काठमाडौं : अस्ट्रेलियाविरुद्धको द हङकङ सिक्सेसमा नेपाल विजयी भएको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियालाई नेपालले ११ रनले पराजित गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १०० रन मात्र बनायो। अस्ट्रेलियाका ज्याक वुडले सर्वाधिक ५५ रन बनाए भने एलेक्स रस १४ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट, लोकेश बम र विवेक यादवले १/१ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनले योगदान गरे। कप्तान जोरा रिटार्यट आउट भएपछि विवेक यादव क्रिजमा आएका हुन्।
त्यसैगरी लोकेश बमले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनको योगदान गरे। त्यसैगरी विवेक यादवले १२ रन जोडे भने नारायण जोशीले १ रन र राशिद खानले १२ रनको योगदान गरे। अस्ट्रेलियाका ज्याक वुडले २ विकेट लिए।
नेपालले शुक्रबार पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको थियो। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो। नेपालले आज दिउँसो क्वाटरफाइनल खेल्नेछ। प्रतियोगितामा १२ टोलीको सहभागिता छन्।