क्युआर कोडबाट गुनासो गर्न सकिने
नुवाकोट : नुवाकोट प्रशासनमा क्युआर कोडबाट गुनासो गर्ने व्यवस्था सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्युआर कोड प्रयोग गरी गुनासो गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको हो।
कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका बारेमा सेवाग्राहीको कुनै गुनासो भए क्युआर कोडमार्फत गुनासो राख्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार क्युआर कोडमार्फत दैनिक ५/६ वटा गुनासो आइरहेको छ। डिजिटलाइज प्रविधिलाई माध्यम बनाएर कार्य प्रभावकारी पार्न उक्त कार्य सुरु गरिएको प्रजिअ अधिकारीको भनाइ छ।
आम उपभोक्ता र सर्वसाधारण जनसमुदायको चासो र हितलाई ध्यानमा राखी ‘स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारालाई साकार पार्न उपभोक्ताले क्युआरमार्फत यस कार्यालय र सम्बन्धित निकायमा गुनासो पेस गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जानकारी दिए।
हुमागाईंका अनुसार खाद्यान्न तथा अन्य वस्तु, होटल तथा खाजा घरको सेवा, यातायात सेवा र औषधि पसलको सेवासम्बन्धी गुनासो राख्न सकिने व्यवस्था गरिएको छ।
कार्यालयले नुवाकोटको १२ वटै स्थानीय तह र विभिन्न सरोकारवाला सबै निकायबाट प्रवाह हुने सेवाको गुनासो गर्न सेवाग्राही सबैलाई आग्रह गरेको छ। क्युआर कोडमार्फत उजुरी आउने क्रम बढिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।