एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शनिबार बिहान ११ बजे पार्टी कार्यालयमा सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा उपचुनाव, सत्तारुढ कांग्रेस र एमालेले बनाएको संयन्त्र, समसायिक राजनीतिक अवस्था, लगायतका विषयमा छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका चीन भ्रमणको तयारीबारे पनि छलफल हुनेछ।
सरकारको कामलाई सफल र प्रभावकारी बनाउने उद्धेश्यसहित प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयन्त्र गठन भएको हो । संयन्त्रको कार्यदलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सदस्य छन्। एमालेको तर्फबाट भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्।
१५ गतेको बैठकले प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय गरेका छन्।