उजाडिएको नयाँगाउँ : यसपालि त मनै फाट्यो, कहाँ जाने, कसरी बाँच्ने ?

उजाडिएको नयाँगाउँ : यसपालि त मनै फाट्यो, कहाँ जाने, कसरी बाँच्ने ?

कसैको गोठ रित्तिएको छ। घर भत्किएकाहरू कोही आफन्तको घरमा आश्रय लिएका छन्। कोही डेराजीवन बिताउन थालेका छन्।

नयाँगाउँ (पनौती)  : भत्केको घरमाथि थचक्क बसे। मुखबाट बोली नै फुटेन। बरर आँसु झारे। अनि, घरको भग्नावेश हेर्दै टोलाए। एकछिन भक्कानिए। अनि, भने, ‘कहाँ गएर बाँच्ने होला ?,’ पनौती–२, नयाँगाउँका गणेश दाहालले आँसु झार्दै भने। 

०७२ को भुइँचालोले दाहालको घर क्षतिग्रस्त बनायो। सरकारी अनुदान र ऋणपान गरेर जतोतसो घर बनाए। त्यही घर पनि असोज १२ को पहिरोले बाँकी राखेन। घर त लियो, लियो। दुई महिने नातिनी प्रिन्सा र बुहारी गोपिनीलाई पनि पहिरोले पुर्‍यो। कहिले भूकम्प त कहिले पहिरोले घरपरिवार लैजान थालेपछि अब त गाउँ नै छोड्नुपर्ने हो कि भन्ने पिरलो दाहाललाई छ। ‘दुवै जना छोराले अब यहाँ नबसौं। चटक्कै छोडेर अन्यत्रै सरौं भनिरहेका छन्,’ स्थलगत रिपोर्टिङमा गएको अन्नपूर्ण पोस्ट्को टोलीसँग दाहालले दुःखेसो पोखे, ‘अन्य ठाउँमा गएर पनि के गर्ने होला ? के गरेर खाने होला ? चिन्तै चिन्ता छ।’ 

काठमाडौंबाट दक्षिणपूर्वमा अवस्थित पनौती–२ को नयाँगाउँका दाहाल घरवाविहीन छन्। पारिवारिक सदस्य गुमाएको पीडा आलो नै छ। दाहालको परिवार मात्र होइन, सिंगो नयाँगाउँ शोकमा छ। दर्जनौं घर ढलेका छन्। कतिपय चर्किएका छन्। क्षतिग्रस्त घर छोडेर कोही आफन्तकोमा आ श्रय लिएर बसेका छन्। कतिपय डेरामा छन्। यस वर्षका दसैं–तिहार त कसरी आए, कसरी गए ? गाउँलेले पत्तै पाएनन। शोकाकूल नयाँबस्ती उराठ लाग्दो छ। 

असोज १२, कालोदिन 

गत असोज १० गते रातिदेखि पानी पर्न सुरु भयो। तीन दिनसम्म पानी परेको पर्‍यै भयो। खोला, खोल्सामा माटोसहितको भल बग्न थाल्यो। असोज १२ गते बिहानदेखि नयाँगाउँको दर्जनौं ठाउँमा पहिरो खस्न थाल्यो। घरगोठ नै सोहोर्न थाल्यो। पहिरो र बाढीमा परेर पनौती नगरपालिका क्षेत्रका २० जनाले ज्यान गुमाए। गाउँलेहरू असोज १२ लाई कालोदिन भन्छन्।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले झन्डै ५ सय घर पूर्णरूपमा क्षतिग्रस्त भएको जानकारी दिए। उनका अनुसार दुई हजारभन्दा बढी पशुचौपाया पुरिए। पुरिएका पशुचौपायाका कारण पनौती–२, नयाँगाउँमा दुर्गन्ध फैलिएको छ। गाउँलेहरू कष्टकर जीवन बिताइरहेका छन्। बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएपछि सरकारले यो क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। पनौती नगरपालिकाले विस्थापित र संकटमा परेका परिवारलाई पुनस्र्थापना गर्न र क्षति भएका पुनर्संरचना पुनर्निर्माणका लागि सहयोग गर्न अपिल गरेको छ। 

