नेपालको कसिलो बलिङ, थाइल्याण्ड १०६ रनले पराजित
काठमाडौं : आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको छ। युएईमा आज भएको खेलमा नेपालले कसिलो बलिङ गर्दा थाइल्याण्ड १०६ रनले पराजित भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले ५३, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाइन् । अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्।
यसैगरी जितका लागि १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्डका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्याण्डका ब्याटरले १६ ओभरमा ३३ रन बनाएर अलआउट भए। नेपालका लागि कुशुम गोदारले ३ विकेट, रिया शर्मा र रचना चौधरीले २/२ विकेट र पूजा महतोले १ विकेट लिइन् ।
यस अगाडि पनि नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अर्को खेल मंगलबार कुवेतसँग खेल्ने छ । प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्ड रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।