क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्दै ट्राफिक

क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही गर्दै ट्राफिक
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्ने अभियान सुरु गरेको छ। यात्रुवाहक जिप, हाइस र गाडीहरूले यहाँको जोखिमयुक्त सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आउन थालेपछि सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो।

कर्णालीमा सञ्चालन भइरहेका सवारी साधनहरूले गाडीमा अतिरिक्त सिटको व्यवस्थापन गरी क्षमताभन्दा बढी यात्रुहरू बोक्दै आएका थिए। प्रहरीले ती अतिरिक्त सिटहरू खोल्दै जफत गर्ने अभियान थालेको हो। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख इन्सपेक्टर वकिल सुनारले क्षमताभन्दा बढी यात्रु हाल्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूलाई कारबाही गरिएको बताए। उनले भने, ‘कर्णाली प्रदेशका प्रायः सबै जिल्लाहरूमा सुर्खेतबाटै सवारी साधनहरूको आउजाउ हुन्छ। कोलियामा समेत अतिरिक्त सिट जडान गर्ने र पिर्का राखेर समेत यात्रुहरूलाई कोचाकोच गरेर जोखिमयुक्त यात्रा गर्न बाध्य बनाउनेहरूमाथि चेकजाँच गरी कारबाही गरिएको छ। सिटभन्दा बढी यात्रुहरूलाई यात्रा नगर्न र व्यवसायीहरूलाई बढी लोड नहाल्न सचेत पनि पारिएको छ। यसले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्नेछ।

कर्णालीमा सुर्खेत–जुम्ला, सुर्खेत–दैलेख, छिन्चु–जाजरकोट, सल्यान–रुकुम र मध्यपहाडी राजमार्ग मुख्य सडक हुन्। ती सडकहरू सुरक्षाको दृष्टिले ज्यादै संवेदनशील र जोखिमयुक्त छन्। सुर्खेत जुम्ला सडकखण्डमा राति ६ बजेपछि सवारी साधनहरूलाई चल्न रोक लगाइएको छ। प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपी अपिलराज बोहराले कर्णालीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेकजाँच कडा पारिएको बताए। उनले भने, ‘सुर्खेतको बसपार्कबाटै सवारी साधनहरूले ओभरलोड हाल्ने समस्या थियो। त्यसलाई कडाइका साथ नियन्त्रण गरेका छौं। यससँगै रुट पर्मिट नलिएर सञ्चालन भएका सवारी साधनहरूमा रोक लगाउने, दर्ता, नवीकरण समयमै गर्नका लागि सचेत बनाउने, मोटरसाइकलमा ठूलो आवाज बनाउनेहरूलाई नियन्त्रणमा लिनेलगायतका ट्राफिक नियमहरूको पालनामा कडाइ गरिएको छ।’

कर्णालीमा बढ्दो सहरीकरण, जनसंख्या वृद्धि, साँघुरा सडक, बढ्दो सवारी साधन, वैज्ञानिक उपकरणको कमी, विशिष्टिकृत जनशक्तिको अभाव, सडक प्रयोगकर्ताहरूको चेतनास्तरजस्ता कारण कर्णालीको ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। यसले कर्णालीमा सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले भने, ‘कर्णालीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना कडाइका साथ गराउने गरी चेकजाँचलाई प्रभावकारी बनाइएको छ। प्रदेशका १० वटै जिल्लामा सवारी साधनहरूले अतिरिक्त सिटको व्यवस्थापन गरी क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई बन्द गर्ने, सडक सुरक्षाका विषयमा सचेतना फैलाउनेजस्ता कामहरू प्राथमिकताका साथ गर्न थालिएको छ। यसबाट हरेक नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुग्न सहज हुनेछ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.