बेमौसमी वर्षाले धानबालीमा क्षति
बागलुङ : बागलुङमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। आइतबार र सोमबार परेको बेमौसमी वर्षाका कारण बागलुङमा कृषकले थन्क्याउने तयारी गरिएको धानबाली र परालमा क्षति पुगेको हो।
नेपालीको महान् पर्व वडा दसैं र तिहार सकिएपछि घरमा धान पाकेर पहेँलो भएको धान घरमा भिœयाउने तयारी गरिएको समयमा अविरल वर्षा हुँदा क्षति पुगेको काठेखोला गाउँपालिका–२ भीमापोखराका कृषक कृष्णबहादुर केसीले बताए। वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छ भने काटेर सुकाएको पराल पूरै डुबाएको किसानले गुनासो गरे।
बागलुङको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिकालगायतका स्थानीय तहका अधिकांश किसानले तिहार सकिएलगत्तै धान भिœयाउने तयारी गरेका थिए। तिहारको दिनबाट नै पानी पर्न सुरु गरेपछि किसान चिन्तित बनेका छन्।
कृषक केसीले कात्तिक पहिलो साता परेको असिना पानीले धानखेतीमा केही क्षति पुगेको र अहिलेको पानीले पुनः क्षति बढाएको बताए।
वर्षाले कतिपय स्थानमा तिहार अघिदेखि काटेर सुकाएको र कतिपय सोमबार बिहान काटेको धान नष्ट गरेको काठेखोला गाउँपालिका–२ भीमापोखराका कृषक प्रसाद थापाले बताए। उनले तिहार अगाडि काटेर सुकाएको धान भिœयाउन नपाउँदै आइतबार र सोमबारको वर्षाले क्षति पुर्याएको बताए। ‘तिहार अगाडि धान काटेर खेतमै सुकाएको थियौं,’ उनले भने, ‘आइतबार साँझ र सोमबार दिउँसो परेको अविरल वर्षाको कारण क्षति भएको छ।’
धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन्। रुझेको पराल कुहिएमा गाई भैंसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको कृषक सूर्यबहादुर थापाले बताए। जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको छ।