अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै
वासिङटन डिसी : अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि केही घण्टामा मतदान सुरु हुने जनाइएको छ ।
यसपटकको प्रतिस्पर्धा निकै कडा हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रपतिको उम्मेद्वारमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् ।
कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् ।
ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् । कमला ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।
अमेरिकाका धेरैजसो क्षेत्रमा नेपाली समयअनुसार मंगलबार साँझ करिब ४:१५ बजेदेखि मतदान सुरु भई बुधबार बिहान करिब ६ बजे सकिनेछ।
निकट प्रतिस्पर्धाका कारण यसै वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।
अमेरिकामा हुने केही राष्ट्रपतीय निर्वाचनमा भोटिङको दिन वा भोलिपल्ट बिहान विजेता घोषणा हुने गरेको भए पनि यसपटक कडा प्रतिस्पर्धाका कारण पर्खनुपर्ने हुनसक्ने जनाइएको छ ।
सन् २०२० मा अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। अमेरिकी टिभी नेटवर्कमा नोभेम्बर ७ मा जो बाइडेनलाई विजयी घोषणा गरिएको थियो ।