क्रस–बोर्डर डिजिटल भुक्तानीको सुरुवात

१० देशका यात्रुले डोमेस्टिक ई–वालेट-मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सक्ने

क्रस–बोर्डर डिजिटल भुक्तानीको सुरुवात

काठमाडौं : नेपालले क्रस–बोर्डर डिजिटल भुक्तानीको सुरुवात गरेको छ । यससँगै, अब नेपाल आउने विभिन्न १० मुलुकका नागरिकले उनीहरूकै कार्डबाट डिजिटल भुक्तानी गर्न पाउने भएका छन् । उनीहरूले डोमेस्टिक ई–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालका अन्तरआबद्ध ‘नेपालपे’ क्यूआरको नेटवर्कसहित ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूलाई मात्रै भुक्तानी गर्न सक्ने भएका छन् । 

अब चिनियाँँ मेनल्यान्डलगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटालीलगायत १० देश तथा क्षेत्रका यात्रुहरूले लाभ लिन पाउनेछन् । डिजिटल भुक्तानीको सुविधाले उनीहरूलाई नेपाल आउँदा नगद बोक्नुपर्ने झन्झट कम गर्नेछ । 

यो व्यवस्थाको सुनिश्चितता नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले गरेको हो । बिहीबार मात्रै एनसीएचएल र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एन्ट इन्टरनेसनलले नेपाल पे क्यूआर र अली पे बीच क्रस–बोर्डर भुक्तानीको सुरुवात भएसँगै नेपाल आउने यात्रुले यस्तो सुविधा उपभोग गर्न पाउने भएका हुन् । 

उक्त कम्पनीहरूले सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्लेटफर्ममा बिहीबार सम्झौता गर्दै सुरुवातको संयुक्त घोषणा गरेका हुन् । जसमा दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया तथा न्युजिल्यान्डका एन्ट इन्टरनेसनलका महाप्रबन्धक एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एन्ट इन्टरनेसनलका अध्यक्ष डगलस फेगिनका साथै दुवै संस्थाका प्रतिनिधिहरू, अन्य विशिष्ट व्यक्तिहरू तथा प्रतिनिधिहरूको उपस्थितिमा सो घोषणा गरिएको हो । 

उक्त भुक्तानी गर्नका लागि तोकिएका १० देशका नागरिकसँग अलि पे साझेदारहरू चिनियाँँ मेनल्यान्डको अलि पे, हङकङ एसएआरको अलीपे एच्के, इटालीको तीनाबा, मकाओ एसएआरको एमप, टच एन गो ई वालेट, मलेसियाको पब्लिक बैंक बर्हाडको माईपिबी, मंगोलियाको हाइपे, फिलिपिन्सको जिक्यास, सिंगापुरको चंगी पे र ओसीबिसी डिजिटल, दक्षिण कोरियाको नेभर पे र तोस पे, थाइल्यान्डको ट्रुमनीबाट नेपाल पे क्यूआरमार्फत सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सक्नेछन् । 

एन्ट इन्टरनेसन (अलिपे) र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृतिपश्चात् क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरुवात गरिएको हो । 

एनसिएचलका अनुसार नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीका लागि नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापी रूपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । 

यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरूले नेपालको मर्चेन्टहरूलाई सहजै क्रस–बोर्डर डिजिटल भुक्तानी गर्न सक्ने भएको छ । 

यसले नेपालपे क्यूआर लगाइएका स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरूले नेपालको पर्यटन क्षेत्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने र आगामी वर्षमा पर्यटन क्षेत्र अझ फस्टाउने अपेक्षा सहित नेपाल र विश्वभरका साँझेदारहरू, मर्चेन्टहरूलाई सहयोग गर्ने एनसीएचएलका सूचना अधिकारी मुन्नी राजभण्डारी बताउछिन् । 

‘अहिले पहिलो चरणमा तोकिएका १० मुलुकबाट आउने यात्रुहरूलाई यस्तो भुक्तानीको सुविधा दिइएको तर नेपालबाट यी देशमा जाने नेपालीका लागि दोस्रो चरणमा गर्ने योजना रहेको छ,’ उनले अन्नपूर्णसँग भनिन् । उनका अनुसार हाल नेपाल पेमार्फत दैनिक करिब ७० हजार वटा कारोबार हुने गरेको छ । अझ दसैंंको बेला असोज महिनामा मात्रै यसबाट १० अर्ब रुपैयाँबराबरको कारोबार भएको उनले जानकारी दिइन् ।

एनसीएचएलमार्फत सञ्चालित नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्विचअन्तर्गत क्यूआर भुक्तानीलाई इसुइङ, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्यूआर स्ट्यान्डर्डको पूर्वाधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरूले यस्को क्यूआरमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरू आबद्ध गरेका छन् । ग्राहकहरूले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्ट आईपीएसबाट नेपाल पेमा भुक्तानी गर्न सक्छन् । 

यससँगै, हाल एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ, आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस (ओपन एपीआई प्लईंटफर्म), कनेक्ट आईपीएस (फास्टर पेमेन्ट सिस्टम तथा गेटवे) र कर्पोरेट पे (बी टु बी पेमेन्ट च्यानल) लगायतका विभिन्न डिजिटल पेमेन्ट पूर्वाधार स्थापना गरी डिजिटल कारोबारको सेवा प्रदान गर्दै आइरहेको छ । 

यस्तै, सिंगापुरमा मुख्यालय रहेको एन्ट इन्टरनेसनलले ग्लोबल कमर्समा विशेष जोड दिँदै सबै प्रयोगकर्ता र व्यवसायीहरूका लागि डिजिटल सेवा प्रदान गर्न कार्य गर्दै आएको छ । विभिन्न पार्टनरहरूसँगको सहकार्यमा एन्ट इन्टरनेसनलले डिजिटल भुक्तानी र वित्तीय सेवाहरूको विश्वव्यापी रूपमा मर्चेन्टहरूलाई सहयोग गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.