कीर्तिपुरको मेयर उम्मेदवारमा एमालेबाट मानन्धर सिफारिस
काठमाडौं : नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।
एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा. मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए। डा. मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुन्।
नगर कमिटीबाट सिफारिस भइआएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद रिक्त रहेको थियो। उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ।