छठमा किसानलाई उखु पेलेर सक्खर बनाउन चटारो (फोटोफिचर)
जनकपुरधाम : समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसानहरू उखु पेलेर सक्खर बनाउन लागि परेका छन्। छठ पर्वको बेला सक्खरबाट बनाइएको परिकार मात्र प्रसादका रूपमा चढाइने भएकाले माग बढेपछि उखु किसानहरू सक्खर बनाउन लागि परेका हुन्। छठ पर्वको एक महिना अगावै देखि बजारमा सक्खरको माग र भाउ बढेसँगै उखु उत्पादक किसान सक्खर बनाएर बेच्ने चटारो लागेको छ।
छठको आवागमनसँगै उखुबाट सक्खर बनाई बिक्री गर्न किसानलाई भ्याई–नभ्याई छ। स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सक्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका-४, सुर्तिविकास चोकका सक्खर उत्पादक सुरेन्द्र साह बताउँछन्। उनले भने, ‘छठमा घर–घरमा सक्खरको आवश्यकता पर्छ। त्यसैले वर्षकै सबैभन्दा उच्च माग र भाउ पनि यही बेला हुन्छ, त्यसैले पछिल्लो वर्षहरूमा किसानहरू सक्खर बनाउने आकर्षित हुँदैछ।’
छठमा सक्खरको खीर, ठेकुवा, भुसुवा, लगायतका सामग्रीहरू उखुको सक्खरबाटै बनाउने गरिएका कारण स्वभाविक रुपमै माग बढ्ने गरेको गौशाला नगरपालिका-११, कालिपुरका किसान रामकिशोर महतो बताउँछन्। उनले भने, ‘कात्तिक मंसिरमा उखु काटेर थप एउटा बाली उब्जाउने र सक्खरले समेत राम्रो मूल्य नगदे आम्दानी हुने भएपछि उत्पादन गरी बिक्री गर्न उखु किसानलाई भ्याई–नभ्याइ हुन्छ। उखु उत्पादन गरेर काट्ने बेलामा चिनि मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ, त्यही भएर वर्ष उखु पेलेर सक्खर बनाएर बेच्न थालेको छु।’
महोत्तरीको गौशाला, बर्दिबास, भङ्गाहा, औरही, सोनमा सहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन्। अन्य दिनमा पनि सक्खरको माग हुन्छ, तर छठमा सक्खरको माग झण्डै ९० प्रतिशतले बढ्छ, त्यसैले आफ्नो प्रायोजनका लागि र तत्काल बिक्री गरी सुलभ रुपमा नगद बिक्री हुँदा उखु पेल्न थालिएको हो। गौशाला नगरपालिका-४ का किसान देवनारायण साहले भने, ‘चिनी मिलको ठेगान हुँदैन, समयमा भुक्तानी दिँदैन, त्यसैले अन्य भौतारिनु भन्दा त नगदी र सरल सुलभताका लागि उखु धमाधम उखु पेल्दै छौं।’
महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधमले पेल्ने कार्य जारी छ। छठको मुखमै पर्वअघि सक्खर बजारसम्म पुर्याउन सकिए अपेक्षित मूल्य पाइने किसान राजकिशोर महतो बताउँछन्। छठलाई केन्द्रित गरी बनाइएको सक्खर राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने चटारो भएको महतोको भनाइ छ।
अहिले १ क्विन्टल सक्खर बनाउन झण्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सक्खर कारिगर मो. जुमराति अन्सारी बताउँछन्। उनले भने, ‘९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल सक्खर (सक्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झण्डै १० क्विन्टलमा १ क्विन्टल सक्खर तयार हुन्छ।’ सामान्य रूपमा झण्डै ८० रुपैयाँको हाराहारीमा खुद्रा बिक्री हुने सक्खर अहिले छठमा झण्डै १०० देखि १ सय २५ रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको छ।