गढीमाई मेला

गढीमाई मेला
फाइल तस्बिर ।

हरेक पाँच पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षपछि बिजोर, जोर वर्षमा लाग्ने गर्छ। यसअघि २०६१, २०६६, २०७१, २०७६ हुँदै यस वर्ष २०८१ मा परेको छ। मंसिर महिनामा लाग्ने यो मेला यसपालि पूर्वतयारी सुरु भइसकेको छ। अर्को पटक मेला २०८६ सालमा पर्नेछ। 

यो बाराको बरियारपुरको मेला हो। तर आसपास यतिबेला जनकपुर, ढल्केवर, लालबन्दी, कर्मैया, बागमती, चन्द्रनिगाहपुर र कलैयाभरि पाइला राख्ने ठाउँ हुन्न। भंसारको प्रमुख नाका वीरगन्जमा मेलाका लागि प्रयोग हुने लाखौं संख्याका राँगालगायतका बलि सामग्रीहरू पनि भित्रिने गर्छन्। तराई क्षेत्रको आर्थिक विषय बढी चलायमान हुन्छ यतिबेला।

बाटाभरि राँगा भैंसीको लाइन हुन्छ। बजारको चहलपहल, खाद्यसामग्री, मान्छेहरूको ताँती लामो हुन्छ, करोडौंको व्यापार हुन्छ, देशभित्रका लाखौं पुग्छन्, भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, झारखण्डबाट भाकल पूरा गर्न भक्तहरूको त ओइरो नै लाग्छ। समग्रमा करोड कम हुन्नन् मान्छेहरू, अगाध विश्वास छ माईप्रति। भारतले रोक्न खोज्दा पनि अघिल्लो पटक ८० प्रतिशत भक्त भारतीय नै देखिए। हजारौं राँगा र लाखौं अन्य जनावर हाँस, कुखुरा, बोकाको बलि दिइएको थियो त्यहाँ। अझ यसो भनौं संसारमै धेरै ठूलो संख्यामा बलि दिने ठाउँ यही नै हो। बलि रोक्न अदालतसम्म अपिल नपुगेको होइन, तर बलि निषेध भएन, स्थानीय प्रशासनको भनाइ रह्यो बलि निषेध होइन निरुत्साहन गर्ने हो। तीन किसिमका ताप आध्यात्मिक, आदि दैविक र आदिभौतिक तापको निराकरण हुन्छ भन्ने विश्वास लिएर गढीमाई मन्दिर पुग्छन् भक्तहरू।

शक्तिशाली देबलिे आफ्नो सबै किसिमका माग पूरा गर्ने विश्वास भएकाले नै यति ठूलो जमघट हुने गर्छ। गढीमाईसँगै कन्काली माई, कटबाँसी माई, मनकामना माईको पनि पूजा हुन्छ। गढीमाईकी बहिनीहरू माकामारा, कंकाली, संसारी, साम्ये, राजदेवी, जोरलाही, वन शक्ति, गढवाडा आदिको पनि पूजा हुन्छ। भारतको कोलकाता टाढा भएकोले त्यहाँकी कालिका देवीको दर्शन गर्न सजिलो होस्। नजिकै होऊन् देवी भनेर कोलकाताकी कालीको अंश स्वरूप यहाँ ल्याएर राखिएकोले तराईका अधिकांश क्षेत्र र भारतका विभिन्न क्षेत्रबाट आएका दर्शनार्थीको घुइँचो देख्दा देवीप्रति जनविश्वास प्रगाढ रूपमै रहेको पाइन्छ। 

