दिनेशका कीर्तिमानै कीर्तिमान
दिनेश सुनारलाई झट्ट हेर्दा लाग्दैन कि उनी विश्व कीर्तिमानी हुन् भनेर। हौसत नेपालीको उचाइका सुनारले हासिल गरेको उपलब्धि भने सगरमाथाभन्दा पनि उँचो छ। एकपछि अर्को कीर्तिमान र उपलब्धिले दिनेशलाई सगरमाथाजस्तै उँचो बनाएको छ। उनले हासिल गरेको उपलब्धि देशकै लागि गर्व गर्न लायक छ।
दिनेशले आफ्नो नामको पछाडि उपनाम राखेका छन्, ‘पार्कर’ । यो उपनाम धेरैका लागि नौलो भए पनि पार्कर एउटा खेल हो, जसमा मार्सल आर्ट्स, एथलेटिक्स र जिम्न्यास्टिकको समिश्रण हुन्छ। साहसिक यो खेलको चर्चा नेपालमा भने कमै मात्र हुने गरेको छ। राज्यको उदासीनताले यो खेल नेपालमा फस्टाउन सकेको छैन। तर, ओझेलमा परेको यही खेलबाट दिनेशले १८ पटक विश्व कीर्तिमान बनाइसकेका छन्।
दिनेश ७–८ वर्षको उमेरदेखि उल्टोसुल्टो गरेर उफ्रिरहन्थे। अर्थात उनी निकै चकचके थिए। उनको त्यही स्वभावका कारण परिवारले काठमाडौंमा पटकपटक डेरा सर्नुपरेको थियो। उनी चलचित्रमा नायक उफ्रिएजस्तै उफ्रिन खोज्थे। धेरै चकचक गर्दा धेरैको कुटाइ पनि खाए। धेरैपटक चोटपटक पनि लाग्यो। तर, उनको चकचकेपनमा कमी आएन।
खोटाङको हलेसी तुवाछुङ नगरपालिकाको राजापानीका उनी स्कुलमा राम्रै विद्यार्थी थिए। २०६४ सालमा गाउँमा सबै भेला भएको समयमा स्कुलको पुरस्कार वितरण समारोहमा स्कुलकै छतबाट उल्टी जम्प हान्दै पुरस्कार लिएपछि उनको चर्चा सुरु भयो। बुढापाका सबै चकित भए। कसैले बाँदर, कसैले हनुमान, कसैले पहलमान, कसले उड्ने मान्छे भने। त्यहींदेखि आफू भाइरल भएको उनी बताउँछन्। त्यो हल्ला एक कान दुई कान हुँदै अर्को स्कुलमा पनि पुग्यो। त्यहाँ उडेर नै स्कुल नाघिदिन्छ भन्ने खबर फैलिइसकेको थियो। पालैपालो स्कुलहरूले उनलाई कार्यक्रममा ‘स्टन्ट’ गर्न बोलाउँथे। घरमा चाहिँ कतिले ‘तेरो छोरा उड्दाउड्दै लडेर मर्छ’ भनेर बुवाआमालाई कुरा लगाइदिन्थे।
२०६८ सालमा सनतकुमार बस्नेत सशस्त्र प्रहरी बलको आईजीपी थिए। खोटाङका उनले आफ्नो गाउँमा बुवाआमाको नाममा खुला भलिबल र नृत्य प्रतियोगिता आयोजना गरेका थिए। ‘काठमाडौंबाट ठूला मान्छे आउँदैछन् तैले त्यहाँ आफ्नो प्रदर्शन देखाइस् भने मौका पाउँछस्’ भनेर धेरैले दिनेशलाई उक्साएपछि उनी बिहान चारै बजे जंगलको बाटो खाली खुट्टै दौडिएका थिए। चार घन्टाको बाटो थियो। आफूलाई कार्यक्रममा आफ्नो प्रदर्शन देखाउने मौका दिनुपर्छ भन्नका लागि उनी बस्नेतलाई भेट्न दौडिएका थिए।
आईजीपी बस्नेत पूरा सुरक्षाकर्मीको घेरामा हेलिकप्टरबाट ओर्लिए। तर, उनले आयोजकलाई भने मनाइसकेका थिए। खाली खुट्टा स्कुलको छतमा चढेर दिनेशको उल्टी जम्प हान्दै ओर्लिएको प्रदर्शनबाट आईजीपी बस्नेत पनि हेरेको हेरै भए। बस्नेतले बोलाएर दिनेशका बारेमा जानकारी लिए। बक्सिस स्वरुप उनले तीन हजार रुपैयाँ पनि दिए। एसएलसीको तयारीमा रहेका दिनेशलाई एसएलसीपछि काठमाडौं भेट्न बस्नेतले भने। त्यसपछि एसएलसी दिएको भोलिपल्टै उनी