प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग
काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्जका कारण आदिवासी जनजातिहरूको थातथलो खोसिन लागेको भन्दै खारेज गर्न माग गरेको हो। प्रस्तावित निकुञ्ज खारेज गर्न माग गर्दै वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाइसकिएको महासंघले जनाएको छ।
सरकारले १३औं राष्ट्रिय निकुञ्जका रूपमा सोलुखुम्बु जिल्लाका महाकुलुङ सोताङ र माप्यादुधकोशी गाँउपालीकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेपनि महासंघले त्यसको विरोध गरेको हो।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजाति समुदायसँग छलफल नै नगरी मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको प्रति गम्भीर आपत्ति रहेको बताए। उनले आदिवाासी जनजातिको अधिकार हनन गर्ने कुनै पनि कामविरुद्ध आन्दोलनसमेत गर्ने चेतावनी दिए।
प्रस्तावित निकुञ्ज क्षेत्रका बासिन्दासँग परामर्श नै नगरि राज्यले एकतर्फी ढंगले राष्ट्रिय निकुञ्ज गर्न लागेको भन्दै महासंघले भर्त्सनासमेत गरेको छ।