अमेरिकी राष्ट्रपति चुनावका डाइनामिक्स र चुनावी इपिसेन्टरका नेपालीहरू
संयुक्त राज्य अमेरिका आमचुनाव २०२४ को पूर्वसन्ध्यामा उभिएको छ। हरेक चार वर्षको नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार हुने चुनाव यस वर्ष नोभेम्बर ५ मा हुँदैछ। चुनावी मैदानमा राष्ट्रपतिका पाँच उम्मेदवार भए पनि प्रतिस्पर्धा सधैंझै डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीका उम्मेदारहरू बीचमै रहेको छ। वर्तमान उपराष्ट्रपति कमलादेवी ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड जोन्सन ट्रम्प क्रमशः डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
अमेरिकाको इतिहासमै सबैभन्दा पेचिलो र महँगो बन्न पुगेको यो चुनावमा १६ करोड १५ लाख मतदाताले मतदानका लागि आफ्नो नाम दर्ता गरेका छन्। ती मतदातामध्ये ७ करोड ७५ लाखले मतदान गरिसकेका छन् भने बाँकीले मतदानकै दिन मतदान गर्नेछन्। अमेरिकामा मतदानकै दिन मात्र हैन, चुनावका दिन उपस्थित हुन नसक्नेले हुलाकबाट मतपत्र मगाएर ‘मेल इन् ब्यालेट’ मतदान गर्न र चुनावपूर्व मतदान केन्द्रमा हुने ‘अर्ली भोटिड’मा पनि मतदान गर्न सक्छन्।
आमचुनावको औपचारिक दिन नोभेम्बर ५ को सूर्योदय हुन २४ घण्टाभन्दा पनि कम समय रहेको यतिबेला पनि पूरै अमेरिकी जनताले आफ्नो ४७औं राष्ट्रपति कसलाई छान्ने भन्ने निर्णय गरिसकेका छैनन्। अझै पनि २ प्रतिशत मतदाताले आफूले मतदान गर्ने उम्मेदवारको निर्णय गरिनसकेको जनमत सर्भेक्षणहरूले देखाएका छन्। तीव्र प्रतिस्पर्धा रहेको अमेरिकामा यसपटकको चुनावमा यही झिनो मत निर्णायक हुने संकेत देखिएको छ।
अमेरिकामा लोकप्रिय मतको आधारमा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिस लाखौं मतले अगाडि छिन्। लोकप्रिय मत जित्नका लागि उनलाई कुनै कसरत नै गर्न पर्दैन। त्यसैगरी राज्यको संख्याको आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प धेरै राज्यमा विजयी हुन्छन्। अमेरिकाको चुनावी नक्सा हेर्दा बीचको सारा भाग रातो देखिन्छ भने पूर्वी र पश्मिमी तटको अधिकांश र बीचको केही भाग मात्र नीलो देखिन्छ। अमेरिकामा रातो रङले रिपब्लिकन र नीलो रङले डेमोक्रेटिक पार्टी जनाउँछ।
अमेरिकामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनिए पनि खासमा त्यस्तो व्यवस्था छैन। जनताले मतदान गरे पनि नेब्रास्का र मेन राज्यबाहेकका ४८ राज्य राजधानी वासिङ्टन डीसीका मतदाताको बहुमत प्राप्त गर्ने पार्टीका कलेज इलेक्ट्रल मतदाता भनिने प्रतिनिधिले पार्टीलाई मतदान गर्छन्। अमेरिकामा हरेक १० वर्षमा हुने जनगणनाका आधारमा राज्यको जनसंख्याको आधारमा ५ सय ३८ कलेज इलेक्ट्रल मत विभाजन गरिन्छ। त्यही कलेज इलेक्ट्रल मतको बहुमत अर्थात् २ सय ७० मत ल्याउने उम्मेदवार नै विजयी हुन्छ। सामान्य अवस्थामा यसरी नै राष्ट्रपति छानिने भए पनि बराबरी भएको अवस्थामा राष्ट्रपतिलाई कंग्रेसको तल्लो सदन र उपराष्ट्रपति माथिल्लो सदनको बहुमतले छान्ने संवैधानिक प्रावधान छ। यद्यपि, अहिलेसम्म त्यस्तो अवस्था आएको छैन।
