फिजियोथेरापीबाट गुणस्तरीय स्वास्थ्य
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ। यसैगरी, स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने पनि व्यवस्था गरेको छ। नागरिकको स्वास्थलाई गुणस्तरीय वनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरेको छ। जसबाट दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ।
नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची छ। नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, फिजियोथेरापी, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ।
सोह्रौं योजनाको अन्तसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना, पाँच वर्षमुनिका बालकालिकाको पुड्कोपनको अवस्था १७ प्रतिशत हासिल गर्ने लक्ष्य छ। यस्तै, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या प्रतिलाख जनसंख्यामा ५ जना, पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत, स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसंख्यामा ४.६४ जना छ। स्वास्थ्य जन्ममा आबद्ध जनसंख्या ७० प्रतिशत, स्वास्थ्य बीमा कार्यक्रममा नविकरण दर ९० प्रतिशत, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८ प्रतशित रहेको पाइन्छ। ३० मिनेटको दुरीमा स्वस्थ्य संस्था भएको घरधुरी ८६ प्रतिशत, पाँच वर्षमुनिका बालबालिकामध्ये जन्मदर्ता गरिएको बालबालिकाको प्रतिशत भने १०० छ।
सो लक्ष्य हासिल गर्न आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य बीमा प्रणालीलाई पुनर्संरचना गरी सवल बनाउने, समग्र स्वास्थ्य प्रणालीको उत्याधुनिक र उच्चतम् प्रविधिकरण गर्ने, गुणस्तरीय रणनीति रहेको पाइन्छ। भरपर्दाे तथा एकीकृत स्वस्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रबद्र्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने पनि रणनीति छ। यसैगरी, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने, औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने पनि छ। साथै, स्वाथ्य प्रणालीको सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने, विद्यमान सञ्चालनमा रहेका कार्यक्रमहरू पुनः मूल्यांकन र परिमार्जन गर्ने छ।
सबै रोग औषधि खाएर मात्र राम्रोसँग ठिक नहुन सक्छ। कतिपय रोग औषधि नखाई व्यायाम वा अन्य विधिबाट आराम गराउन सकिन्छ। औषधिको प्रयोग बिना व्यायाम वा विद्युतीय उपकारणका माध्यमबाट गरिने उपचार विधि नै फिजियोथेरापी हो। विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या, कुँजोपनले मानवलाई क्रियाशीलको दक्षता र प्रयासबाट बिमुख गर्न सक्छ। त्यसकारण शरीरको शारीरिक गतिशीलतालाई कायम राखी गुणस्तरीय स्वास्थ राख्न फिजियोथेरापीको आवश्यकता हुन्छ। फिजियोथेरापिष्टहरूले व्यायामका माध्यमबाट शरीरका मांसपेशीलाई सही अनुपातमा क्रियाशील गराई रोग तथा असरलाई निको पार्न मद्दत गर्छन्।
सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगले रोयल इन्स्टिच्युट अफ जिम्न्यास्ट खोलेर फिजियोथेरापीको सुरुवात गरेको पाइन्छ। सो संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा रोक्न मसाज÷मालिस, सुधारात्मक व्यायाम अनि कसरतको सुरुआत गरेको पाइन्छ। सन् १९९४ मा बेलायतमा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भने फिजियोथेरापीको पहिलो कलेज अमेरिकाको वासिङ्टनमा वाल्टर रिड आर्मी अस्पतालमा भएको थियो। प्रथम विश्वयुद्धताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुआत भएको थियो।
नेपालमा फिजियोथेरापीको इतिहास हेर्दा नयाँ चिकित्सा पद्धतिको रूपमा केही दशक अगाडि मात्र थोरै निजी अस्पतालले औपचारीक सुरुवात गरेको पाइन्छ। विस्तारै हाल फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू तीव्र रूपमा बढिरहेका छन्। सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत फिजियोथेरापी गरेको पाइन्छ। सन् १९८३ मा आईओएमले फिजियोथेरापीलाई एसएलसी (हाल एसईई) पछिको ३० महिने कोर्सको रूपमा मान्यता दिएको थियो।
सन् २००२ पछि धुलिखेल मेडिकल इन्स्टिच्युटले फिजियोथेरापीलाई औपचारिक सुरुआत गरेको पाइन्छ। सशस्त्र द्वन्द्वपश्चात २०६३ सालपछि अंगभंग र घाइतेको पूर्ववास र पुनस्र्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालमा फिजियोथेरापीको प्रयोग अत्याधिक गरेको पाइन्छ। हाल विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस, सीटीईभीटीअन्तर्गतका तालिम केन्द्रहरूमा फिजियोथेरापी विषयहरूको अध्यापन सञ्चालन भई आवश्यक जनशक्तिको उत्पादन भई सेवा प्रदान भइरहेको पाइन्छ।
वास्तविक रूपमा औषधिको प्रयोग गरी रोगको निदान गर्दा ‘साइड इफेक्ट’ हुन्छ। जसले गुणस्तरीय स्वास्थ्यमा असर पर्छ। फिजियोथेरापीमा औषधि प्रयोग हुँदैन साथै शरीरका अंगहरू मजबुत बनाउने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ। फिजियोथेरापी हरेक उमेर समूहका मानिसलाई प्रभावकारी बनेको छ। फिजियोथेरापीबाट विभिन्न प्रकारका बिरामी जस्तै प्यारालाइसिस, बाथ, ढाड दुख्ने, मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका, श्वासप्रश्वासका समस्या, मांसपेशीको समस्या, आङ खस्ने, जन्मजात देखिएका समस्या, अपांगतासम्बन्धी आदि विरामीलाई उपचार गराउँदा प्रभावकारी हुने गरेको पाइन्छ। फिजियोथेरापीबाट मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन्छ। शारीरिक कसरत गर्दा मानसिक स्वास्थ्यमा समेत सुधार भई आत्मबल बढ्छ। दैनिक रूपमा फुर्तिलो भई गुणस्तरीय जीवनयापन गर्न मद्दत मिल्छ।
निष्कर्षमा भन्नुपर्दा, मानवलाई स्वस्थ राख्न फिजियोथेरापी महत्वपूर्ण भूमिका रहन्छ। हाल विशेष गरी सहरी क्षेत्रमा जथाभावी रूपमा फिजियोथेरापी केन्द्रहरू स्थापना गरी सोसम्बन्धी विज्ञबाहेक अन्य व्यक्तिले पनि सो कार्य गराएको जनगुनासो छ। यसोगर्दा भने बिरामीको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ। सोको आवश्यक व्यवस्थाका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायले अनुगमन तथा निरीक्षण गरी मान्यता प्राप्त प्रशिक्षण केन्द्र तथा शिक्षण संस्थाबाट प्रशिक्षित विज्ञद्वारा मात्र सो कार्य गर्ने व्यवस्था मिलाई मानव स्वास्थ्यलाई गुणस्तर राख्नु आजको आवश्यकता हो। स्थानीय सरकारले पनि स्थानीय निकायअन्तर्गतका स्वास्थ्य संस्थामा पनि यी सेवा सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य राख्न मद्दत गर्न आवश्यक छ।