पञ्जाब र दिल्ली विश्वकै प्रदूषित सहर, कस्तो छ नेपालको अवस्था ?
काठमाडौं : हाल एक्यूआइ (इयर क्वालिटी)इन्डेक्स अनुसार पाकिस्तानको पञ्जाब र भारतको नयाँ दिल्ली क्रमश:विश्वको पहिलो र दोस्रो धेरै प्रदूषित सहर बनेको छ।
यो समाचार तयार पार्दा पञ्जाबको एक्यूआइ ६१३ पुगेको छ। यसलाई खतराको अवस्था मानिन्छ।
त्यस्तै दिल्लीको एक्यूआइ स्तर २७५ पुगेको छ। यो निकै खराबको श्रेणीमा पर्छ। तेस्रो श्रेणीमा चीनको बेइजिङ रहेको छ। त्यहाँको एक्यूआइ १९३ रहेको छ। यसलाई इन्डेक्समा अस्वस्थकर अवस्थामा राखिएको छ।
त्यस्तै आज नेपालको सबैभन्दा प्रदूषित सहर काठमाडौं बनेको छ। काठमाडौं एक्यूआइ स्तरमा १७ औं स्थानमा छ। काठमाडौंमा हाल एक्यूआइ १२२ रहेको छ। बिरामी वा लक्षित वर्गका लागि यो प्रदूषण हानिकारक मानिन्छ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आइतबार दिल्लीका लगभग सबै क्षेत्रहरूमा वायु प्रदूषणको स्तर 'खराब' देखि 'अत्यधिक खराब'को श्रेणीमा छ।
भारतबाहेक पाकिस्तानले पनि वायु प्रदूषणको चर्को असरको सामना गरिरहेको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा हावाको स्तर सबैभन्दा खराब भएको छ। वायु प्रदूषणका कारण पाकिस्तानको पञ्जाबमा सरकारले विद्यालय बन्द गर्न आदेश दिएको छ।
हरेक वर्ष यो समयमा धान काटेर पराल तथा ठुटामा आगो लगाउने हुनाले भारत पाकिस्तान लागयत नेपालका धेरै सहरहरूमा वायु प्रदूषण बढ्ने गरेको छ।