अमेरिकाका ५० मध्ये २२ राज्य गाढा राता र राजधानी वासिङ्टन डीसीसहित ११ राज्य गाढा नीला छन्। केही राज्य फिक्का राता र केही राज्य फिक्का नीला छन्। यी सबै ४३ राज्यको हिसाब गर्दा ४ सय ४७ कलेज इलेक्ट्रल मतको अनौपचारिक छिनोफानो भइसकेको छ। त्यस्तो मत संख्या डेमोक्रेटिक पार्टीको पक्षमा २ सय २६ र रिपब्लिकन पार्टीको पक्षमा २ सय १९ छ। अझै पनि अमेरिकी चुनावी भाषामा ब्याटल ग्राउन्ड वा स्विङ स्टेट्स भनिने ७ राज्यको ९३ मत अनिर्णीत छ। ती राज्यहरूमा एरिजोनामा ११, जर्जिआमा १६, मिचिगनमा १५, नेभदामा ६, नर्थ क्यारोलाइनामा १६, विस्कन्सनमा १० र पेन्सेल्भेनियामा १९ कलेज इलेक्ट्रल मत रहेका छन्। अमेरिकाको खास चुनाव अहिले यिनै राज्यहरूमा केन्द्रित भएको छ।
पछिल्ला मत सर्भेक्षणहरूमा कमला ह्यारिस मिसिगन, नर्थ क्यारोलाइना, विस्कन्सन र नेभादामा अगाडि देखिएकी छन् भने डोनल्ड ट्रम्प एरिजोना र जर्जियामा। पेन्सेल्भेनियामा भने यसलाई आधार मान्ने हो भने कमलाको पक्षमा थप ४७ कलेज इलेक्ट्रल मत र ट्रम्पको पक्षमा २७ कलेज इलेक्ट्रल मत हुन्छ। योसहित जोड्दा कमलाको पक्षमा २ सय ७३ मत र ट्रम्पको पक्षमा २ सय ४६ कलेज इलेक्ट्रल मत हुन्छ। यसरी हेर्दा जितका लागि आवश्यक २७० को अंक त कमलाले पार गर्छिन् तर यो जित अझै पनि
‘मार्जिनल इरर’ भित्रै परेकाले ढुक्क हुने स्थिति छैन। उनलाई आफ्नो जित सुनिश्चित गर्न पेन्सेल्भेनियाको १९ कलेज इलेक्ट्रल मत आवश्यक देखिन्छ।
उता, ट्रम्पका लागि त पेन्सेल्भेनिया जितेर मात्र पुग्दैन, मत सर्भेक्षणमा कमला अगाडि रहेका केही राज्यहरूको स्थिति पनि उल्ट्याउनुपर्ने हुन्छ। त्यसो त, निर्वाचन हुन २४ घण्टा बाँकी रहेको बेला गाढा रातो मानिएको आइवा राज्यमा पनि ३ प्रतिशत मतले कमला अगाडि पुगेको अप्रत्याशित मत सर्भेक्षण बाहिरिएको छ। यो मत सर्भेक्षण यथार्थमा परिणत भयो भने कमलाका लागि जितको ठूलो आधार बन्नेछ।
अमेरिकामा धेरैजसो मत सर्भेक्षणहरू सही नै हुन्छन् तर विडम्बना २०१६ को मत सर्भेक्षण भने सही निस्कन सकेन। मत सर्भेक्षणमा डेमोक्रेटिक पार्र्टीकी उम्मेदवार हिलारी क्लिन्टन धेरै अगाडि भए पनि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जिते। त्यो चुनावमा लोकप्रिय मतको आधारमा हिलारी अगाडि रहे पनि उनी कलेज इलेक्ट्रल मतमा धेरै पछाडि परिन्। हिलारीले मात्र ल्याइन् भने ट्रम्प मत जितेर विजयी भए। त्यसयता २०२० को आमचुनावमा मत सर्भेक्षण सही नै भए पनि अझै पनि विश्वसनीयता पूरै आर्जन भइसकेको छैन।
मत सर्भेक्षणहरूलाई अविश्वसनीय बनाउन रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको सामान्यतः पूर्वानुमान गर्नै नसकिने व्यवहार र मिडियाप्रतिको चरम पूर्वाग्रह पनि मुख्य रहेको छ। आफ्नो विपक्षमा रहेका जुनसुकै मिडियालाई पनि फेक मिडिया भन्ने एक किसिमको भाष्य बनाउन सफल ट्रम्पका अनुयायीहरू खासगरी अमेरिकी उदार मिडियाहरूप्रति धेरै अनुदार छन्। त्यसैले मिडियाहरू अझै पनि मत सर्भेक्षण गर्ने क्रममा अतिरिक्त होसियारी अपनाइरहेका छन्। उनीहरूले आफूलाई जित र हारको प्रक्षेपण गर्नमा भन्दा पनि ‘मार्जिनल इरर’को ग्रेलाइनमा अल्झाइरहेका छन्।