मार्ग शुक्ल सप्तमीदेखि एक महिनासम्म लाग्ने गढीमाई मेला, महाबलिबाटै सुरु हुन्छ। त्यसो त यो मेलाको मुख्य रौनक पञ्चबलि, सप्तबलि १५ दिन अघि र १५ दिनपछिसम्म निरन्तर चलिरहन्छ। पहिलो दिन मूल पुजारीले शरीरका पाँच अंगबाट रगत निकाली देवीलाई बलि दिएपछि औपचारिक बलि आरम्भ हुन्छ, पहिलो दिन ठूला जनावरको बलि दिइन्छ, दोस्रो दिन साना साना। पहिलो पल्ट चार बिघा क्षेत्रमा पक्की पर्खाल लगाएर झन्डै ५० लाखको लागतमा पक्की वधशाला तयारी भइसकेको हो, १५ वर्षअघि। हाल त तीन सयभन्दा बढी मारकहरू नै छन् त्यहाँ, उनीहरूले पशुहरूलाई भकाभक मार्छन्। रक्ताम्ये हुँदा पनि जमिनमा झिंगा नदेखिनु त्यहाँको विशेषता हो। पुह खोला र बालगंगा खोलाका बीच एक किलोमिटर वरपर धार्मिक विधिले तोकिएको सीमाभित्र सुंगुर, परेवा, कुखुराको बलि दिइन्छ।

मानव रगत दिइसकेपछि यहाँ राखिएको दीप आफैं बल्छ। दीप बलेपछि हाँसको पाँच वटा अन्डाको बलि दिइन्छ अन्डामै त्रिशूल गाडिन्छ। त्यही त्रिशूलमा छानातिरबाट परेवाहरू आउँदै आफैं होमिँदै गरेको दृश्य आफैंले देखेको छु, एक भक्तले त छोरो पाएको भाकल पूरा भएको भनी १ सय ५ वटा राँगोको बलि एकै पटक दिएका पनि थिए। साँच्चै १ सय २५ मारकहरूले बीसौं हजार संख्याको बलि एकै पटक दिन सकिने गरी जात्राको तयारी भइसकेको हुन्छ त्यहाँ। डेढ दुई हजारभन्दा बढी संख्यामा सशस्त्र र सादा प्रहरीहरू तैनाथ भइसकेका हुन्छन्। वीरगन्जदेखि २१ किमि टाढाको कलैया नै सवारी ठप्प हुन्छन्। बाटो पूरै जाम हुन्छ जसका कारण तिनै पशुहरूको आवागमन र भक्त, यात्रुहरूको ओइरो लाग्ने गर्छ । मध्यरातमा तान्त्रिक विधिले पुजारी चौधरीले नरबलि दिएपछि बिहानैदेखि भाकल बलि सुरु हुन्छ र तान्त्रिक विधिले धामीले पञ्चबलि , सप्तबलि दिएपछि अन्य बलि आरम्भ हुन्छ।

गढीमाईको दर्शन खातिर त्रिशूल गाडिएको मन्दिरतर्फ प्रवेश गर्दै रहेको हुन्छु म, खुट्टाहरू रगतमा चुर्लुम्मै डुबिसकेका हुन्छन्, मन्दिर भित्री छानामा परेवाहरूको लस्कर देखिन्छन्। ती त्रिशूलमा खस्दै आफैं प्राण बिसाउँदै गर्दाको दृश्य झन् रहस्यात्मक लाग्छ मलाई। मण्डपबाट बाहिर आउँदा जुत्ताहरू हराई सक्छन्। एकैछिन पछि म ब्रह्मस्थानमा पुग्छु। पीपलको रुखमुनि जहाँ ठूलो संख्यामा भोग लगाइन्छ। त्यहाँको वधशाला हेर्न मन लाग्छ, ढोका बन्द हुन्छन्। पर्खाल चढेर भक्तहरू हेर्दै हुन्छन्। मूल ढोका खोल्न लगाएर हेर्छु म ठूलो संख्यामा प्राण आहुति गर्न तयार रहेका पशु चौपायाहरू, कति खुसी देखिन्छन् त्यहाँ देवीप्रति समर्पित हुन। मूल पुरोहित मंगल चौधरी र तान्त्रिक धामी दुखा कछडियाबाट संरक्षित छन् गढीमाई। वरपरको बस्तीमा समेत धान कुटेर निकालिएको चामलको खिर बनाएर माईलाई भोग लगाई हाँसको अन्डा बलि दिएपछि विधिवत् पूजा आरम्भ हुन्छ, मूल पुजारीले खेतमा धान नरोपी अरू किसानले नरोप्ने र उनले आफ्नो जमिनको धान भिœयाएपछि मात्र अरू किसानले धानबाली भित्र्याउँछन् कस्तो विश्वास छ त्यहाँ। 

