एमालेबाट ग्रामथानको अध्यक्षमा तुलसीराम
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट तुलसीराम विश्वासले टिकट पाएका छन्।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने भएको हो। एमाले नेताहरुका अनुसार विश्वास २०६८ अघिसम्म विदेशमा थिए। विदेशबाट फर्किएर पार्टीमा सक्रिय भएका उनले अहिले अध्यक्षको टिकट पाएका छन्।
एमालेको शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो। बैठकले देशभरका उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको नेताहरुले बताएका छन्।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने विश्वासलगायत ३ जनाको नाम सिफारिस गरेर पार्टीको प्रदेश कमिटीमा पठाइएको जानकारी दिए। एमालेले विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम सिफारिस गरेको थियो।
पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा जिल्लाले गरेर पठाएको सिफारिस जस्ताको तस्तै केन्द्रमा पठाइएको बताउँछन्। प्रदेशले केन्द्रमा पठाएपछि सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो। ग्रामथानको अध्यक्षमा एमालेबाट ११ जना आकांक्षी थिए।
नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएको थियो। गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो।
गत चुनावमा गच्छदारले ७ हजार ६ सय ५ मत पाएका थिए। उनका निकटम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत मात्रै ल्याए। २०७४ को निर्वाचनमा विजयी भएका एमालेका शिवनारायण माझी थारु २०७९ मा भने गच्छदारसँग पराजित भएका हुन्।