समीक्षा वा समालोचनाको धर्म के हो भने कुनै पनि कृतिलाई त्यसको गुण र दोषका आधारमा विवेचना गर्नुपर्दछ। गुणको मात्रै बखान वा दोषको मात्रै चर्चाले समीक्षा-समालोचना अधुरो हुन्छ। तर कहिलेकाहीँ यस्ता कृतिहरू पनि प्रकाशमा आउँछन् जसमा दोषको चर्चा निरर्थक हुन जान्छ र तपाईँले त्यसको गुणको उज्यालोलाई मात्रै औंल्याउनु हुनेछ। यो कहिलेकाहीं हुने चिज हो। अपवाद जस्तै। र यसपालि यस्तै भयो। पत्रकार एवं लेखक घनश्याम खड्काको नवीनतम कृति आनन्द संहिताको अध्ययन गरेपछि म गुणको गुलियोमा लठ्ठिएँ। हो, लठ्ठिएको मान्छेले एकै थोक देख्छ। निजकै अघिल्लो औपन्यासिक कृति निर्वाणको बारेमा कुरा हुँदो हो त म अवश्यै गुणसँगै दोष पनि पहिल्याउँथे। तर आज मेरो भूमिका समीक्षकको नभई प्रवक्ताको बन्न गएको छ। एउटा शास्त्रीय वचन छ– ‘तमसोमा ज्योतिर्गमय !’ पुस्तकको सार बमोजिम आनन्द संहितालाई यही शीर्षकमा छापेको भए पनि फरक पर्दैनथ्यो।
धर्म मान्छेको खोज हो। आविष्कार हो। र हो एक सुन्दर सम्पदा। भलै धर्मका नाममा जगतमा कुरूप अभ्यासहरू पनि भए। संसारमा प्रचलित धर्महरू कतै हतियार भए अनि कतै आफैं सिकार पनि भए होलान् तर सबै धर्मको सार–सन्देश भने त्यस्तो कुरूप छैन। संसारमा धर्म र पन्थ अनेक छन्। तिनका आध्यात्मिक देशना अलग छन्। शब्द र शैली भिन्न होलान् तर तिनको सार भने एउटै हो– आनन्द आफूभित्रै छ, यसको खोजी गर ! आनन्दमार्गको त्यो अन्तिम अवस्थालाई नै कैवल्य, मोक्ष वा निर्वाण भन्ने गरिन्छ। र त्यही अलौकिक मार्गको पदचापलाई पछ्याउन प्रेरणा दिने कृति हो– आनन्द संहिता।
मान्छेले आँटेका, ताकेका र गरेका समग्र यत्नको हेतु भनेको सुख नै हो। यस्तो काम गर्दा भोलि दुःख पाइन्छ भन्ने जान्दाजान्दै कसले पो त्यो काम आँट्ला र ? को होला र त्यो मूर्ख जसले जानाजान पीडाको नदीमा डुब्नलाई हाम फाल्छ ? मान्छेले जानाजान ती कामहरू गर्दैनन्। आशा त सुखकै लागि हुन्छ। तर किन मानिसहरूले त्यो सुखलाई पाइरहेका छैनन् जो उनीहरू चाहन्छन् ? बरु उल्टो दुःखको जञ्जालमा फस्दछन्। समग्रमा मानव जीवनको समस्या कथन पनि यही हो कि दुःख र सुखको यो अन्त्यहीन दुष्चक्रलाई कसरी बुझ्ने ?
आविष्कार त संसारमा धेरै थोकको भइसकेको छ। तुलनात्मक रूपमा हेर्ने हो भने हिजो हामीले भोगेका कयौं असुविधाहरूलाई प्रविधिले सुविधामा परिणत गरिदिएको छ। हामीले बेहोर्दै आएका कयौं समस्याहरूको समाधान विज्ञानले दिएको छ। कठिनाइका सट्टामा हामीले अनुकूलता, सुगमता र आराम पाइरहेका छौं। तथापि मान्छेका दुःख किन अझैसम्म पनि जिउँदै छन् ?