पञ्चबलि– बोका, पाठा, कुखुरा, सुँगुर र सेतो मुसो। तर सेतो मुसो कहाँ खोज्ने ? नजिकै रौतहटमा धनसर पुल छ, नजिकै खोलो छ, त्यहीँबाट पुजारी धामीका सहायकहरूको सहयोगमा केही दिन अगाडि नै राखेको माटोको घडामा सेतो मुसो बलिको लागि आफैं आएर बस्छ। सहायकहरूले घडाको मुख बन्द गरी सेतो मुसो ल्याउँछन् र बलि दिन्छन्, विधिले पूजा सुरु गरेपछि दियो आफैं बल्छ, दियो बलेपछि धामी कछडियाले नरबलि दिन्छन्। आफ्नै अंग– निधार, आँखा, जिभ्रो, छाती र तिघ्राको रगत बलिको रूपमा माईलाई अर्पण गर्छन्। २ सय ६० वर्षअघि आफ्ना पूर्वज भगवान् चौधरीसँग हालका पुजारी मंगल चौधरीको ठूलो विश्वास छ, मकवानपुरका भगवान् चौधरीलाई तत्कालीन शासकहरूले कर नतिरेको रिसमा मुद्दा चलाए जेल हाले। चोरीको पनि अभियोग लगाइयो, तर आफू निर्दाेष भएको भनी कारागारभित्रै मकवानपुर गढीको पूजा अर्चना गर्न थाले उनले।

गढीमाईले रातमा सपना दिँदै भनिन्– म यहाँ बस्न सक्तिन उठाएर अन्यत्र कतै लग। भगवान् चौधरीले भने्– म आफैं बन्धनमा छु, तपाईंलाई उठाएर अन्यत्र लग्न कसरी सक्छु र गढीमार्ई भन्छिन्– यो प्रबन्ध म मिलाउँछु। चौधरी जेलबाट छुटे, देवीको पाउको धूलो र त्रिशूल लिएर उनी हिँडे त्यहाँबाट, निकै कष्टका साथ माईलाई लिएर उनी हालको वरियारपुर पुगे। माईले त्यहीँ रहने प्रण गरिन् तर आफूलाई बलि दिइनुपर्ने, नरबलि समेत दिनुपर्ने आज्ञा गरिन्। भगवान् चौधरी गरिब, नरबलि पनि दिन नसक्ने, सधैं मेलामा बलि दिन नसक्ने बताएपछि हरेक पाँचपाँच वर्षमा भए पनि मलाई विशेष पूजा, बलि गनु पर्छ भन्ने माईको आदेशअनुसार चौधरीको पुर्खाले अहिलेसम्म पूजा र बलिको क्रम जारी राखे। अहिले देखिएको धान्नै नसकिने लाखौं श्रद्धालुहरूको भीड देख्दा लाग्छ यहाँ साँच्चै कुनै चमत्कार छ। 

धेरैले प्रश्न सोध्ने गर्छन् ? वेदमा बलिप्रथा छ ? देबलिे जीवको रगत पिएकै हुन् त ? मैले उत्तर दिने गरेको छु। धर्म भनेको मान्छेको आस्था र विश्वास हो। बलिप्रधा धर्म नहुन सक्छ, सांस्कृतिक पक्ष हुन सक्छ, कालान्तरमा यसले संगठित रूप लिँदै आयो। आस्था र विश्वास परिवर्तन गर्न बहुतै गाह्रो हुन्छ। लाखौंको संख्यामा पशु बलि दिनेहरूले कुभिण्डो, नरिवल, घिरौंला सात्विक बलि दिएर आपूmभित्र रहेको क्रोध, हिँसा, आवेग, तनाव, छलकपट आदि खराब तत्त्वको बलि दिनु उपयुक्त हुन्छ। पशुबलि दिने खर्चले पुल, पुलेसा, अनाथ आ श्रमहरूको स्थापना, सार्वजनिक निर्माणका कार्यमा भाकलकै गरे हुन्थ्यो नि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.