पर्खालले किचेर नाबालिकाको मृत्यु
विराटनगर : मोरङको रंगेलीमा पर्खालले किचेर बुधबार साँझ नाबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार घटना साँझ ५:२५ बजेतिरको हो।
इँटाको पर्खाल ढलेर किच्दा रंगेली नगरपालिका–८ निचामारीका कसरलाल ताजपुरियाकी २ वर्षीया छोरी शोभा ताजपुरियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार कूल मन्दिरलाई बार लगाउन घरसँगै टाँसेर बनाइएको पर्खाल ढलेर खेल्दै गरेको नाबालिकालाई किचेको हो।
गम्भीर घाइते भएकी नाबालिकालाई बुवा कसरलालले उपचारका लागि रंगेली अस्पताल ल्याएका थिए। अस्पताल पुर्याउनसाथ साँझ ५:४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी जोशीले दिए।
शवको पोस्टमार्टम रंगेली अस्पतालमै गरिने भएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल लासजाँच मुचुल्कासहितको कानुनी प्रक्रिया पूरा गरी घटनाको थप अनुसन्धान अघि बढाएको डीएसपी जोशीले बताए।