बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड (फोटोफिचर)
काठमाडौं : भाइटीकाका अवसरमा काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भीड लागेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। मन्दिर बिहानैदेखि खुला गरिएको हो। मन्दिर आज भक्तजन आएसम्म खुला रहनेछ।
२०३५ सालपछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि शुभ साइत भने बिहान ११:३७ बजे जुरेको छ।