यसपटक लगभग पार्टी लाइनमा विभाजित मत सर्भेक्षकहरू मात्र उल्झनमा छैनन्, मतदाताहरू पनि त्यतिकै उल्झनमा छन्। तटस्थ भनिने अमेरिकी मतदाताको समस्या त अरू गहिरिएको छ। चुनाव हुन २४ घण्टा पनि बाँकी नरहेको बेला अमेरिकाजस्तो सचेत, शिक्षित र प्रशिक्षित मतदाता रहेको देशमा अझै पनि २ प्रतिशत मतदाता अनिर्णीत हुनु त्यसैको प्रमाण हो। यद्यपि, दुवै उम्मेदवारहरूले आफूले नै जित्ने बताउँदै आएका छन्। डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनले छोडेपछि एउटा विशेष परिस्थितिमा उम्मेदवार हुन पुगेकी कमला सुरुमा चुनावी दौडमा पछाडि रहे पनि अहिले धेरै अगाडि पुगिसकेकी छिन्। यसको पूर्व आभास रिपब्लिकन उम्मेदवार ट्रम्पलाई पनि भएजस्तो देखिन्छ। केही दिनयता उनी आफू पराजित भए अमेरिका बर्बाद हुने र विश्व तेस्रो विश्ययुद्धमा जाने डर देखाइरहेका छन्। यसबाट पनि उनलाई हारको मनोविज्ञानले तर्साउन थालेको हो कि जस्तो देखिन्छ।
अमेरिकाको चुनावमा सीमा सुरक्षा र आप्रवासन, बन्दुक नियन्त्रणजस्ता मुद्दाहरू स्थायी रूपमा रहँदै आएका छन्। तर, यसपटक ती स्थायी मुद्दाहरू लगभग छायाँमा परे भने महँगी र गर्भपतन खास मुद्दाका रूपमा अगाडि देखिए। ट्रम्पले सीमा सुरक्षा र आप्रवासनलाई सुरुदेखि नै जबर्जस्त मुद्दा बनाउन खोजे। तर, समय क्रममा त्यो मुद्दा खासै जमेन। अहिले उनीसँग महँगी मात्र मुद्दाको रूपमा बाँकी छ। उता, कमलाका लागि बन्दुक मुद्दा नभएर गर्भपतन नै मुख्य मुद्दा बन्न पुगेको छ। यस पटकको चुनावका अन्तर्राष्ट्रिय मुद्दामा मध्यपूर्व र रुस–युक्रेन युद्ध, नाटोको भविष्य र चीनसँगको सम्बन्ध केन्द्रमा छन्।
अमेरिकी चुनावमा यी तमाम मुद्दा भए पनि यस पटकको खास मुद्दा चाहिँ ट्रम्प आफैं र उनको चरित्र हो। ३४ वटा गम्भीर प्रकृतिका मुद्दामा दोषी प्रमाणित ट्रम्प अमेरिकी कानुनी भाषामा एक फेलोन (अपराधी) हुन्। अमेरिकाको इतिहासमै पहिलोपटक उनले एक फेलोन राष्ट्रपतिको उम्मेदवारका रूपमा कीर्तिमान बनाएका छन्। उनीमाथि अरू पनि थुप्रै फौजदारी मुद्दाहरू विचाराधीन छन्। उनीविरुद्ध जबर्जस्ती यौन सम्बन्धको प्रयासदेखि अनैतिक यौन सम्बन्धका लागि पैसा दिएर मुखमा बुझो लगाएकसम्म मुद्दा मात्र छैनन्, अमेरिकी चुनाव परिणाम उल्टाउन संगठित राज्यद्रोहका लागि उक्साउनेदेखि वित्तीय जालसाजीका गम्भीर मुद्दाहरू पनि छन्। साँच्चै भन्ने हो भने मुद्दाहरूको भारीले नैतिक, चारित्रिक र कानुनी रूपले धेरै तल झरेका ट्रम्पका लागि अब ओर्लेर पुगिने गन्तव्य नै छैन। त्यसैले उनले सबै किसिमका घृणाका मानकहरू पार गर्दै अमेरिकालाई पूरै ट्रम्पेमनिया र ट्रम्पफोबियाको दुई कित्तामा बाँडिदिएका छन्। त्यसैले अमेरिका यसपटक कुनै मुद्दामा चुनाव लडिरहेको छ भने त्यो ट्रम्प र उनको चरित्र मात्र हो।