काठमाडौं हानिए। सशक्त प्रहरी बलको हेडक्वाटर हलचोक पुगे। आईजीपी बस्नेतले दिनेशको तारिफ गर्दै सशस्त्रका तत्कालीन खेलकुद प्रमुख प्रेमकुमार श्रेष्ठलाई जिम्मा लगाइदिए। उनले सशस्त्रका पदाधिकारीसामु सडकमा उल्टो जिम्न्यास्टिकका साथै भित्तामा जम्प गरेर आफ्नो प्रतिभा देखाइदिए। त्यो देखेपछि प्रेमले दिनेशलाई जिम्न्यास्टिक संघको जिम्मा लगाइदिए भने सशस्त्रमा उनलाई खेलाडीको हिसाबमा ६ महिनाको करार जागिर दिलाइदिए।
त्यसपछि उनको यात्रा सुरु भयो, त्रिपुरेश्वरस्थित जिम्न्यास्टिक हलमा। जहाँ उनले पहिलोपटक जिम्न्यास्टिकक सामग्री देखेका थिए। आफूले देखाउँदै आएको कलाभन्दा जिम्न्यास्टिक भिन्न पाए। उनले प्रदर्शन गर्ने कला पार्कर थियो। तर, उनलाई त्यो खेलका बारेमा थाहा थिएन। जम्प, रोल, रनिङ, स्विङ, क्लाइम्बिङ, भल्टिन पार्करमा थियो। जिम्न्यास्टिक र पार्करको सम्बन्ध नङ र मासुजस्तै हुन्छ। जिम्न्यास्टिकमा फ्लोर एक्सरसाइज, रिङ, भल्ट, हाइ बार, प्यारालल बार, पोमल हर्स गरी ६ विधामा प्रतियोगिता हुन्छ। अहिले पार्कर पनि जिम्न्यास्टिकमै समावेश भएको छ।
सन् २०१४ मा प्रथम लुम्बिनी च्याम्पियनसिपमा उनले जिम्न्यास्टिकमा स्वर्ण पदक जितेका थिए। युट्युब हेर्दै जोरपाटीको बालुवाखानीमा गएर उनी नियमित जम्प हान्थे। त्यही भिडियो युट्युबमा हेर्दै गर्दा वाल ब्याक समरसल्ट, लङगेस्ट ब्याक लिभमा विश्व कीर्तिमान राखेको थाहा पाए। यस्तोमा पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड हुँदोरहेछ भन्ने थाहा पाए। त्यसपछि विश्व कीर्तिमान बनाउँछु भन्ने हुटहुटी जाग्न थाल्यो।
अनि सुरु भयो, विश्व कीर्तिमानको तयारी। तर, यो कसरी दर्ता गर्ने, को–को मान्छेलाई भेट्ने उनलाई केही थाहा थिएन। ‘सुरुमा मान्छेले यसमा विश्व कीर्तिमान बनाउँछुभन्दा पागल भन्थे, धेरैले पत्याउँदैनथे। विश्वमा यस्तो स्टन्ट हान्ने कति हुन्छन् कति भन्थे’, दिनेश भन्छन्, ‘एक वर्ष त विश्व कीर्तिमानको आधिकारिक मान्छे खोज्नै बित्यो।’
‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ वाल इन वान मिनेट’ अर्थात् एक मिनेटमा सबैभन्दा जिउको पछाडिको भाग ३६० डिग्रीमा घुमाउनुपर्ने कीर्तिमानका लागि गिनिज बुकले उनलाई समय दियो। एक मिनेटमा १५ पटक घुमाएको विश्व कीर्तिमान थियो, त्यसलाई तोड्न उनले १६ पटक जिउ घुमाउनुपर्ने भयो। सन् २०१६ मा विश्व कीर्तिमानका लागि तयारी गर्दा देब्रे खुट्टा भाँचियो। तीन महिना त उनी प्लास्टर लगाएर अस्पताल नै बसे। एक वर्षसम्म दौडिन हुँदैन, आराम गर्नुपर्छ भनेर डाक्टरले भनिदिए। उनलाई चिन्ताले सताउन लाग्यो। ब्रुस लीको आत्मकथा अस्पतालको बेडमा पढ्दा उनलाई उर्जा मिल्थ्यो। ज्यान अस्पतालमा भए पनि ध्यान जोरपाटीको बालुवाखानी र त्रिपुरेश्वरमा पुग्थ्यो। प्लास्टर खोलेको दिन डाक्टरले ३–४ महिना थप केही नगर्नु भने पनि त्यही दिन त्रिपुरेश्वर पुगेर एक खुट्टाले अभ्यास गर्न थाले। पुरानै अवस्थामा फर्किन उनलाई ८–९ महिना लाग्यो।
