अर्थ फेरिएछ
केही दिनअघि एक ठाउँमा मैले भाषण गरेको थिएँ। त्यही दिन मेरा मित्र सुपर्णखाले पनि कुनै अर्कै ठाउँमा भाषण गरेका रहेछन्। न मैले भाषण गरेको उनलाई थाहा थियो न उनलाई मैले गरेको। किनभने त्यस विषयमा हामीले भेट हुँदा पनि चर्चा गरेनौं। आज अचानक एउटा लेख पढ्न पाएँ। त्यसमा मेरो र उनको भाषणका केही अंश आफूलाई इच्छा लागेअनुसार लेखकले काँटछाँट गरेर छपाइ दिएछन्। त्यसका केही अंश यहाँ उद्धृत गर्छु।
पुरानो गीत सम्झिएर (गीतकारको नाम बिर्सिएँ) मैले हामी अहिले पनि यही नैं भन्छौं भनेर भनेको थिएँ ‘जनताकै सेवा गर्छौं झुटो बोल्दैनौं।’
सुपर्णखाले के सन्दर्भमा भनेका हुन् थाहा छैन उनले बोलेका कुराहरूबाट केही अंश झिकेर ती लेखकले लेखेछन् ‘जनतालाई सेवा गराउँछौँ झुटो बोल्दैनौं।’
त्यस्तै ‘अजेय शक्ति जनतालाई खेलौना नठान, जनताले मुक्ति पाउनेछ पक्कै मान या नमान’ भन्ने त्यही गीतकारको हरप मैले भनेकोमा सुपर्णखाले कुन सन्दर्भमा भनेका थिए त्यो नलेखी ती लेखकले मेरा मित्रका हरप टिपेर लेखेछन् ‘अजेय शक्ति हामी हौं जनता होइनन् मृत्युपछि मुक्ति तिनले पाउनेछन् मान या नमान।’
अब यसरी आफूलाई जे ठीक लाग्छ जहाँको हरप टिप्दा मन पर्छ त्यही कुरा सन्दर्भ छाडेर लेख्न पाइन्छ ? त्यतिमात्र कहाँ हो र। मेरा मान्छेले उद्योग बन्द गर्न हुन्न बिजुली काट्न हुन्न। रोजगारीको समस्या हुन्छ, राजस्व घट्छ त्यसभन्दा बढी लगानीकर्ताको लगानी डुब्छ । पछि कोही पनि लगानी गर्न आउँदैनन्। यस्तो कुकृत्य गर्न पाइँदैन भन्ने संवेदनशील कुरा गरेकोमा त्यसलाई समेत तोडमरोड गरेर ‘बिजुली मात्र किन ? जग्गा सित्तैमा, बैंकबाट लगानी सित्तैंमा, कामदार सित्तैंमा भन्ने नियम नैं बनाइदिए भैगो नि’ कुन सन्दर्भमा भनेको हो त्यसको हेक्का नराखी मेरा मित्र सुपर्णखाले गरेको भाषणको कुनै अंश समेटेर व्यंग्य कस्छन् बा ! बुझ्दो न सुझ्दो धोती लिएर कुद्दो भनेको यै हो ।
कुन सन्दर्भमा भनेको हो त्यसको हेक्का नराखी मेरा मित्र सुपर्णखाले गरेको भाषणको कुनै अंश समेटेर त्यो लेखकले मेरा मान्छेको हुर्मत लिन खोज्दा रहेछन्। त्यति मात्र हो र ? पर्यटन विकासमा हृदयदेखि लागेका मेरा मान्छेले पछिकाले के गर्लान् के भन्ने शंका भएकोले समयअगावै त्यो व्यवसाय गरेको जम्मा एक जनाको लागि केही वर्ष अगाडि वर्षौंसम्मको लाइसेन्स दिएर पर्यटन व्यवसायलाई बढावा दिएको र त्यो पनि नियमअनुसार नै गरेको न हो। स्वार्थले बसिभूत भएर आफ्नो इच्छाअनुसार नियम फेरेको दोष पो लगाउँदा रहेछन् ती लेखक त। कैले भ्रष्टाचार नगर्ने उनले वाचा गरेको कुरा भाषणमा के बताएको थिएँ कहाँ कहाँबाट सुपर्णखाको भाषणको अंश ल्याएर धज्जी उडाए ती लेखकले। सद्भावलाई पनि नबुझ्ने त्यस्ता लेखकलाई के भन्नु ? म त्यस्तो अशिष्ट छैन उनलाई जे पायो त्यही भन्न। सद्भावले गरेको काममा पनि घुस आउँछ कहीं ? मैले भाषणमा विकासका अनेक प्रमाण दिँदै सडकको द्रुत विकास भएको कुरा गरेकोमा ती लेखकल मेरा मित्रको भाषणको एक अंश टिपेर ‘धेरैजसो राजमार्गको स्थिति हेर्दा हिलो र धूलोले राज्य जमाएको छ। कति ठाउँमा धाप जस्तो देखिन्छ। भएको को संरक्षण छैन, फुइँ लगाउँछ‘ भन्ने हरपलाई आफ्नो लेखमा ठाउँ दिएछन् । के के न बुझे जस्तो। अझ थप्दै उनले लेखेका रहेछन् यी सबै कुरामा घूसबाहेक के ले काम गर्छ त ?
लेख पढ्दै गर्दा मेरो पारा अति नैं चढ्न पुग्यो। पढ्न छाडेर दाह्रा किटें। तर के गर्नु लेखक अगाडि थिएनन्। मेरा साधुजस्ता मान्छेलाई त्यस्तो आरोप लगाउने ? हुन् त सुने भने साधु बिरालो भन्न पनि बेर लगाउँदैनन् होला ती लेखकले। मैले जान्याछु। भेट्न त भेटुँ। आजैदेखि लाग्छु म तिनको खोजीमा।