मुलुकमा वर्षाको मापन गर्न थालिएको ५४ वर्ष भयो। काठमाडौं उपत्यकामा १७ ठाउँमा वर्षातको मात्रा नाप्ने केन्द्र छ। मनसुन बाँकी नै रहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभागले भीषण वर्षा हुन सक्ने भएकोले सजग रहन सूचना जारी गरेको थियो। तर, वर्षात नहुँदै जोखिमको सम्भावनाका बारेमा कसैले हेक्का राखेन। काठमाडौंमा असोज ११ गते ‘रेकर्ड ब्रेकिङ वर्षात’ नै भयो। क्षणभरमै विद्युत् र सञ्चार सेवा अबरुद्ध भए। 

त्रसित जनजीवन
रोशी खोलाको उद्गमस्थल हो, पनौती—२। यहीं खोलाले कतिपयको घरबास बगायो। साढे ४ हजार जनसंख्या रहेको वडा नम्बर २ का कतिपय घर खण्डहर जस्तै छन्। पहिरो प्रभावित माथिल्लो भेगका घरहरू भत्किएका र चर्किएका छन्। जमिनमा धाँजा फाटेको छ। चर्किएका घरमा बसेकाहरूमा भय र त्रास छ। 

काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा बस्ती नै विस्थापित गर्नुपर्ने अवस्था सिर्जना हुनुमा ढुंगा खानी उद्योगको जथाभावि ढुंगा उत्खनन र क्रसर उद्योग नै मुख्य कारक रहेको बताउँछन्।

स्थानीय बासिन्दाको जीवन नै अस्तव्यस्त गरायो, पहिरोसँगै रोशी खोलाले। पहिरो र खोलाको बाढीले कैयौंको घरखेत बगायो। बीपी राजमार्गलाई नै क्षतविक्षत बनायो। पहिरोका कारण नयाँबस्तीका दाहाललगायत ६० जनाको घर पूर्णरूपमा क्षतिग्रस्त भए। पनौती नगरपालिकाको बढी प्रभावित क्षेत्रमा पर्छ, वडा नम्बर २ को नयाँबस्ती।

 null

पहिरोले क्षतिग्रस्त घरमाथि बसेर भक्कानिँदै पनौती–२ नयाँगाउँका गणेश दाहाल । तस्बिर : अशोक दुलाल

‘पहिरो नगएको बस्ती नै छैन। सबै गाउँलेहरू पहिरो प्रभावित छन्। घरहरू जोखिममा छन्। ‘बस्न लायक छैनन,’ वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी भन्छन्, ‘बाढी र पहिरोबाट जोगिएका घरहरू पनि क्षतिविक्षत छन्।’

जनधन र अन्य क्षतिको यकिन विवरण संकलनमा स्थानीय जनप्रतिनिधिहरू खटिएका छन्। डेढ महिना बित्तिसक्दा पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन। वडाध्यक्ष अधिकारी भन्छन्, ‘६० वर्षको भएँ। यसपटक जस्तो भीषण र अविरल रूपमा वर्षा भएको योभन्दा पहिले थाहा पाइन्।’ 

यसपालि त मनै फाट्यो

पनौती–२ को नयाँबस्तीलाई ९ वर्ष अघिको भूकम्पले तहसनहस पारेको थियो। घर ढले, तर जमिनमा धाँजा फाटेका थिएनन्। पहिरोले भने आँगन नै चिराचिरा परेका छन्। दर्जनौंस्थानमा गएको पहिरोले सडक अबरुद्ध छ। पानीका पाइपहरू फुटेका छन्, बस्तीमा खानेपानीको अभाव छ। जनधन गुमाएका परिवार शोकमा छन्। कसैले परिवारका सदस्य गुमाएका छन्। कसैको गोठ रित्तिएको छ। घर भत्किएकाहरू कोही आफन्तको घरमा आश्रय लिएका छन्। कोही डेराजीवन बिताउन थालेका छन्।