सन् २०१७ जुन १ मा गिनिज बुक अफ वल्र्ड रेकर्डस्का लागि सशस्त्र प्रहरी मुख्यालयमा धेरैलाई साक्षी राखेर प्रयास गरे। एक मिनेटमा १८ पटक जिउ घुमाएर गरेको प्रयासलाई अक्टोबरमा गिनिज बुक अफ द वल्र्डले विश्व कीर्तिमान भएको प्रमाणित गरिदियो। उनलाई त्यो दिन संसार नै जितेजस्तो अनुभव भयो। उनले त्यो दिन आफूले गरेका कठिनाइ, भोगाइ र दुःखद क्षण सम्झिए।
बास्केटबल फ्री स्टाइलरमा विश्व कीर्तिमान बनाएका थानेश्वर गुरागाईंले उनलाई त्यो विश्व कीर्तिमानका लागि सघाएका थिए। थानेश्वरको नाममा २३ विश्व कीर्तिमान छन्। विश्व कीर्तिमानसँगै उनी विभिन्न देशको समाचारमा छाए। विश्व पार्कर संघले त्यो देखेर उनलाई सन् २०१८ मा अमेरिकामा विश्वकप खेल्ने निमन्त्रणा दियो। त्यसअघि कुनै नेपालीले पार्करको विश्वकप खेलेका थिएनन्। अमेरिकाको फ्लोरिडामा भएको विश्वकपमा तीन वटाको फाइनल राउन्डमा पुग्दै उनी शीर्ष १० मा पर्न सफल भए। त्यही समयमा उनले पार्कर इन्स्ट्रक्टरको प्रशिक्षण पनि लिए। जसले उनी नेपालको पहिलो पार्कर इन्स्ट्रक्टर बने।
नेपाल फर्किएर फेरि उनले विश्व कीर्तिमान बनाए। यस पटक उनले ‘द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड’ मा विश्व कीर्तिमान बनाएका थिए। यसमा भित्तामा खुट्टाले टेको लगाएर उल्टो घुम्नुपर्ने थियो। उनले ३० सेकेन्डमा १६ पटक घुमिदिए। पुरानो विश्व कीर्तिमानभन्दा एक पटक बढी उल्टो घुमे। उनले यसैगरी १८ विश्व कीर्तिमान बनाइसकेका छन्।
पछिल्लो दुई दशकदेखि उनी यो क्षेत्रमा छन्। उनी पछिल्लो समय अमेरिकाको न्युयोर्कमा बस्छन्। त्यहाँ रहँदा पनि विश्व कीर्तिमानकै लागि प्रयास गरिरहेकै हुन्छन्। उनका १८ कीर्तिमानहरूमा मोस्ट ड्राइभ रोल इन वान मिनेट, द मोस्ट ब्याकवार्ड समरसल्ट एगेन्सट द वाल इन थर्टी सेकेन्ड, द मोस्ट वेस्टर इन थर्टी सेकेन्ड, द मोस्ट ट्रक जम्प इन वान मिनेट, द मोस्ट लेटरल जम्प बु्ररपेस इन वान मिनेट, द फास्टेड गेनर्स ब्ल्याकफ्रिप, द मोस्ट कन्सेक्युटिभ ब्याकवाड्स ह्यान्ड स्पाइरिङ विथ द फुटबल, द मोस्ट स्यान्डिङ ब्याकवार्ड समरसल्ट इन वान मिनेट र द मोस्ट स्ट्यान्डिङ ब्लाइन्डबोल्डेड ब्याकवार्ड समरसल्ट इन वान मिनेट छन्।
यस्तै द मोस्ट बटरफ्लाई ट्विस्ट इन वान मिनेट, द मोस्ट ट्विस्ट ब्याकवार्ड समरसल्ट ब्रुरपिज इन वान मिनेट, द मोस्ट ब्याक समरसल्ट ह्वाइल स्पिकिङ इन थर्टी सेकेन्ड, द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्याकफ्लिप इन थर्टी सेकेन्ड, द मोस्ट स्ट्यान्डिङ फुल ट्विस्ट ब्ल्याकफिलिप इन थर्टी सेकेन्ड, द मोस्ट ब्याकवार्ड समरसल्ट्स अन अ ट्रिमपोलाइन इन वान आवर, द मोस्टे ट्विस्टिङ ब्ल्याकफिलिप अफ अ वान इन थर्टी सेकेन्ड, द मोस्ट ब्याकवार्ड समरसल्ट अगेस्ट द वाल इन थर्टी सेकेन्ड र द मोस्ट ट्विस्टिङ ब्याकफिलिप अफ अ वाल इन वान मिनेट विश्व कीर्तिमान बनाएका छन्।