नुवाकोटमा पनि मनाइयो छठ
नुवाकोट : तराईमा मात्र मनाइँदै आएको छठ पर्व नुवाकोटमा पनि मनाइएको छ। पहिले तराईका सर्वसाधारणले मात्र मनाउँदै आएको छठ पर्व बितेको एक दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरूले मनाउँदै आएका छन्।
२०६५ सालअघि तराईको विभिन्न क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। तराई मुलका नागरिकहरूले बिहीबार त्रिशूली बजारमा रहेको
राममन्दिरसँगै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पूजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित त्रिशूली नदी किनारामा छठ पुजामा सहभागी लालबाबु गुप्ताले बताए।
उनले आफूहरूलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायले सहयोग गरेका कारण निकै खुशी लागेको पनि बताए। कात्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ।
छठ मनाउन नदी किनारामा पुगेका उनीहरूलाई पहाडी समुदायका सर्वसाधारणले समेत साथ दिएका छन्। तराई र पहाडी समुदायका नागरिकले संयुक्त रूपमा धार्मिक सहिष्णुताको भावनाले छठ पूजा मनाएका हुन्।
दुई दिनसम्म तराई मुलका नागरिकलाई धार्मिक सहिष्णुताको भावनाले पहाडी समुदायका सर्वसाधारणले सहयोग पुर्याएका छन्। नुवाकोटको त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, बेत्रावती तथा तादीको
ढिकुरेमासमेत छठ पर्व मनाइएको छ। सामूहिक रुपमा सबै तराईवासी मिलेर त्रिशूलीको रामघाटमा छठपुजा गरिएको विदुर नगरपालिका-१ ढुंगे बजारमा बसोबास गर्दै आएका कामाख्याप्रसाद क्लबारको भनाइ छ।
यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई क्षेत्रमा श्रद्धा तथा भिक्रपूर्वक यो पर्व मनाइएको २० वर्षदेखि नुवाकोटमा बसोबास गर्दै आएका छठ पूजामा अर्का सहभागी गणेश ठाकुरले बताए।
छठ पर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन रहेको पूजामा सहभागी रुपेशसिंह राजपुतले जानकारी दिए।
उनका अनुसार श्रद्धा, भिक्र र सम्पूर्ण तराई–मधेशको साँझा सांस्कृतिक धरोहरको प्रतीक छठ पर्वमा टाढा टाढा घर जान नसकेककाहरूले नुवाकोटको त्रिशूली नदीमा पुगेर सामूहिक रूपमा छठ पर्व मनाइएको हो।