पनौती–२ का वडाध्यक्ष अधिकारीका अनुसार, वडाका तीन जनाको पहिरोले पुरेर ज्यान गयो। ३५ वटा बाख्रा, ९ वटा भैंसी र ७ वटा गाई पहिरोमा पुरिएका थिए। ‘गोठसँगै पहिरोले चौपायालाई पनि पुर्‍यो। अझैं निकाल्न सकिएको छैन,’ अधिकारीले भने। चौपाया पुरिएको स्थानमा पुग्दा दुर्गन्ध आइरहेको थियो।

नयाँ बस्तीको जमिन चिराचिरा परेको छ। पहिरोले घर चर्किएका कारण गाउँलेहरूको मन छियाँछियाँ भएको छ। ‘बिहान उठ्दा त पहिरोले आँगन लगिसकेको रहेछ। झन्न ज्यान जोगिएछ, हतारहतार रुझ्दै घरबाट निस्क्यौं, विस्थापित सुमन आचार्यले भने, ‘घरबाट निस्किएको केहीबेरमै पछाडीपट्टि पहिरो गयो। केहीबेर ढिलो गरेको भए एकै चिहान भइने रहेछ।’ असोज १२ गते बिहान २० दिनको छोरा बोकेर बाहिर निस्केको घटना सुनाउँदा सुनाउँदै २९ वर्षीय आचार्यको गला अवरुद्ध भयो। आँशु पुछ्न थाले। कुन ठाउँ जाउँ , कसलाई सुनाउँ ? 

घर र जमिन चिराचिरा परेपछि युवाहरू गाउँ छोड्न अभिभावकलाई ‘आग्रह’ गरिरहेका छन्। तर, बुढापाकाहरू पुख्र्यौली थलोको मायाले तत्कालै गाउँ छोड्न मानिरहेका छैनन्। कृषि मुख्य पेसा भएका गाउँलेका लागि नयाँबस्तीमा बस्न सक्ने अवस्था छैन। तर, कुन ठाउँ जाने ? के गर्ने ? यस्ता प्रश्नले स्थानीयवासी अनिर्णयको बन्दी छन्। 

बाढी–पहिरोले बासस्थान क्षतविक्षत पारेका पीडितहरू पनि स्थानान्तरण हुन चाहन्छन्। भाडा तिरेर डेरामा कतिञ्जेल बस्ने ? ’ बाढी–पहिरो प्रभावितहरूको सामूहिक प्रश्न छ, ‘अरू ठाउँमा घर बनाउन जग्गा छैन। जग्गा किनेर घर बनाउन सक्ने स्थिति छैन। अब हामी के गर्ने ? कसो गर्ने ? ’ 

अब सार्वजनिक पर्ति जग्गा खोज्नुपर्छ। घरबास भत्केका, क्षतिग्रस्त भएका विस्थापितहरूलाई सरकारी पर्ति जग्गामा स्थानान्तरण गर्नु जरुरी छ।
गोकुल बास्कोटा, सांसद 

ज्यान जोगाउन हतारहतार घरबाहिर बाहिरियौं। केहीबेर मै घरको पछाडिपट्टि पहिरो गयो। ढिलो गरेको भए एकै चिहान भइने रहेछ।
सुमन आचार्य, पीडित

पहिरोमा परेर बुहारी र नातिनीले ज्यान गुमाए। घर भत्कियो। छोराले घरबास छोडौं भनिरहेको छ। 
गणेश दाहाल, पीडित

तीन परिवार छुुट्टाछुट्टै घरमा बस्थ्यौं। घर भत्केपछि एकै ठाउँमा संयुक्त बस्न थालेका छौं। राति निद्रा पर्दैन। डर लाग्छ।
सानुमैया सापकोटा, पीडित