यो चुनावमा ट्रम्पले के बोलेभन्दा पनि के बोलेनन् ? भन्ने स्थिति छ। उनले आफू राष्ट्रपति चुनिएको पहिलो दिनदेखि नै निरंकुश हुने घोषणा गरे, आफ्नो विपक्षमा जाने जो कोहीलाई पनि शत्रुको सूचीमा राखे, आप्रवासीलाई बलात्कारी र ठग भने, गर्भपतनलाई प्रतिबन्ध लगाउने कुरा गरे। महिलाहरूलाई घृणा गरे, यौनिक अल्पसंख्यहरूलाई मान्छे नै हैनन् भने। अरू पनि थुप्रै कुरा गरेर अमेरिकालाई अर्कै रूपमा प्रस्तुत गरे। बहुमत अमेरिकीहरू भन्छन्, यो अमेरिकी चरित्र हैन। तर, पनि उनको पक्षमा यत्रो जनमत छ र अझै पनि उनी अमेरिकाको ४७औं राष्ट्रपतिका बलियो दाबेदार छन्। यो किन र कसरी भइरहेको छ ? अमेरिकी राजनीतिक पण्डितहरू पनि टाउकोमा हात राखेर बसेका छन्। उनीहरू भनिरहेका छन्, कतै अमेरिका रोमन एम्पायर पतन हुने बेलातिरको अवस्थामा त पुगिसकेको छैन ? यो आफैंमा एक गजबको खोज अनुसन्धानको विषय भएको छ।
विश्वकै एक मात्र महाशक्ति राष्ट्र अमेरिकाको चुनाव स्वभावतः विश्वकै लागि महŒवको चुनाव हुने गर्छ। अझ यसपटकको चुनाव त यस कारणले पनि महŒवपूर्ण छ कि विश्व राजनीतिमै अहम् महŒव राख्ने दुई युद्ध रुस–युक्रेन र मध्यपूर्व युद्ध जारी छन्। यी दुवै युद्धमा अप्रत्यक्ष रूपमा अमेरिका संलग्न छ। र, यी दुई युद्धलाई हेर्ने अमेरिकी दृष्टिकोण विभाजित छ। ट्रम्प रुस र इजेरेलका कट्टर पक्षधर हुन् भने कमला युक्रेनको पक्षधर हुन् भने मध्यपूर्वमा इजरेलले ज्यादती नै गरेको उनको ठहर छ। यद्यपि, चुनावको बेला यस बारेमा उनी मुख खोल्न सकिरहेकी छैनन्। सामान्यतः अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध स्थिर हुने भनिए पनि ट्रम्पका कारण यो ज्यादै अस्थिर हुन पुगेको छ। यस पटकको चुनावले अमेरिका विश्वमा अब कसरी प्रस्तुत हुने भन्ने कुराको निर्णय पनि हुँदैछ। त्यसैले पनि यो चुनाव अमेरिकाको आन्तरिक राजनीतिका लागि जति महŒवपूर्ण छ, त्यतिकै महŒवपूर्ण बाह्य जगत्का लागि पनि छ।
अमेरिकाको यो चुनाव नेपाल र नेपालीका लागि पनि महŒवपूर्ण छ। यस पटकको चुनावमा करिब १ लाख ३० हजार नेपाली– अमेरिकी मतदाता रहेका छन्। अमेरिकामा भाषाको आधारणमा जनगणना हुने भएकाले यो मतदाता संख्या नेपालीभाषीहरूको हो। यसमा नेपाल र अन्य देशबाट आएका नेपाली भाषीहरू समेटिएका छन्। त्यसमा पनि भुटानी शरणार्थीका रूपमा आएका नेपालीभाषीहरूको उल्लेख्य संख्या रहेको छ। अमेरिकाका ५० राज्यमा छरिएर रहेको यो संख्या पेन्सेल्भेनिया, टेक्सास, मेरिल्यान्ड, भर्जिनिया, न्युयोर्क, ओहायोजस्ता राज्यहरूमा बाक्लो संख्यामा छ। नेपालीहरूको यो मतदाता संख्याले नीला र राता राज्यहरूमा कुनै प्रभाव नपार्ने भए पनि पेन्सेल्भेनियाजस्तो ब्याटलग्राउन्ड स्टेट र टेक्सासजस्तो फिक्का रातो हुँदै गएको राज्यमा निर्णायक हुने देखिएको छ।
