चिठी–पत्रः हराउँदै गएको बौद्धिक अभ्यास !

चिठी–पत्रः हराउँदै गएको बौद्धिक अभ्यास !

चिठी आएन

मेरो मायालुको मलाई चिठी आएन ...
जरुरी थियो मनको कुरा मनमै रह्यो ...
हुलाकीको बाटो हेर्न मैले छोडिनँ
...... ...... ...... 
चिठी आई है चिठी आई है
वतन से चिठी आई है
बडे दिनों के बाद हम बेवतनोंका याद
वतन कि मिट्टी आई है ... 
सात समन्दर पार गया तू
हमको जिन्दा मार गया तू। 

चिठीपत्रको सन्दर्भलाई लिएर नेपाली वा हिन्दी गीत संगीतमा दशकौंदेखिका यस्ता मार्मिक र भावनात्मक सन्देश बोकेका गीतहरू छन्। करोडौं  श्रोता दर्शकका माझमा पुगेका यी लोकप्रिय गीतहरूमा सन्देशको माध्यमका रूपमा चिठीलाई लिइएको छ। तर आजभोलि चिठीको प्रयोग र प्रयोजन हराउँदै गएको छ। यसले दिने सन्देश र भावनाको मर्म अब कमैले महसुस गर्न सक्छन्। 

चिठीपत्रको प्रचलन कहिलेबाट कसरी सुरुवात भयो ?     

मिथकहरू अनुसार यो आदिकालको पनि आदिकालपूर्व वा हामीले बुझेको कुनै पौराणिक कालको कुरा हुन सक्छ– चिठीपत्रको आदानप्रदानको माध्यम परेवा थियो ! अपत्यारिलो र आश्चर्यपूर्ण लाग्ने यही मिथक आधुनिक राज्य–सरकारले नागरिक स‍ेवामा स्थापना गरेका हुलाक अड्डा हुँदै फोन, इमेल र सामाजिक सञ्जालका अनेक जालोमा फैलिएको छ।

तपाईं हामी जो यी पंक्ति पढ्दै छौं, धेरैले हातले चिठी लेखेका छैनौं वा अरूले लेखेको चिठी पनि पढेकै छैनौं। कुनै समयमा लेखेको र पढेको भए वर्षौं भइसकेको हुनुपर्छ– आफैंले हातले कसैलाई चिठीपत्र नलेखेको र अरूले लेखेको चिठी प्राप्त नगरेको। विश्वका धेरै देशमा नागरिकको सेवाका लागि स्थापना गरिएका सरकारी अड्डामा हुलाक पनि प्रमुख थियो। चिठी आदानप्रदान गर्ने त्यही माध्याम अहिले ‘इ–मेल’ बनेको छ। इलोक्ट्रनिक मेल— ‘मेल’, हिजो हातले लेखेको चिठी आदानप्रदान गर्ने माध्यम थियो हुलाक वा ‘पोस्ट अफिस’, अब ‘इमेल’।

अन्यत्रको अनुभव छैन यो पंक्तिकारलाई तर अमेरिकामा ‘मेल बक्स’ घरघरमा नै हुन्छन्। आज–भोलि यी ‘मेल बक्स’ धेरैजसो काम नलाग्ने विज्ञापनका कागजको कारण ‘जंक बक्स’ हुन थाले। यिनमा हातले लेखेका चिठी त आउने कुरै भएन यद्यपि सरकारी र व्यावसायिक महत्त्वका कागजातका कारण ‘पोस्ट बक्स’को उपयोगिता घटेको छैन। बेलायत, भारत, अमेरिकालगायतका देशमा चिठीपत्र ओसारपसार गर्ने सवारीसाधन वा व्यक्तिलाई पनि विशेष महत्त्व दिइन्थ्यो। मेलवाहक गाडी वा रेल ‘एक्सप्रेस’ चल्थे। नेपालमा पनि हुलाकी वा हल्काराको मान र महत्त्व विशेष मानिन्थ्यो।

साहित्यमा पत्र साहित्यको महत्त्व रहेका उदाहरणहरू छन्। विश्व प्रसिद्ध विद्वान, साहित्यकार, दार्शनिक वा नेताहरूका प्रेरणादायी चिठीहरू इतिहास, साहित्य र तत्कालीन समाज अध्ययनका सामग्रीका रूपमा पाठ्यपुस्तकहरूमा समावेश भएको पाइन्छ। नेपाली साहित्यमा पत्र साहित्य स्थापित हुन नपाउँदै प्रविधिको चपेटामा परेर विस्थापित भइसकेको छ।

नेपाली साहित्यका परिचित व्यक्तित्व हुनहुन्छ– तुलसी भट्टराई। राजनीति शास्त्र र भाषा विज्ञानमा स्नातकोत्तर तथा भाषा विज्ञानमा विद्यावारिधि गर्नु हुने भट्टराई नेपाली राजनीति, साहित्य र पत्रकारिताका त्रिवेणी हुनुहन्छ। राजनीतिक गतिविधि, पत्रकारिता वा सम्पादन र अनुवादका अतिरिक्त निबन्ध, कथा, कविता, उपन्यास, भाषा–व्याकरणको सिर्जनशील लेखनका दुई दर्जन हाराहारी कृतिका लेखक भट्टराईको यी सबै परिचयको पुष्टि गर्ने पछिल्लो कृति हो, चिठी–पत्र।

चिठी–पत्र, साहित्यकार भट्टराईका नाममा नेपालको सामाजिक जीवन विशेषतः राजनीति र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरूले हातले लेखेका चिठीहरूको संकलनको चर्चाको पृष्ठभूमि हो यो । संकलनमा मुख्यतः विगत तीन दशकदेखि पाँच दशकको बीचमा लेखिएका पत्रहरू छन् भने केही डेढ दुई दशक यताका । यी पछिल्ला समयावधिका पत्रहरू भने हुलाक अड्डाको माध्यमबाट चिठीपत्रको आदानप्रदान कम हुन थालेको र ‘इमेल’को प्रयोग बढ्न थालेको समयका हुन् ।

लेखक भट्टराई अध्ययन, पत्रकारिता र राजनीतिक कारणले विसं २०२३ देखि २०४१ सम्म भारतको शिक्षाको केन्द्र बनारसमा बसेका थिए। विशेष गरेर सोही समयावधि र त्यसपछिको काठमाडौंको बसाइका क्रममा २०५० को आसपासमा उनले करिब पाँच सय व्यक्तिका एक हजार जति पत्र प्राप्त गरेका थिए। त्यसरी साढे चार दशक अघिदेखि लेखिएका करिब एक सय राजनीतिक, तीन सय साहित्यिक र पाँच सय साथीभाइ, इष्टमित्र र परिवारजनका चिठी अहिले पनि उनीसँग छन् । यो संकलनमा ४३ राजनीतिक र १ सय २१ साहित्यिक व्यक्तित्वका तीन सयभन्दा धेरै चिठी समावेश छन् ।

नेपाली साहित्य र राजनीतिको एउटा कालखण्ड जुन कठिन थियो, त्यस समयको दृष्टान्तको यो आँखीझ्याल हो। नेपाली साहित्य र साहित्यकारको उर्वरभूमि बनारसको दुई दशक लामो बासपछि भाषा साहित्यका नेतृत्वदायी संस्थाहरू साझा प्रकाशन र गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रज्ञा–प्रतिष्ठानमा सदस्यसचिवको भूमिका निर्वाह गरेका भट्टराई यस समयावधिमा साहित्यकारहरूको केन्द्रबिन्दुमा रहेको यो संकलनले देखाउँछ। 

पत्रहरूमा बनारसमा तीर्थस्थल जाने राजनीतिक कार्यकर्ताको हेरचाह गरिदिनुपर्ने नेताहरूको अनुरोधदेखि लिएर अध्ययन गर्न, परीक्षा दिन र पत्रपत्रिका प्रकाशित गर्न जानेहरूका काम गरिदिनुपर्ने, विश्वविद्यालयका प्रमाणपत्र मगाउने, प्रेससँग सम्बन्धित सामग्रीको जोहो गरिदिनु पर्ने, लेख रचना वा कृति प्रकाशनमा सहयोग गर्न पर्ने, आर्थिक गर्जो टारिदिनु पर्ने, गोप्य राजनीतिक भेटघाटदेखि लिएर पर्चा पम्ल्पेट प्रकाशनमा होसियारी अपनाउनु पर्ने अनेक विषय छन्। मानौं, बनारसमा भट्टराई तत्कालीन समयमा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, लेखक साहित्यकार र पत्रकारहरूका कारिन्दा मात्र हुन्, अन्य उनको कुनै काम छैन। तर उनलाई दिइएका जिम्मेवारी, तिनको प्राथमिकता देख्दा लाग्छ एकजना विधार्थी र सिर्जनशील लेखकले त्यतिका काम भ्याउन कसरी सक्यो होला ?     

नेपालका राजनीतिका अग्रजहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, योगप्रसाद उपाध्याय, सी.के. प्रसाईं, के. बी. गुरुङ, भीमबहादुर तामाङ, कृष्ण सिटौला, अधिवक्ता दिनेश त्रिपाठीलगायत ४३ जनाका चिठीहरू छन् पहिलो खण्डमा। दोस्रोमा साहित्यकारहरू केदारमान व्यथित, मदनमणि दीक्षित, ईश्वर बराल, इन्द्रबहादुर राई, कमल दीक्षित, डिल्लिराम तिम्सिना, गृष्मबहादुर देवकोटा, कृष्णचन्द्रसिंह प्रधान, लीलबहादुर क्षेत्री, शरदच्चन्द्र वस्ती, विधान आचार्य, शलभ, कुलचन्द्र वाग्लेलगायत नेपालका विभिन्न जिल्लाका लेखकहरू समेटिएको छ। त्यस्तै बनारस सिक्किम, आसाम, दार्जिलिङ, गुहाटीका नेपाली भाषी साहित्यकारहरूका हस्तलिखित पत्रहरूको यो संकलन सामाजिक जीवन, व्यक्तिगत सम्बन्ध तथा मानवीय भावनाहरू समेटिएको उदाहरणीय दस्तावेज हो। संकलनमा महिलाहरूमा नोना कोइराला, कमला सांकृत्यान, विष्णु शर्मा, मन्दिरा कोइराला र शकुन्तला जोशी मात्र छन्। यो हराउँदै गएको पत्र लेखन वा पत्र साहित्यका अध्येताहरूका लागि महत्त्वपूर्ण स्रोत सामग्री हो।

हुलाक अड्डा वा हुलाक सेवा र हातले लेखेका चिठीपत्रहरू, पोस्टकार्ड वा हवाईपत्रका कुरा अब क्रमशः एकादेशका कथा हुन थाले। आजभोलि हुलाकले चिठीपत्र मात्र आदानप्रदान गर्दैन। आर्थिक कारोबारका सेवा, मालसामान ढुवानी तथा सरकारी सेवाका अन्य काममा सहजीकरण गर्ने हुलाक सेवा व्यावसायिक प्रतिस्पर्धामा छन्। सञ्चार माध्यम वा सोसल मिडियाका ‘पोटेवल डिभाइस’हरूमा हाताका औंलाहरू गुगल वा विकिपिडियामा खेलाउने आजको पुस्ताका लागि यी कुरा अनौठा लाग्न सक्छन्।

चिठीपत्रकै सन्दर्भमा चर्चा गर्दा नेपाली साहित्यमा अन्य कतिपय साहित्यकारहरूका फुटकर चिठीहरू सार्वजनिक भएका छन्। विश्वेश्वरप्रसाद कोइराला, कमल दीक्षित, तारानाथ शर्मा र पारिजात नेपाली साहित्यमा चिठीपत्र लेखनमा तुलनात्मकरूपमा अगाडि देखिन्छन्। पारिजातले बहिनी सुकन्यालाई लेखेका चिठीहरूको संकलन ‘अपराजिता’ केही वर्ष पहिले बुक हिल पब्लिकेसनले प्रकाशित गरेको थियो। पत्रमित्रताका माध्यमबाट दाम्पत्य जीवन सुरु गरेका युवा लेखकद्वय भावेश भुमरी र प्रणिता चामलिङको यसै वर्ष प्रकाशित व्यक्तिगत चिठीहरूको संकलन ‘भावलिपि’ पनि चर्चामा छ।

चिठीपत्र र हुलाक अड्डाको सन्दर्भमा चर्चा गर्दा यो पंक्तिकारको विशेष अनुभव छ। अनुमानतः तीन सय व्यक्तिलाई औसतमा तीन वटा चिठी चालिसको दशकमा यो पंक्तिकारले पनि लेखेको थियो– हिसाब एक हजार हुन्छ। रेडियो नेपालका केही कार्यक्रम र अखबारहरूले पत्रमित्रताका लागि ठेगानाहरू आह्वान गर्थे। प्राप्त चिठीहरूको रहलपहल यायावर जीवनका डेरावासहरूमा कतै फेला परे कति राम्रो हुने थियो !

 हुलाक अड्डाबाट चिठीपत्र लाने ल्याउने हुलाकी हुन्थे त्यो जमानामा। तर चिठीपत्र बोक्ने हुलाकीहरूले विशेष अवस्थामा व्यक्तिहरूलाई पनि एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउन सहयोग गर्थे। यो पंक्तिकारलाई बाल्यकालको १०–११ वर्षको उमेरमा संखुवासभाको आँखीभुइँस्थत मामाघरबाट हुलाकीमार्फत भोजपुरको जरायोटारस्थित घरमा पुर्‍याइएको थियो।   आँखीभुइँका हुलाकीले अरुण नदीस्थित धनकुटाको शिवरात्रि लेगुवासम्म लिएर आए भने लेगुवाबाट भोजपुर सदरमुकाम जाने हुलाकीले जरायोटार पुर्‍याएका थिए।

धान खायो गाईले, धपाइदियो भाइले, 
मकै खायो खसीले
पन्ध्र पन्ध्र दिनमा, चिठी लेख्दै गर्नु, 
नीलो रङको मसीले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.