उदयपुरमा डेंगी हुँदा २५७ जना बिरामी

उदयपुरमा डेंगी हुँदा २५७ जना बिरामी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

उदयपुर : उदयपुरमा डेंगीका बिरामी बढ्न थालेका छन्। महामारीकै रूपमा फैलिएको डेंगीबाट पछिल्लो तीन महिनामा २ सय ५७ जना संक्रमित भएका छन्।

डेंगीबाट कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको साउन १० गते ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका चार वटा नगरपालिकामा गरिएको परीक्षणबाट उक्त संख्यामा पुष्टि भएको हो।

लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणले बिरामीको संख्या दिनानुदिन बढ्दै गएको उनले बताए। ठाकुरका अनुसार सबैभन्दा बढी त्रियुगा नगरपालिकामा १ सय ४९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यसैगरी बेलका नगरपालिकामा ६२, चौदण्डीगढी र कटारी नगरपालिकामा २३÷२३ जनामा संक्रमण पुष्टि भएको उनले बताए। संक्रमितमध्ये सबैभन्दा बढी महिला छन्। सरकारीबाहेक निजी अस्पतालमा उपचार गराएका बिरामीहरूको तथ्यांक यसमा समावेश नरहेको उनले बताए।

निजी अस्पतालमा पनि बिरामीको चापउस्तै बढेको उनले बताए। जिल्ला अस्पतालमा उपचार गर्न जाने दैनिक एक हजार हाराहारी बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी ज्वरोकै आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

उता स्वास्थ्य कार्यालयले सबै स्थानीय तहहरूलाई सचेत भएर रोकथामका लागि योजना बनाउन आग्रह गरेको छ। डेंगीको मुख्य स्रोत लामखुट्टे भएकाले लामखुट्टेबाट बच्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

पानी जम्न नदिने, जमेको पानी फालिहाल्ने, झुल टाँगेर सुुत्ने, बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ। त्यस्तै स्थानीय तहहरूले लामखुट्टे मार्ने विषादी छर्न (स्प्रे उपकरण)को प्रयोग गर्न पनि सुझाएको छ।

जसअनुसार चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिकाले केही दिनयता डेंगी नियन्त्रणका लागि लामखट्टे मार्ने उपकरणको प्रयोग गर्दै गाईघाट, बेल्टार बजारलगायत विभिन्न वडा पुगेर औषधि छर्ने काम गरिरहको जनाएको छ। अन्य स्थानीय तहहरूले पनि लामखुट्टे मार्ने उपाय अपनाइरहेको खबर आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगीका बिरामी बढ्दै जाँदा उपचारमा समस्या देखिएको छ। ५० वेडको स्वीकृति पाएको अस्पतालमा दैनिकजसो डेंगीका बिरामी भर्ना हुन थालेपछि बड अभाव हुन थालेको अस्पताल प्रशासनले जनाएको छ। ज्वरो आएका शंकास्पद बिरामीलाई रगत चेकजाँच गर्दा डेंगी देखिएको हो।

यसैबीच, उदयपुरको त्रियुगा नगरपालिकाले डेंगी बारेमा स्थानीयलाई सचेत बनाउन ‘खोज र नष्ट गर’ अभियान थालनी गरेको छ। पालिकामा डेंगी संक्रमणका बिरामी बढ्न थालेपछि नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गरेको हो।

नगरपालिकाको स्वास्थ्य शाखाले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई जानकारी गराउँदै डेंगीको व्यवस्थापन र नियन्त्रण अभियान सञ्चालनका लागि निर्देशन दिइएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताए।

डेंगी संक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र अन्डा पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिएको उनले बताए।

‘आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने, विद्यालय तथा सरकारी कार्यालयहरूमा शुक्रबार कार्यालय परिसर पूर्ण सरसफाइ गर्ने, टोल विकासहरूलाई आफ्नो टोल आफैं सफा राखौं डेंगी संक्रमणलाई कम गरौैं’ भनेर अभियानमा सबैमा सचेतना समेत फैलाउने योजनाले अभियान सुरु गरिएको स्वास्थ्य शाखाका अधिकृत उपेन्द्र कार्कीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.