खाँचो सशक्त नागरिक समाजको

खाँचो सशक्त नागरिक समाजको

प्रभुत्वशाली नागरिक समाज आज छिन्नभिन्न छ। लाखापाखा छ।

नागरिक समाज स्थायी प्रतिपक्षी र जनताको बलियो सारथि भयो भने राजनीतिक दलहरू बरालिने सम्भावना कम हुन्छ भन्ने आम मान्यता र राजनीतिशास्त्रको बुझाइ छ। समाजको प्रबुद्ध वर्गले जहिल्यै नीति र नैतिकताको पृष्ठपोषण गरेर आफ्नो बौद्धिक र विवेकको परिचय दिन्छ भन्ने अपेक्षा गरिन्छ। राजनीतिशास्त्र भन्छ ‘सत्ता र प्रतिपक्षले मात्र राज्य अपुरो र अधुरो हुन्छ। 

लोकतन्त्र विधि, पद्धति, मानवाधिकार, स्वतन्त्रता, मर्यादा र समताको लागि आवाज उठाउने सचेत पंक्ति, आलोचनात्मक चेत भएको बौद्धिक र प्राज्ञिक समूह पब्लिक इन्टेलेक्चुअल हुन्। पब्लिक इन्टेलेक्च्युल को हुन् को होइनन् यसको परिभाषामा संसारभर विरोधाभाष छ। एकरूपता छैन। बहस जारी छ। भारतीय समाजशास्त्री प्रो. आन्द्रे बेतेका अनुसार, ‘बौद्धिक ती हुन् जसले विद्यमान ज्ञानको आलोचना गर्छन् र नयाँ ज्ञान निर्मितिको लागि सक्रिय बन्छन्’। तर पनि मूलभूत मान्यताको रूपमा समाजको बृहत्तर हित प्रवद्र्धन गर्न तथ्य, तर्क, विवेक र साहस प्रदर्शन गरेर प्रतिकूल परिस्थितिमा पनि आफ्नो धारणा निर्धक्क राख्नेहरू पब्लिक इन्टेलेक्च्युल हुन्। 

हरेक बौद्धिकहरूको समाजमा दबाब समूह हुनुपर्छ। जसले राज्यको अभिन्न अंगका रूपमा संस्थापनको खबरदारी गर्छ र जनपक्षीय निर्णय गर्न बाध्य बनाउँछ। सत्तापक्ष र प्रतिपक्षले मात्र देशको न्याय प्रणाली चल्दैन। सत्ता र प्रतिपक्षले कहिलेकाहीँ आफ्नो स्वार्थ अनुकूल बन्दा राष्ट्रघात हुने र नीतिगत भ्रष्टाचार गर्ने गलत काम, खराब नजिर बसाउन सक्छन्। दलहरूले आफ्ना हर्कतलाई वैधानिकताको खोल ओढाएर पुष्टि गर्ने जमर्काे गर्छन्। त्यस्तो बेला प्रतिपक्षको रूपमा नागरिक समाज र नागरिक आवाज जरुरी हुन्छ।

जस्तो कि नेपालमा महाकाली सन्धि प्रमुख प्रतिपक्ष र सत्तापक्षको एकै नाभी जोडिएको एक उदाहरण हो यस्तो बेला नागरिक समाजको खाँचो र अभाव खडकन्छ। नागरिक समाज भन्नाले कुनै राजकीय पद विभिन्न अवसर र नियुक्तिको आस राखेर काम नगर्ने आफ्नो क्षेत्र र सीपमा दत्तचित्त अब्बल नेपाली नागरिक हुन्। उनीहरू विभिन्न क्षेत्र आयाम र परिधिका हुन्छन्। जस्तो कलाकार, साहित्यकार, पत्रकार, समाजसेवी, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिललगायत समाजका अनेकन क्षेत्र र ठाउँमा आफ्नो नाम राखेका लब्धप्रतिष्ठित व्यक्तिहरूको समूह हो। 

नागरिक समाज सिंगो समाजको सबल र खँदिलो आवाज हो। जसले हर नागरिकको प्रतिनिधि आवाज बोकेको हुन्छ। प्रत्यक्ष रूपमा शासन सत्तामा सहभागी नभएर पनि शासन सत्ता चलाउन सिकाउने सभ्य जमातका रूपमा नागरिक समाजको परिचय बनेको हुन्छ। 

