर्डर नै बढी आउने भएकाले राजेश हरेक वर्ष तिहार आसपास बढी समय माटोको पाला बनाउनमै लाग्छन्।
उनले भने, ‘तिहारमा पालाको माग धेरै हुन्छ। त्यसैले यसका लागि २ हप्ता अगाडिदेखि नै तयारी थाल्नपर्छ। अर्डर आई नै रहेको छ। हिजो मात्र सकाएर पसलमा पठाइसकेँ, अरू थप पनि बनाउँदैछु।’ यस वर्षका लागि उनले तिहारमा मात्र करिव ७० हजार पीस पाला बनाए। राजेश मात्रै होइन उनी बसोबास गर्ने पूरै टोल तिहार नजिकिएसँगै माटोको पाला उत्पादनमा व्यस्त हुन्छ। तिहारमा घर तथा टोलटोलमा माटोको पालामा बत्ती बालेर झलमल्ल बनाउने परम्परा छ। त्यसैले तिहारमा बजारमा पालाको माग बढ्ने गरेको छ। माग बढेपछि भक्तपुर नगरपालिका ४ मा अवस्थित पोटरी स्क्वेरका अधिकांश प्रजापति समुदाय यति बेला पाला बनाउनै व्यस्थ हुन्छन्।
माटोको पाला उत्पादन गर्न आफ्ना बूबा आमालाई सघाइरहेका पोटरी स्क्वेरका २० वर्षीय कृजेस प्रजापतिले पनि तिहारका लागि पाला उत्पादन गर्न रातभरि खटन पर्ने बताए। ‘तिहारको लागि तयारी त दसैं अगाडिदेखि नै गरेको हो। म त अहिले फुर्सद भएकाले बुबा आमालाई सघाउँछु भनेर बसेको हो। अरू दिनमा त मन लाग्ने जति बनाउने हो ! जति बनाए पनि हुन्छ। तर, तिहारका लागि भने म यति नै बनाउँछु भनेर टार्गेट राखेर बनाउनुपर्छ। कहिले काही टार्गेट धेरै भयो भने रातभरी पनि बनाउनुपर्छ।’
पोटरी स्क्वेरकै स्थानीय मोहनप्रसाद प्रजापति पनि माटोको पाला बनाउन तल्लिन देखिन्थे। उनले प्रत्यक वर्ष २ देखि ४ लाखसम्म पाला बनाउँछन्। ४८ वर्षीय मोहनले भने, ‘बनाएको जति सबै खुजुरा पसलमा पठाइसकेँ। अब फेरि बनाइ राखेको छु। कुनै पसलमा २० हजार कुनै पसलमा १५ हजार जति पठायो। तिहारमा पाला मात्रै बिक्छ। अरू बिक्दैन।’
पोटरी स्क्वेरको कोलाखो टोल प्रजापति समुदायले भारिएको छ। अहिले त्यहाँ करीब ५० घर छन्। लगभक प्रत्यक घरबाट स्थानीयले माटोको भाडा बनाउँछन्। उनीहरूले तिहार लक्षित पाला उत्पादन गर्छन्।