गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने ३ जना पक्राउ
वीरगन्ज : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा पूजापाठ र दर्शनका लागि जाने श्रद्धालु भक्तजनको गहना, पैसा चोरी गर्ने ३ जना आइतबार पक्राउ परेका छन्।
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षीय गढीमाई मेला गत असोज १७ गतेदेखि विधिवत रुपमा सुरु भइसकेको छ। पशुबलीका लागि विश्वमै प्रसिद्ध गढीमाई मेला मंसिर तेस्रो सातासम्म जारी रहनेछ। गढीमाई मन्दिरमा मेला विधिवत रुपमा सुरु भइसकेका कारण त्यहाँ पूजापाठ र दर्शन गर्न अहिलेदेखिनै दिनहुँ हजारौं भक्तजनहरू पुग्न थालेका छन्।
मन्दिरमा पूजापाठ र दर्शनका लागि भक्तजनहरूको भीड लाग्न थालेपछि त्यसैको मौका छोपेर गढीमाई मन्दिरमा पाकेटमार र गहना चोर्ने चोरहरूको गिरोह अहिलेदेखि नै सक्रिय हुन थालेका छन्।
यसैक्रममा शनिबार बिहान गढीमाई मन्दिरमा दर्शन गर्न पुगेका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो। त्यसपछि मन्दिर परिसरमा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको भीडयो फुटेजमा हेर्दा पहिचान भएका तीन जना चोरलाई नगर प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
शनिबार सुनको सिक्री चार्ने गिरोहका उनीहरूले नै आइतबार पनि मन्दिरमा दर्शन गर्दै गरेका एक जना भक्तजनको पकेटमा हात हालेर पैसा झिक्दै गरेको अवस्थामा उनीहरूलाई नगर प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा पर्साको वीरगन्ज महानगरपालिका-१६ नगवाका शम्भु राय र सन्दिप राय तथा पर्साकै पकाहा मैनपुर गाउँपालिका-५ का पवन यादव रहेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए। नगर प्रहरीले पक्राउ गरेका तीनै जनालाई नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताए।
दसैंको घटस्थापनादेखि विधिवत रुपमा सुरु गढीमाई मेलामा शनिबारसम्म तीन जना भक्तजनको सुनको सिक्री चोरी भएको मेयर यादवले बताए। ती मध्ये अहिले सम्म चार जना चोर पक्राउ परिसकेको उनले बताए। सुनको सिक्री चोरी हुन थालेपछि मन्दिर परिसरमा नगर प्रहरीले निगरानी बढाएको उनले बताए। गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका मेयर यादवका अनुसार मन्दिर परिसरभित्र मात्रै हाल २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। अब केही दिनमै थप १० वटा सीसीटीभी क्यामरा मन्दिर परिसरभित्रै जडान गरिने उनले बताए।