जसको बोलीमा दम हुन्छ। राष्ट्रलाई नै गाइड गर्न सक्ने बौद्धिक र नैतिक ल्याकत हुन्छ। यिनीहरूले बोलेपछि राज्यमा त्यसको अर्थ र महत्त्व झल्कन्छ। कुनै पनि विषय उठान र बैठानमा बौद्धिकको मनशाय र विचारलाई प्राथमिकता दिइन्छ। जनस्तरमा उनीहरूप्रति ठूलो श्रद्धा विश्वास र भरोसा जीवित रहेको हुन्छ। सत्तालाई र प्रतिपक्षलाई ठीक बाटो देखाउने उज्यालो मार्गको रूपमा नागरिक समाजलाई लिने गरिन्छ। देशहित नै जीवनको मूल मन्त्र र अभीष्ट राख्ने नागरिक समाज कुनै पनि राजनीतिक दलको वाद र सिद्धान्तले प्रभावित बन्दैन भन्ने आम धारणा विद्यमान छ। दलीय दाम्लो र अनुशासनको परिधि बाहिर रहने केवल देशको माया गर्ने र देशलाई उपयुक्त बौद्धिक ऊर्जा र तागत दिने व्यक्तिहरूको समूह नै नागरिक समाजको नामले पुकारिन्छ।

देशलाई परेको बेला आफ्नो ज्ञान, सीप र क्षमताले सिञ्चित गर्ने बौद्धिक सल्लाह र मार्गनिर्देशन गर्ने सामथ्र्य नागरिक समाजको पहिचान हो। तटस्थता र निर्भीकतापूर्वक देशका खातिर, नागरिकको पक्षमा अनि जनताको पीरमर्का र अप्ठ्यारोमा बोल्ने लेख्ने खबरदारी गर्ने जमात हो नागरिक समाज। विषयविज्ञ र अनेकन सल्लाहकार समूह भनेर वेतनधारीलाई राज्यले नियुक्ति गरेको हुन्छ। तर यस्ता समूह र वेतनधारीहरू फगत आफ्ना मालिकको भक्त र आफ्नो तलबका ताबेदार मात्र रहन्छन, निर्भीक र तटस्थ बनेर राज्यलाई सल्लाह र आफ्नो विज्ञता दिँदैनन् या दिन चाहँदैनन् आफ्नो पदलाई जोखिममा राखेर आफूलाई नियुक्ति दिनेको विपक्षमा मत अभिव्यक्त गर्न सक्षम छैनन् यो आजको तीतो वास्तविकता हो। यदि कोही वेतनधारी इमान्दार छन् भने पनि अत्यन्त नगन्य मान्छेहरू मात्रै छन् तसर्थ नागरिक समाजको भूमिका र महत्त्व बढी हुन्छ।

समाजको फरकफरक क्षेत्रमा विशिष्टता हासिल गर्ने समूहको सञ्जाल नागरिक समाज भएकोले उसको क्षमता, इमान र विज्ञता राज्यको सम्पत्ति हो। राजनीति गर्ने दल तिनका नेता कार्यकर्ताहरूको दलीय स्वार्थ हुन्छ। उनीहरू देशको प्रतिकूल भए पनि पार्टी र नेताको प्रतिकूल निर्णय गर्न चाहँदैनन्। दलीय अनुशासन पद्धति र प्रक्रियाको साङ्लोले उनीहरू बन्धनमा हुन्छन्। दलीय अनुशासन र अडानको नाममा विवेक पनि बन्धक राख्ने परिपाटी बसेको हाम्रो जस्तो मुलुकमा नागरिक समाज र यसको भूमिका र महत्त्व धेरै छ। तथापि नागरिक समाजको सुस्तता, दलीय आबद्धता र खण्डीकृत शक्तिको कारण यसले आफ्नो प्रारूपअनुसार हालका दिनहरूमा काम गर्न सकिरहेको छैन।

