पश्चिमी वायुको प्रभाव : ३ वटा प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
काठमाडौं : देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनका अनुसार दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा, बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।