चोटका कारण करण र भीम मैदान बाहिर, स्कटल्यान्डविरुद्ध देव र सागरले खेल्ने
काठमाडौं : अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ। आइसीसी लिग २ अन्तर्गत नेपालले अमेरिका भ्रमणको अन्तिम खेल खेल्न लागेको हो।
नेपाली टोलीमा दुई परिवर्तन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। चोटका कारण करण केसी र भीम सार्की मैदान बाहिर रहनेछन् भने उनीहरूको ठाउँमा देव खनाल र सागर ढकालले खेल्नेछन्। अमेरिकाविरुद्धको खेलमा करण घाइते बनेका थिए। नेपाली टोली अमेरिकासँगको दुई खेलमा पराजित भएको थियो भने स्कटल्यान्डविरुद्ध भने विजयी भएको थियो।
लिग २ को ११औं मध्ये नेपाल ८ खेलमा पराजित भएको छ। दुई खेलमा विजयी हुँदा एक खेल वर्षाका कारण स्थगित भएको थियो। लगातार पराजय व्यहोरिरहेको नेपाली टोलीका लागि एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बनेको छ। नेपाल ५ अंकका साथ पुछारबाट दोस्रो नम्बरमा रहेको छ। नेपालपछि युएई रहेको छ।