राहत वितरण गर्‍यौं। पीडितहरूको माग एकीकृत बस्तीमा स्थानान्तरण गर्दिनुपर्‍यो भन्ने छ। प्रदेश/संघीय सरकारले चासो र चिन्ता देखाउँदै सहयोग गर्नुपर्छ।
पुरुषोत्तम अधिकारी - वडाध्यक्ष, पनौती–२ नयाँबस्ती 

बाढी–पहिरो गएपछि उद्धारका लागि वडाध्यक्ष अधिकारीको अगुवाइ गरेका थिए। तत्कालका लागि खाद्यान्न सहित ओढ्ने ओच्छ्याउने व्यवस्था गरिएको थियो। पहिरोले अबरुद्ध सडक पन्छाउँदै वडाअध्यक्ष अधिकारी चाउचाउ, चिउरा बोकेर घरदैलोमा पुगेको स्थानीयहरू बताउँछन्। ‘चिनजानेका र मनकारी समाजसेवीबाट सहयोग माग्यौं। अन्धकारमा रहेका गाउँलेलाई तीन लाख बराबरको सोलार बत्ती बाँड्यौं। सीमित साधन स्रोतका बाबजुत तत्कालका लागि खाद्यान्न लगायतका राहत बाँड्यौं,’ वडाध्यक्ष अधिकारी भन्छन्, ‘जसरी भए पनि यो ठाउँबाट एकीकृत बस्तीमा स्थानान्तरण गर्दिनुपर्‍यो भन्ने पहिरो प्रभावितको माग छ । दिगो रूपमा पुनस्र्थापनाका लागि प्रदेश र संघिय सरकारले सहयोगको आसमा छौं। गाउँलेहरू घरमा ढुक्कसँग बस्ने अवस्था छैन।’

विपद् प्रभावितको उद्धार र राहतका लागि विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौं संशोधन ) मापदण्ड,२०७७ जारी भएको छ। मापदण्डमा भनिएको छ, ‘जोखिममा परेका बस्तीको पहिचान गरी त्यस्ता बस्तीको संरक्षण तथा बस्ती स्थानान्तरण लगायतका उपयुक्त व्यवस्था गर्नका लागि आवश्यक अध्ययन, अनुसन्धान, योजना तथा कार्यक्रम निर्माण, बजेट तथा स्रोत साधनको व्यवस्था संघ, प्रदेश र स्थानीय तहले गर्नुपर्ने छ। यस्ता बस्तीको जोखिम घटाउनेसम्बन्धी कार्यक्रम कार्यान्वयनको व्यवस्था गर्नुपर्ने छ।’ 

वडाध्यक्ष अधिकारीबाहेक अरू कोही आफ्ना पीडा र माग सुन्न नआएकोमा गाउँलेहरूको गुनासो छ । चुनावका बेला भोट माग्न आएका नेताहरू विपत्तिको बेला अनुहार नदेखाएकोमा आक्रोशित छन्। राज्यद्वारा भएको उपेक्षाले आक्रोशित एक पीडितले भनिन्, ‘अब चुनावमा भोट माग्न आउलान् नि ?’ काभ्रेमा पानीको स्थायी स्रोत नै क्षतिग्रस्त भएको छ। जहाँबाट बृहत् खानेपानी आयोजनाअन्तर्गत पनौती, बनेपा, धुलिखेलसम्म पिउने पानीको आपूर्ति हुन्थ्यो। अहिले स्थानीय बासिन्दालाई पानीको अभाव छ। 


क्रसरका कारण बस्ती नै क्षतविक्षत 

रोशी खोला आसपासमा छन्, अव्यवस्थित ढुंगा खानी र क्रसर उद्योग। विपत्ति निम्तिनु अघि रोशी खोलाभरी स्काभेटर, डोजर र ठूला ट्रकहरू निर्वाध चल्थे। रातभर डोजर, टिप्पर चलेको आवाजले सुत्नसमेत असहज हुन्थ्यो। 

nullपहिरोले चिरैचिरा पारेको नयाँगाउँ ।  

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी अधिक वर्षाका साथै ढुंगा खानी, क्रसर उद्योगहरूका कारण नै बस्ती विस्थापित हुन पुगेको बताउँछन्। काभ्रेपलाञ्चोक क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा पनि बस्ती नै विस्थापित गर्नुपर्ने अवस्था सिर्जना हुनुमा ढुंगा खानी उद्योगको जथाभावि ढुंगा उत्खनन र क्रसर उद्योग नै मुख्य कारक रहेको बताउँछन्।

