भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन्। गणेशमान सिंह ११० औं जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा समग्रम मुलुकको विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका हुन्।
मुलुकभित्रै भाग्य र भविष्य सुनिश्चित छ भन्ने जनताको चाहनालाई साकार पार्दै भरोसा जगाउन सक्नु अहिलेको आवश्यकता रहेको उनले बताए । उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको धारणा राखे।
त्यस्तै उनले अवसरबाट बञ्चित, गरिब र पिछडिएका जनताको आवाज र असन्तुष्टिलाई नीति एवम कार्यक्रममा समावेश गर्नुपर्ने बताए। नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनको भनाई छ।
कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका थिए।