काठमाडौं : ज्यान मुद्दामा पाँच वर्षको कैद सजाय तोकिएका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ हाल फरार छन् ।
२०६१ साल वैशाख २१ गते उनीसहितको समूहले गुन्डानाइके मिलन गुरुङ ‘चक्रे मिलन’ माथि धारिलो हतियार प्रहार गरेको थियो । यही मुद्दाको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उक्त फैसला गरेको थियो । फैसलापछि उनी फरार छन् ।
अन्य घटनामा अदालतको फैसला कार्यान्वयन भन्दै आरोपी पक्राउ गर्न हतारो गर्ने प्रहरी मनाङेका विषयमा भने मौन देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की भन्छन्, ‘अदालतले के फैसला ग¥यो हामीलाई जानकारी आएको छैन । आदेश र फैसलासहितको पत्र आएपछि पक्राउ गर्छाैं । को विरुद्ध फैसला आयो, उसको स्टाटस कस्तो हो ? भन्दा पनि अदालतको आदेश मान्नु हाम्रो जिम्मेवारी हो । अदालतले पत्र पठाएर जानकारी दिएपछि तत्कालै पक्राउ गरिनेछ ।’
उनी छिट्टै पक्राउ पर्ने केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए । उनी भन्छन्, ‘यो काम फैसला कार्यान्वयन गनुपर्ने हाम्रो नियमित जिम्मेवारीभित्र पर्छ । हामीले फैसलाको संक्षिप्त पाठ माग गरेका छौं, त्यो हात पर्नेबित्तिकै पक्राउ गरिनेछ । यसका लागि प्रहरी तयारी अवस्थामा छ ।’
मनाङेलाई पक्राउ गर्न प्रहरीको तीनवटा युनिट तयारी अवस्थामा छ । प्रहरीका अनुसार उनलाई पक्राउ गर्नका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी युनिट तयारी अवस्थामा राखिएको छ ।
घटना के भएको थियो ?
२०६१ सालमा चक्रे मिलनमाथि तरबार आक्रमण भएपछि प्रहरीले मनाङेविरुद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले उक्त मुद्दामा ज्यान मार्ने नभई कुटपिट ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको थियो । घटनामा संलग्न भनिएका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो । जिल्लाको यो फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।
उच्च अदालत पाटनले यही मुद्दामा ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई पाँच वर्ष जेल सजाय तोकेको थियो । घटनामा संलग्न अन्यलाई सफाइ दिने जिल्लाको फैसला भने सदर नै गरेको थियो । उच्चको फैसलापछि मनाङे पक्राउ परेका थिए ।
उनी पक्राउ परेपछि मनाङेले उच्च अदालतको निर्णय बदर तथा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधाको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए । यही निवेदनका आधारमा उनी थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने सुविधा पाएका थिए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी दुई–दुई पटक चुनाव लडेका थिए । मनाङबाट चुनाव जितेर दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य बनेका थिए । यसलगत्तै उनी पटक–पटक मन्त्री पनि बने । सर्वोच्चले मंगलबार सोही निवेदनमाथि अन्तिम सुनुवाइ गर्ने क्रममा उच्च अदालतको आदेश सदर गरेको हो ।
२० वर्षसम्म चलेको यो मुद्दामा मनाङेले दुई पटक कैद सजाय भुक्तान गरिसकेका छन् । पहिलोपटक २ वर्ष र दोस्रोपटक ८ महिना कैद भुक्तान गरिसकेका छन् । मंगलबार अदालत परिसरबाटै फरार बनेका उनी हाल सार्वजनिक रूपमा सम्पर्कमा नआएको प्रहरीको दाबी छ । उनी प्रहरीसँग आत्मसमर्पण गर्ने तयारीमा रहेको हल्ला पनि चलिरहेको छ ।