२०४६ सालको परिवर्तन त्यसको संस्थागत विकास अनि २०६२÷०६३ को परिवर्तनमा जुन अहम् भूमिका र शक्ति नागरिक समाजमा थियो त्यो आज क्षय भएको छ। सत्तापक्ष एकदमै बलियो, प्रतिपक्ष निरिह भएको बेला नागरिक समाज दलभन्दा माथि उठेर अगाडि आउनु पर्छ। प्रभुत्वशाली नागरिक समाज आज छिन्नभिन्न छ। लाखापाखा छ। केही आवाजहरू नागरिक समाजको नाममा उठेका छन् तर तिनीहरू पनि बायस्ड बनेको र पक्षधरता उन्मुख भनेर आलोचित बनेको पाइन्छ। ठूलो तप्का हस्तक्षेपकारी आग्रह बोकेर निस्केको छैन जति निस्कनु पथ्र्यो। एमसीसी विवादजस्ता विषयमा नागरिक समाजको एक मुख र आवाज गुञ्जन भएन।

निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको संगठन जसलाई समाज रूपान्तरणको आधार निर्माणको रूपमा व्याख्या विश्लेषण र परिभाषित गरेको देखिन्छ। नागरिक समाजले सरकार, प्रतिपक्ष र अन्य दलहरूको मात्रै खबरदारी गर्दैन, यसले त नागरिक हक र दायित्व र प्रत्येक नागरिकको कर्तव्य र समाजमा निर्वाह गर्नुपर्ने भूमिकाको पनि खबरदारी र मार्गनिर्देश गर्दछ। अधिकारको मात्रै कुरा गर्ने र कर्तव्य चाहिँ रौं बराबर पनि निर्वाह गर्न नचाहने प्रवृत्तिको विरुद्ध नागरिक समाजको औंला समाजमा तेर्सिनु पर्छ। भ्रष्टाचार निवारण र सु–शासनका विषयदेखि सीमा विवाद जस्ता कुरामा कूटनीतिक भूमिका पनि नागरिक समाजको तर्फबाट खेलिनु उपयुक्त हुन्छ। दिगो शान्ति, अमनचयन र सामाजिक सुरक्षा प्रबन्धजस्ता कुरामा सरकारलाई सहयोग गर्दै प्रेरित गर्दै खबरदारी गर्दै अघि बढ्नु नागरिक समाजको दायित्वभित्र राख्न सकिन्छ।

समाजमा व्याप्त अन्धविश्वास जातीय विभेद, लैंगिक विभेद र कुरीति र कुसंस्कृतिलाई उखेल्न समाजलाई नयाँ मनोविज्ञान सिर्जना गर्न प्रगतिशील समाज निर्माण गर्न नागरिक समाजका हरेक सदस्य उल्लेखनीय र उदाहरण योग्य बन्नु जरुरी छ। नागरिक समाज सिंगो समाजको सबल र खँदिलो आवाज हो जसले हर नागरिकको प्रतिनिधि आवाज बोकेको हुन्छ।

जनताका जल्दाबल्दा समस्यालाई प्रतिनिधित्व गर्दै समाजका विकृति र विसंगतिलाई उँधो मुन्टो लगाएर पछार्न जनता जागृत गर्ने अभिभारा पनि स्वतन्त्र नागरिक समाजका सदस्यहरूको हो भन्ने कुरामा दुविधा छैन। प्रत्यक्ष रूपमा शासन सत्तामा सहभागी नभएर पनि शासन सत्ता चलाउन सिकाउने सभ्य जमात भनेर नागरिक समाजको परिचय बनेको हुन्छ। समाजप्रति समर्पित प्रजातन्त्रप्रति प्रतिबद्ध, मानवाधिकार र स्वतन्त्रताका हिमायती, प्रत्यक्ष दलीय राजनीतिमा असंलग्न, अग्रगामी सुधार र परिवर्तनको पक्षपाती निष्ठावान् नागरिक समूह नै समाजका अग्रज र भरोषायोग्य व्यक्तित्व हुन्।

नागरिक समाजका आफ्नै छुट्टै विशिष्ट विशेषता र गुणहरू हुन्छन्। नागरिक समाज गैरनाफामूलक व्यक्ति या समुह हो। नागरिक समाज आफैंमा सचेत सबल र स्वतन्त्र अस्तित्व भएका व्यक्तिहरूको समूह भएकोले यिनीहरू कसैको दबाब र प्रभावमा हुँदैनन्। आत्म अनुशासनमा बस्ने र राष्ट्रलाई सकारात्मक बाटोमा हिँडाउन दबाबमूलक बन्न सक्छन्। सरकारी नियम कानुनको कार्यान्वयन र नियमन, अनुगमन र कानुनको परिपुरक कानुनको माग गरेर नागरिकका माग र समस्या समाधानमा जोड दिन्छ्न्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.