राष्ट्रपति चयनका लागि अमेरिकामा सुरू भयो मतदान
काठमाडौं : राष्ट्रपति चयनका लागि अमेरिकामा मतदान सुरू भएको छ। विहान ७ बजेदेखि अमेरिकाको विभिन्न राज्यमा मतदान सुरू भएको हो। बीबीसीका अनुसार अलबामा, लोवा, कन्सास, मिन्नेसोता, मिस्सिस्सिपी, नर्थ डाकोटा, ओक्लाहोमा, साउथ डकोटा, टेक्सास र 'स्वीङ स्टेट' मानिएको विस्कोन्सिनमा पनि मतदान सुरू भएको हो।
एजेन्सीहरूका अनुसार अमेरिकी नागरिकहरू मतदान स्थलमा लाइन लागेका छन्। उनीहरू मतदान हुनुअघि देखि नै लाइन लागेका छन्।
अमेरिकाको ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। विभिन्न 'चुनावी पोल'हरूले पनि उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।
पोलहरूमा ह्यारिस र ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको 'निर्णायक' मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।