ढुंगाखानीबाट निस्केको धुलोमाटो खोलामा फालिन्थ्यो। जसबाट खोला पुरिँदै गयो। निरन्तरको वर्षाले रोशी खोलाको बहाब फेरियो। बस्तीमा छिर्‍यो। यसकासाथै अव्यवस्थित सडक विस्तारले पनि पहिरो निम्त्याएको जानकारहरूको भनाइ छ।

सांसद बास्कोटाका अनुसार, प्राकृतिक विपत्तिले केही सन्देश पनि छोडेको छ। पहिरो र बाढीले विध्वंश निम्तिनुमा रोशी खोला किनार क्षेत्रमा रहेको ढुंगा खानी र क्रसर उद्योग पनि जिम्मेवार रहेको उनको भनाइ छ। स्थानीय बासिन्दा पनि सांसद बास्कोटाको 
भनाइमा सहमत देखिन्छन्। 

बाढी–पहिरोले मानवीय र भौतिक क्षति गरेको छ। यो अकल्पनीय विपत्ति यसअघि कहिल्यै नआएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन्। वि.स.२०११, २०२८ र २०३८ सालमा पनि बाढी–पहिरो आएको थियो। पहुँचवाला र प्रभावशाली व्यक्तिहरूले सञ्चालक रहेको ढुंगाखानी र क्रसर उद्योगप्रति स्थानीय बासिन्दा रुस्ट देखिन्छन्। ढुंगा खानीमा निर्वाध रूपमा चलेका क्रसर उद्योगकै कारण उठिबास लागेको पीडितहरूको गुनासो छ। सांसद बास्कोटा पनि क्रसर उद्योगहरू नै मुख्य जिम्मेवार रहेको बताउँछन्।

‘नयाँ गाउँको तलतिर ढुंगा खानी छ। त्यहाँ क्रसर उद्योगहरू छन्। क्रसर उद्योगमा चलेका मेसिनहरूले जमिन थर्काएको छ,’ सांसद बास्कोटा भन्छन्, ‘क्रसर उद्योग सञ्चालनको अनुमति दिनै हुने थिएन। बस्ती नै सिध्याउनुमा क्रसर उद्योग नै मुख्य कारक हुन्। राजस्वको लोभ गर्नुहुँदैन। खानी र पानीसँगै चल्दैन। पानीको संरक्षण गर्नुपर्छ।’

स्थानान्तरण कति सहज ? 
डेढ महिनाअघि कसैले कल्पनासमेत गरेका थिएनन्– ‘कुनै दिन थातथलो छोड्नु पर्ला भनेर।’ समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर नयाँबस्तीका बासिन्दा एकीकृत बस्ती भए तुरुन्तै घरबास छोड्न तयार छन्। 

बाढी–पहिरोकोबाट विस्थापितका लागि पुनस्र्थापना गर्न कार्यविधि बनाउने काम भइरहेको विपद् प्राधिकरणले जनाएको छ। त्यसका लागि विपद् प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण (मस्यौदा) कार्यविधि, २०७७ बनिरहेको प्राधिकरणको भनाइ छ। 

वनेपाको वडा नं १ र २ का मात्रै झन्डै दुई सय परिवारलाई स्थानान्तरण गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ। वडा नं २ ले मात्रै झन्डै २ करोड २० लाख रुपैयाँको बजेट विपद्मा खर्च गर्ने निर्णय गरेको छ। ‘स्थानान्तरण गराउनका लागि कसरी प्रक्रिया अघि बढाउने भन्ने सम्बन्धमा ठोस निष्कर्ष निस्किसकेको छैन। अन्यौल नै छ। यहाँ अहिलेसम्म सरकारी पर्ति जमिन पाइएको छैन,’ वडा नं २ का वडाध्यक्ष अधिकारी थप्छन्, ‘स्थानीय सरकारले मात्रै गर्न सक्ने अवस्था छैन। प्रदेश र संघीय सरकारले पनि चासो र चिन्ता देखाउनुपर्छ। सहयोग गर्नुपर्छ।’ 