तपाईं सोच्नुहोला– सुख त अमेरिका, जापान, र युरोपका समृद्ध देशहरूमै पाइन्छ। जहाँ ठूला भवनहरू आकाश छुन तम्सिएका छन्, जहाँ प्रविधिले मानवका हरेक आवश्यकतालाई चुट्कीका भरमा पूरा गर्न सघाएको छ। तर, आँकडाले अर्कै कठोर यथार्थ प्रस्तुत गर्छ– संसारका गरिब भनेर चिनिएका देशहरूभन्दा धनी मानिएका देशहरूमा आत्महत्याका घटनाहरू अत्यधिक छन्। सत्य यही हो कि भौतिक विज्ञान र प्रविधिले सुविधा, सुगमता र लाभ दिन सक्दछ तर कैवल्य, मोक्ष वा निर्वाणको आविष्कार गरेको छैन, गर्न सक्दैन।
त्यसो हो भने, सुख कहाँ छ ? कैवल्य कहाँ छ ?
मोक्ष कहाँ छ ? निर्वाण कहाँ छ ? यो कसरी पाउन सकिन्छ ? यसैको उत्तरमा विस्तारित भएको छ गैरआख्यानिक दार्शनिक कृति आनन्द संहिता। यस पुस्तकको पहिलो र आधारभूत दृष्टि के हो भने सुख र आनन्द एकै कुरा होइनन्। किनभने सुखको चाहनाले दुःखको उत्पत्ति गर्छ। जस्तो गौतम बुद्ध भन्दछन्– इच्छा नै दुःखको मूल कारण हो। सुखको चाहना राख्नु पनि त एउटा इच्छा नै हो। यही चाहनालाई पुरा गर्न हामीले जे जो यत्न गर्दछौं यसैबाट निर्माण भएको हुन्छ दुःखका अनेकन जञ्जालहरू।
जीवनका दैनन्दिन मामिलाहरूमा, सम्बन्ध र व्यवहारका परिपाठहरूमा हामी अनेक ठाउँमा चुकेका हुन्छौँ। जानेको छु भन्दाभन्दै र गर्दागर्दै पनि कामको परिणामले हामीलाई अज्ञानी सावित गरिदिएको हुन्छ। लाभको आशाले गरिएका कतिपय कामहरू विलापमा टुंगिन्छन्। जसरी कमिलाहरू महको मिठासयुक्त जालमा गाडिएर मर्छन्। त्यसरी नै सुखको लालसाले हामीलाई दुःखको भुँमरीमा जाकिदिएको हुन्छ।
त्यसो भए इच्छा नै नराख्ने त ? अकर्मण्य भई बस्ने त ? त्यसो पनि होइन। बरु सुख के हो चिनेर काम गर्ने। दुःख के हो बुझेर यत्न गर्ने। जस्तो बुद्ध भन्दछन्– अप्पो दीपो भवः। अनि आनन्द के हो त्यसको खोजी गर्ने। जस्तो, ‘आनन्द संहिता’का अनुसार, दुःखको उल्टो अवस्था सुख हो, र सुखको उल्टो अवस्था दुःख। तर आनन्द भनेको यस्तो अवस्था हो, जसको विपरीतमा केही छैन। आनन्दमा केवल आनन्द मात्रै छ। र यसको संप्रप्ति केवल कैवल्य, मोक्ष वा निर्वाणमा मात्रै सुरक्षित छ।
पाठकहरूले यो कृतिलाई एक स्वसहयोगी पुस्तकको रूपमा ग्रहण गर्न सक्नुहोला तर यो त्यतिमा मात्रै सीमित छैन। आनन्द संहिताको व्याख्या मान्छेका सामान्य दुःखका चर्चासँगै सुरु हुन्छ र यसले पाठकलाई बोध र बुद्धत्वतर्फ लिएर जाने कोसिस गर्दछ। बुद्ध दर्शन र उपनिषद्को सारभूत तŒव खिच्ने चेष्टा यस पुस्तकले गरेको छ। पुस्तकको विधामा यसलाई दर्शनशास्त्र भनिएको छ। सत्य हो यो पुस्तक आध्यात्मिक दर्शनमा आधारित छ। यसले तपाईंको आनीबानी, व्यवहारलाई सुधार्न र उन्नत बनाउन मद्दत गर्दछ।
