भैरहवा विमानस्थलबाट एयर एशियाको उडान सुरु
भैरहवा : थाईल्याण्डको वायुसेवा कम्पनी एयर एशियाले भैरहवा–बैंकक उडान सुरु गरेको छ। चालक दलका सात सदस्यसहित आइतबार बिहान ७ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान बिहान ७:४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए।
उनले विमानस्थलबाट एयर एशियाले हप्तामा दुई वटा उडान गर्ने बताए। ‘कम्पनीको लागि सुरुवाती चरण भएकोले आज आइतबार आएको र अर्को फ्लाइट कार्तिक २३ गते आउनेछ’ सूचना अधिकारी राउतले भने, ‘त्यसपछि हप्तामा सोमबार र बिहीवार दिउँसो १२:१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ।’
भैरहवा विमानस्थलबाट एयर एशियाको यो नियमित तालिका अनुसारकै उडान हो। एयर एसियाले भैरहवा विमानस्थलबाट उडान गर्नका लागि केही दिन अघि मात्रै अनुमति पाएकोले कम्पनीले टिकट विक्री लगायत बजार प्रवर्द्धनका लागि गर्न नपाएकोले विमानमा यात्रु नभएको उनले बताए।
यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन्। फ्लाइ दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ।
सूचना अधिकारी राउतका अनुसार फ्लाइ दुबई दैनिक १:४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २:४५ बजे काठमाडौं हुँदै दुबई जानेछ। त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिबार बिहान ७:३० बजे भैरहवामा अवतरण गर्ने र ८:३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ।