हुलाकी हलकारा जस्तो पाक्कपुक्क
दरबारमा नजन्मिएका तर समाजमा सबै राजा भएको देख्दा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महसुस गर्दोरहेछ। समय र समाजकोे अग्लो होचोलाई थाक्दै नथाकी व्यंग्य कविताको माध्यमबाट सम्याउन तम्सिएका झापा गौरादहका कवि खगेन्द्र नेउपानेको व्यंग्य कविता संग्रह ‘पाक्कपुक्क’ फित्कौली अनलाइन मिडियाले बजारमा ल्याएको हो।
चिप्लो मुख र धमिलो पेट भएको समाजको प्रवृत्तिमाथि कविताहरू लेखिएका छन्। हाम्रो लडाइँ भ्रष्टाचारविरुद्ध भइरहेका बेला भव्य कार्यक्रममा माला, मञ्च र माइकका साथमा बूढो नेताको भाषणमा परिवर्तनका कुरा सुन्दा नेपाली समाज र सामाजिक जीवनप्रति कवि चिन्तित देखिन्छन्। सर्वसाधरण जनताका लागि जति जे गरे पनि थुुइक्क ! भुस्याहाको भाषण अर्थात् साला भाषणमा ल्याथ्रो साँढे वा भाइरस मात्र फेला पर्छ भनेर कवि बोल्छन।
कविताहरू बौद्धिकता दुर्बलता, घुसको बिगबिगी, उभिन्डो र बिब्ल्याँटो चलनमाथि केन्द्रित छन्। व्यंग्य कविता, मनको जालीले समाजमा रहेका लहडी माछा मार्ने कला पनि हो। व्यंग्य रचनाले समाजका विसंगतिलाई छर्लंग पार्छ, तर मार्जित रूपमा। यसको आफ्नै स्तर, मूल्य र आफ्नै मानवीयता हुन्छ।
बा !
तपाईं भन्नुहुन्थ्यो,
मास्टर न खा छोरा !
तर मैले
मास्टर खाएँ बा !
कहिले हाकिम खा भन्नुहुन्थ्यो
कहिले ठेकेदार खा भन्नुहुन्थ्यो
स्रेस्ताका कुरा हेर भन्नुहुन्थ्यो
स्कूलका भुरा नहेर भन्नुहुन्थ्यो
बरु अम्रिका जा
गोराको नोकरी खा
सबैले दोष भरेको
मास्टरी नखा भन्नुहुन्थ्यो
तर मैले
मास्टर खाएँ बा !
(मैले मास्टरी खाएँ बा !, पृ. ६७)
यसरी नेउपानेका कविता पढ्दा नेताले खाएको धन र आगोले खाएको वन उस्तै उस्तै लाग्छ। अनि कविता पढेपछि पाठकलाई साँच्चै लाग्छ– “ढिकीले स्वर्ग गए पनि धानै कुट्दो रहेछ। व्यंग्य कविताहरू मान्छेको अपमान होइन रहेछन्, बरु अपमानित मान्छेको अभिव्यक्ति चाहिँ रहेछन्।
साँच्चै, चिनीको नाम जपेर मुख गुलियो हुँदैन तर पनि पात्तिएको आधुनिकता र मकाएको परम्परालाई सिस्नुपानी लगाएका छन्। कविलाई जुुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भन्ने पनि थाहा छ तर पनि कविले विसंगतिहरू औंल्याएर तेजाबी सुनले समाजलाई कसी लगाउन चाहेका छन्।
यो पुुस्तक प्रकाशन नगरेको भए पुस्तकप्रति सायद प्रज्ञा नेपाली बृहत् शब्दकोश बैरी हुँदैन थियो। यसमा बैरी हुनुका केही कारण पनि छन्। पुस्तकको प्रकाशक्यौलीमा वाणि, सधैं, मेरूदण्ड, प्रयत्नसमेत र भूमिक्यौलीमा गौरिगन्ज, रूप, शुुरू, आफैं, मर्मस्पर्शी, विरूद्ध, सांस्कृतिक, जगत, तपाईं, महत्वपूूर्ण, प्रयोगमार्फत्, कविता संग्रह, राजनीतिभन्दा, साथै लेखक्यौलीमा गहिराई, कोशिस, समयानुकुल, स्वरूप, रूप, महŒव, छरपष्ट, महत्वपूूर्ण, अपुरणीय, कञ्जुुस्याईं, यस भित्र लगायतका शब्दहरूको हिज्जे लेखन र पदयोग र पदवियोगमा समस्या छन्।
कविताहरूमा काईते, पठाई, सफाई, डाइमण्ड, पुुरा होस्, पाईन, राजश्व, डि पि, चौथाई, त्रिसूली, हामी सँगै, स्कूलहरू, रूपैंया, बाटो भन्दा, सवै, बैंक वचत, टेलीभिजन, काठमाडौं, झुुण्ड्याएर, धूूनी, बगैंचा, कमिशन, सम्पति, बुकुर्सिन्छन, शहरिया, सँङ्िलन, घ्वाङ, आउँनोस भन्दा, आ ना, चण्डिपाठ, इटा, मत पत्र, आ नूू, सधैं, गित लगायत शब्दका हिज्जे, पदयोग र पदवियोगमा पनि समस्या छन्।
त्यस्तै कवितामा उही भावका शब्दहरू दोहोरिएर आएका छन्, एउटै संग्रहका कविताहरूमा यस्तो पाइनु कृतिको सबल पक्ष पनि होइन। कविता संग्रहभरि ४० पटकभन्दा बढी ‘भ्रष्टाचार’ (भूमिक्यौली, गाम्नागे) शब्दको पुनरावृत्ति एउटै सन्दर्भमा भएको र अर्थमा नौलोपन नआएकाले ती कविताहरूले अर्थ दोषको भार बोक्नुपर्छ।
जे होस्, नाम ‘पाक्कपुक्क’ भए पनि पुस्तक भन्सारको हाकिम जस्तो छैन। अड्डाको पियन जस्तो पनि छैन। छ त केवल हुलाकी हलकारा जस्तो।