यस पटकको चुनावी इपिसेन्टर बन्दै गएको पेन्सेल्भेनिया राज्यमा मात्र ३० हजारभन्दा बढी नेपाली मतदाता रहेका छन्। यो राज्यमा जित हारको निर्णय केही हजार मतले गर्ने सम्भावना बढेको छ। यस्तो अवस्थामा एक किसिमले भन्ने हो भने पेन्सेल्भेनियामा नेपालीहरूको मत निर्णायक छ। अनि, पेन्सेल्भेनिया अमेरिकी राष्ट्रपति छान्न निर्णायक छ। यसरी हेर्दा अमेरिकाको ४७औं राष्ट्रपति को बनाउने भन्ने निर्णायक मत नै नेपालीहरूको हातमा छ भन्ने देखिन्छ। झट्ट सुन्दा त जो कोहीलाई पनि धेरै अपत्यारिलो लाग्न सक्छ तर तथ्य र तथ्यांकलाई पछ्याउँदा योभन्दा भिन्न निष्कर्षमा पुग्न सकिन्न।
अब प्रश्न उठ्छ ? के नेपालीहरूले त्यो गाँठी कुरा बुझेका छन् र त्यसका लागि आफ्नो मतको ब्रम्हास्त्र प्रयोग गर्दैछन् त ? यो भन्न सजिलो छैन। यहाँका धेरैजसो नेपाली भाषी भुटानी छन्। जिंगेको बन्द देश भुटानबाट लखेटिएर नेपालमा लामो समय शरणार्थी हुँदै अमेरिका आइपुगेका उनीहरूसम्म अझै पनि लोकतान्त्रिक हावाको ‘ब्रिज’ आइसकेको छैन। उनीहरूको के कुरा गर्नु ? , नेपालबाटै आएका नेपाली पनि अमेरिकी मूलधारमा भिज्न सकेका छैनन्, कतिलाई त त्यो अक्करे भीर लागेर पनि हिम्मत जुटाइरहेका छैनन्। अर्को कुरा यस पटकको चुनावमा आप्रवासीहरूमाझ ट्रम्पको एक किसिमको आतंक छ। त्यो आतंकको छायाँमा परेर पनि कतिपय नेपाली मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छैनन्। समुदायका अगुवाहरूले पनि त्यति गतिलो एंकर भूमिका निर्वाह गर्न सकेका छैनन्। यस्तो अवस्थामा नेपाली मतदाताहरूबाट त्यो ऐतिहासिक भूमिकाको खासै आशा गर्न सकिने स्थिति छैन।
निर्वाचनको एक साताअघि देखि नेपाली–अमेरिकी पहिलो राज्य विधायक डा. ह्यारी भण्डारीले पेन्सेल्भेनियाका नेपाली मतदाताहरूमा मतदानका लागि उत्साह भर्न प्रयास गरिरहेका छन्। छिमेकी गाढा नीलो राज्य मेरिल्यान्डका विधायक डा. भण्डारी टोली बनाएरै मतदाता घरदैलो अभियानमा जुटेका छन्। डेमोक्रेटिक पार्टीका विधायक डा. भण्डारी भन्छन्, ‘म कमला ह्यारिस र डेमोक्रेटिक पार्टीका लागि भन्दा पनि नेपालीकै लागि मत माग्न लागिपरेको छु। यो भोट हाम्रा सन्ततिको सुमधुर भविष्य लागि हो, हाम्रो मूल नेपाल र नेपालीको समृद्धिका लागि हो। कमला देवीसँग हाम्रो दक्षिण एसियाली प्रोक्सिमिटी छ। त्यसैले उनको जितमा कुनै न कुनै रूपमा हाम्रो जित हुन्छ।‘
केही समयअघि कमलासँग भेट गरेका उनले भने, ‘मैले भेटमा मेरो नाम र मेरो जन्मदेश भन्नेबित्तिकै उनले भनिन्, ‘मेरो मावली देशको छिमेकी देश नेपाल। बुद्ध र सगरमाथाको देश नेपाल। म नेपाल जान चाहन्छु।’
कमला ह्यारिसलाई राष्ट्रपति बनाएरै नेपाल लैजाने हो वा एक भूतपूर्व उपराष्ट्रपतिको रूपमा। त्यसको धेरै हदसम्म निर्णय गर्ने हैसियतमा यतिबेला खासगरी पेन्सेल्भेनियाका नेपाली–अमेरिकी छन्। आशा गरौं, उनीहरूले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपतिकै रूपमा नेपाल भ्रमण गराउन ऐतिहासिक योगदान गर्नेछन्।