भारतीय गोर्खा बिग्रेड बचाउन नेपाल भारत दुवैले अग्निपथबारे तुरुन्तै वार्ता थाल्नुपर्छ : अशोक मेहता
पोखरा : भारतीय गोर्खा बिग्रेड बचाउन भारत र नेपाल दुवैले अग्निपथबारे तुरुन्तै वार्ता थाल्नुपर्ने भारतीय सेनाका अवकाश प्राप्त जनरल अशोक मेहताले बताएका छन्।
पोखरामा आइतबार भूपू सैनिक संगठन २/५ गोर्खा राइफल्सको १३८औं जन्मजयन्ती समारोहमा सहभागी हुन पोखरा आएका भारतीय सेनाको अवकाश प्राप्त मेजर जनरल मेहताले नेपालबाट भर्ती रोकिएपछि नागा, गढवाल, कुमाउँबाट भर्ती गराउन सुरु भएको बताए। नेपालबाट मान्छे नपाएर गढवाल, कुमाउँतिरबाट भर्ती गराउन लागेको उनको भनाइ छ।
सदियौंबाट नेपाली भर्ती भइरहेको बताउँदै मेहताले तुरुन्त भर्ती खोल्नुपर्नेमा जोड दिए। नेपालको नागरिक इण्डियन आर्मीमा भर्ती भएर इण्डियन आर्मीसँगै चीन तथा पाकिस्तानको बोर्डरमा आफ्नो रगत बगाएको बताए।
गोर्खा भर्ती किन बन्द भयो ? के कारणले खुल्न सकेन भन्ने सञ्चारकर्मीको जिज्ञासामा मेहताले आफू प्रधानमन्त्री भए भने गोर्खा भर्ती खोलिदिने बताए। नेपाल र भारतको सम्बन्ध भिन्नै रहेकोले अग्नीबिरमा सामेल गर्न उचित नरहेको उनको भनाइ छ।
अग्नीबिर भारतीयका लागि ४ वर्ष रहेको र नेपालका लागि ७ वर्ष गर्नसक्ने पनि उनले बताए। ‘२५ प्रतिशतको जग ५० प्रतिशत राख्न सक्छ,’ उनले भने, ‘यदि नेपाललाई अग्नीबिरबाट अलग गरिदियो भने त्यो झन राम्रो हो,’ उनले भने।
भारत सरकारलाई उनले नेपालको भर्तीका लागि काम अघि बढाउन सुझाव दिए। यसै गरी नेपाल सरकारलाई भर्ती रोकिएको विषयमा भारत सरकारसँग बातचित गर्न उनले सुझाए। भर्ती रोकिनु अघिसम्म वार्षिक १२ सय देखि १५ सयसम्म नेपाली भारतीय सेनामा भर्ती हुने गरेको उनले सुनाए।
शुभकामना आदानप्रदान कार्यक्रम गरी जन्मजयन्ती मनाइएको थियो। २/५ गोर्खा राईफल्स (अग्रिमवल) पूर्वा सैनिक पोखराका अध्यक्ष कप्तान सुदर सिंह थापाले अतिथिलाई स्वागत गरेका थिए।
भारतीय पेन्सन क्याम्प पोखरा अफिसर इन्चार्ज कमाण्डर कनेल प्रशान्त बगेलले बिरामी परेपछि कार्ड बनाउनुभन्दा बेलैमा स्वास्थ्य कार्ड बनाउन अनुरोध गरे। पोखराका पाँचवटा अस्पतालमा भातीय पूर्व सैनिकहरूका लागि कार्ड बनाएपछि निःशुल्क उपचार हुने गर्दछ। यसैले बेलैमा स्वास्थ्य कार्ड बनाए स्वास्थ्य उपचार सेवा लिन सहज हुने उनले बताए।
भारतीय पेन्सन क्याम्प पोखराका डा आवरनी कुमार अशोकले बेलैमा उपचार गरे जटिल रोग पनि सन्चो हुने भएकोले नियमित स्वास्थ्य चेकजाँच गर्न भूपू सैनिकहरूलाई अनुरोध गरे। २/५ गोर्खा राईफल्स (अग्रिमवल) पूर्व सैनिक पोखराका उपाध्यक्ष क्याप्टेन सूर्य प्रकाश गुरुङ र सुवेदार कलरक दलबहादुर गुरुङले पनि संस्थाका गतिविधिका बारेमा बोलेका थिए। कार्यक्रममा मनोरञ्जनात्मक नृत्य र गीत प्रस्तुत गरिएको थियो।