ओशोले कृष्णलाई प्रथम मनोवैज्ञानिक-मनोचिकित्सक भनेका छन्। आनन्दको वा भनौं निर्वाणको केन्द्रीय तŒव भनेकै मन हो। शंकराचार्यका अनुसार मन मानिसको एक अन्तःकरण हो जसमा बुद्धि, चित्त र अहंकारसमेत पर्दछन्। यसलाई उनले अन्तःकरण चतुष्टयको नाम दिएका छन्। सुख र दुःखादी सारा विषयको जड मनमा नै गएर जोडिएको छ। र मानव मन काम, क्रोध, द्वेष, ईष्र्या, लोभ, रागादी क्लेशमा फसेको छ। क्लेशले नै चित्तलाई अस्वस्थ बनाएको हुन्छ। शरीर अस्वस्थ भए चिकित्सककहाँ गइन्छ तर क्लेशयुक्त रोगी मनलाई लिएर जाने कहाँ हो ? मनको रोगलाई केवल चलनचल्तीको मानसिक रोगमा मात्रै सीमित राख्न सकिँदैन। मन एक बृहत् अवधारणा हो। जसको असली उपचार बिना आनन्द सम्भव छैन। जसको निदान बिना निर्वाण सम्भव छैन। शंकराचार्यको निष्कर्ष पनि यही हो कि मन नै बन्धनको र मुक्तिको पनि कारण हो।
आनन्द संहिताले यही मानव मनलाई नै केन्द्रमा राखेर एक बृहत् चिरफार गरेको छ। जसमा कृष्णदेखि कार्ल रोजरर्ससम्मका मनोवैज्ञानिकहरूले प्रतिपादन गरेका दार्शनिक चिन्तनहरूलाई लेखकले उपयुक्त ढंगले प्रस्तुत गरेका छन्। जहाँ प्राचीन आध्यात्मिक दृष्टिसँगै आधुनिक मनोविज्ञानका पक्षहरू पनि समावेश छन्। पुस्तकको पानासँगै पाठक पनि आफ्नो अन्तःकरणतर्फ यात्रारत हुन पुग्दछन्। जसबाट पाठकले आफ्नो मनको स्वभाव, चाहना र द्वन्द्वलाई चिन्ने, बुझ्ने र परख गर्ने तरिका जान्नेछन्। जब मानिसले आफैंलाई राम्रोसँग बुझ्न थाल्दछ त्यसपछि उनीहरूले गर्ने व्यवहार र निर्णयहरू समेत सन्तुलित र विवेकपूर्ण हुन्छन्।
मन त आफ्नै हो। आफ्नै मनलाई आफूले जति अरू कसले पो बुझेको हुन्छ र भन्ने हामीलाई लाग्न सक्दछ तर जान्दाजान्दै पनि यसको असली स्वभाव जान्न भने बाँकी नै रहन्छ। जसरी तन आफ्नै भए पनि शरीर संरचनाका धेरै कुराहरू हामी जान्दैनौं। त्यसका लागि विधिवत् ज्ञान चाहिन्छ। त्यस्तै मनको वास्तविक स्वरूपलाई जान्न पनि सिद्ध विधिको आवश्यकता पर्दछ। आनन्द संहिताको मूल वर्णन यही मनलाई जान्ने व्यावहारिक विधिमा केन्द्रित छ।
त्यसैले यस पुस्तकमा चित्तलाई एकछिन शान्ति दिने तर्क र उपदेशका कुरा मात्रै छैनन् स्वयंलाई अनुभव दिने प्रयोगात्मक ध्यान विधिहरू पनि छन्। लेखक आफुू पनि ध्यान–साधनाका दीर्घ–साधक भएको हुँदा यसका पद्धतिहरू प्रामाणिक छन्। पाठकहरूले योग्य मार्गदर्शकको साथमा रही पुस्तकमा प्रस्तुत ध्यान विधिहरूको अभ्यास गरी लाभ लिन सक्दछन्। जसबाट तपाईँ आफैंले आफ्नो मनस शक्तिको परख गर्न सक्नुहुन्छ। आफूभित्र सकारात्मक ऊर्जाको विकास गर्ने मार्ग पाउनु हुनेछ।
