सडक सुरक्षाको सवाल विश्वव्यापी चासोका रूपमा रहेको छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षाको सवाल विश्वव्यापी चासोको रुपमा रहेको बताएका छन्।
साउदी अरबको राजधानी रियादमा भएको सडक सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्किएका मन्त्री दाहालले सडक संरचनाहरूको सुरक्षा र संरचनाहरूको सुरक्षित उपयोग विश्वव्यापी सरोकार बनेको बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कुराकानीका क्रममा उनले नेपालको सडक, सुरक्षा र भौगोलिक अवस्थाका बारेमा सम्मेलनमार्फत विश्व समुदायको ध्यानाकर्षण गराइएको पनि बताए।
विश्वव्यापी चुनौती बनिरहेको जलवायु परिवर्तन, यसका असर र प्रभावका कारण समेत सडक सुरक्षामा चुनौती बढाइरहेको आफूले सम्बोधनका क्रममा उल्लेख गरेको मन्त्री दाहालले बताए।
साउदी भ्रमणका क्रममा उनले त्यहाँका यातायात मन्त्री सालेह विन नासिरि अल साजेरसँग समेत भेटवार्ता गरे। त्यस भेटमा दुई देश बीच सडक एवम् पूर्वाधार निर्माणका विषयमा हुन सक्ने सहकार्यका बारेमा कुराकानी भएको जनाइएको छ।
उनले साउदीको सडक प्राधिकरणले संयोजन गरेको सडक सुरक्षा सम्बन्धीको प्रविधि, परीक्षण, पूर्वाधार लगायतका बारेमा स्थलगत अवलोकन समेत गरेका थिए।
मन्त्री दाहाललाई प्रवासी नेपाली मञ्चले स्वागत अभिनन्दन गरेको थियो भने साउदी अरबमा नेपाली श्रमिकका अवसर र चुनौती विषयक अन्तरक्रियालाई उनले सम्बोधन पनि गरे। त्यहाँ स्थित नेपाली राजदूतावासले गरेको कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ, संस्था तथा सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
इन्टरनेशनल रोड फेडेरेशन आईआरएफ ग्लोबल र साउदी अरबको यातायात मन्त्रालयले आयोजना गरेको सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई, सूचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी भएका थिए।