देवरको खुकुरी प्रहारबाट भाउजू गम्भीर घाइते
विराटनगर : मोरङको कानेपोखरीमा एक जना व्यक्तिले आफ्नै भाउजूमाथि शनिबार राति खुकुरी प्रहार गरेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले कानेपोखरी गाउँपालिका–४ बयरवनका वसन्त सार्कीले खुकुरी प्रहार गर्दा भाउजू ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएको बताए। उनका अनुसार खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ। हात छिन्नै लागेको छ।
गम्भीर अवस्थाकी उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घरयासी विवादका क्रममा राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको जोशीको भनाइ छ। प्रहरीले घरयासी विवादका बारेमा थप खुलाएको छैन।
घटनामा संलग्न वसन्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी जोशीले दिए।