बजारमा थरीथरीका आख्यान–गैरआख्यानका पुस्तकहरू आइरहेका छन्। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषय वा स्वैरकल्पनामा आधारित भई लेख्ने धेरै लेखकहरू हुनुहुन्छ र त्यस्ता पुस्तकहरू पनि प्रशस्तै छन्। सफलताका सूत्र बाँड्ने व्यावसायिक स्वसहयोगी पुस्तकहरूको पनि कुनै कमी छैन बरु ती ज्यादा नै उपलब्ध छन्। तर त्यसभन्दा भिन्न मानव मनका विषयमा केन्द्रित भई यसको समस्या पहिचान र निदान दुवैलाई समेटेर मानिसलाई बोधतर्फ डोहो¥याउने पुस्तक भने दुर्लभ नै छन्। त्यसमा पनि बुद्ध दर्शन र उपनिषदका सारभूत कुराहरूलाई यति सरल भाषामा व्यक्त गरी आम पाठकले बुझ्ने र अँगाल्न सक्ने गरी पुस्तक तयार गर्नु झनै कठिन काम हो। यो कठिन कामलाई मूर्तरूप दिने लेखक घनश्याम खड्काको प्रयत्नलाई साधुवाद भन्नैपर्छ।
कतिपयको लेखनको उद्देश्य सामाजिक परिवर्तन भन्ने हुन्छ। तर समाज एकै चरणमा परिवर्तन हुने होइन। समाज आफैंमा अमूर्त अवधारणा हो। व्यक्तिको चेतनामा परिवर्तन भएर नै त्यसले समाजमा प्रभाव पार्ने हो। आफैं समस्यामा परेकाले होइन, समाधानमा भएको व्यक्तिले नै सामूहिक भलाइका लागि योगदान गर्न र सकारात्मक परिवर्तनको प्रेरणा दिन सक्दछन्।
त्यसैले सिद्धार्थ गौतम समाज होइन। व्यक्ति हो। जब उसको चेतनामा परिवर्तन आउँछ अनि बन्दछ गौतम बुद्ध। बुद्धको माध्यम भएर नै बन्ने हो सारा बुद्ध समाज। भन्ने गरिएका समाजका समस्या भनेका वास्तवमा व्यक्तिकै समस्याका विस्तार हुन्। रोगी–रुग्ण व्यक्तिहरूले बनेको समाजको समस्याको निदान सीधै सामाजिकतामा खोजेर हुँदैन। यस पुस्तकले पाठक समाजमा एउटा भिन्न दार्शनिक बहस वा भनौं नूतन बौद्धिक विमर्शको आधार निर्माण गरिदिएको छ।
आनन्द संहिताको ध्येय पनि उपचारको सुरुवात व्यक्तिबाटै हुनुपर्दछ भन्ने हो। व्यक्तिको उपचारको शुरुवात उसको मनबाट हुनुपर्दछ भन्ने हो। यसैले एउटा दार्शनिक निबन्धको रूपमा यो केवल व्यक्तिको जीवनमा मात्र होइन समाजको संरचना, सोचाइ र चेतनामा समेत दीर्घकालीन प्रभाव पार्ने कृति हो। कुनै दिव्य औषधि झैं हितकारी यो पुस्तक कुनै एक पुस्ताका लागि मात्र नभएर सबै उमेर समूहका हो। र अन्तिममा यसको निष्कर्ष पनि यही हो कि अरूलाई पढ्यौं पटकपटक, आफ्नै मनलाई पढौं यस पटक ! अस्तु।