पहिरो र बाढी प्रभावित क्षेत्र काभ्रेपलाञ्चोक क्षेत्र नं २ का का सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाका अनुसार घरघडेरी गुमाएका विस्थापितका लागि राज्यले जमिन उपलब्ध गराउनुपर्ने बताउँछन्।

‘नागरिकप्रति सरकार जवाफदेही हुनुपर्छ। विस्थापितलाई सुरक्षित बसोबासका लागि स्थानान्तरण गर्नुपर्छ,’ सांसद बास्कोटा भन्छन्, ‘सरकारी सार्वजनिक पर्ति जग्गा खोज्नुपर्छ। सकेसम्म सोही वडामा त्यो नभएमा पायक पर्ने वडामा एकीकृत बस्तीको व्यवस्था गर्नुपर्छ। गरिआएको पेसा पनि गर्न सक्ने/मिल्ने गरी व्यवस्था गर्नुपर्छ। सरकारले जमिन किनेर दिने भन्ने हुँदैन। अब जथाभावि ढुंगा खानी उत्खनन कार्य रोक्नुपर्छ।’


बसोबासका लागि अनुदान मापदण्ड बन्दै छ 

- डा. डिजन भट्टराई, 

प्रवक्ता, राष्ट्रिय विपद् जोेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाढी–पहिरोका कारण घरबारविहीन भएकाको स्थानान्तरणका लागि के भइरहेको छ ? 
विपद् प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण (मस्यौदा) कार्यविधि (मापदण्ड) बन्दै छ। बसिरहेको घरबास क्षतिग्रस्त भयो र अन्य स्थानमा बसोबासका लागि जग्गा जमिन छैन भने सरकारले जग्गा खरिदका लागि अनुदान दिने कार्यविधि बन्दै छ । उक्त कार्यविधिमा तीन लाखसम्मको जग्गा खरिदका लागि अनुदान दिन सक्ने व्यवस्था छ। 

घर बनाउन पनि अनुदान दिने व्यवस्था कार्यविधिमा छ ? 
अनुदान पाएको जग्गामा गएर विस्थापित घर बनाउँदा खेरि पनि पुनः अनुदान दिने व्यवस्था सहितको कार्यविधि मन्त्रिपरिषद् (क्याबिनेट) मा पुगेको छ। मन्त्रिपरिषद्ले पास गरेपछि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराई मधेसमा ३ लाखसम्मको जग्गा खरिद गर्न पाउने व्यवस्था कार्यविधिमा छ। 

पनौती नगरक्षेत्रका बाढी पहिरोबाट विस्थापितहरू स्थानान्तरणको माग गरिरहेका छन्। त्यसका लागि स्थानीय तहले के गर्नुपर्छ ? 
जिल्ला विपद् व्यवस्था समितिले बस्न अयोग्य रहेको निष्कर्ष निकालेर निर्णय गर्नुपर्छ। ठूलो बस्ती नै स्थानान्तरण गर्नुपर्ने हो भने विपद् प्राधिकरणको टोली गएर अध्ययन, अवलोकन गरी प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ। अहिले बसिरहेको र स्थानान्तरण हुने नयाँ ठाउँमा पनि बस्न योग्य छ/छैन हेर्नुपर्छ।

बाढी–पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारले राहत रकम कसरी लिन सक्छन् ? 
मृतकको हकमा मृतकका परिवारका सदस्यले आफ्ना वडा कार्यालयमा निवेदन दिनुपर्छ। आवास क्षति बापतको राहत रकम लिनका लागि क्षतिको विवरणसहित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.