ठूले राई ४० वर्षदेखि गाउँ फर्किएनन्

ठूले राई ४० वर्षदेखि गाउँ फर्किएनन्

गोरखा : भोजपुरका तीर्थबहादुर राईले घर ब्यवहार देखेर वाक्क भई १५ वर्षकै उमेरमा गाउँ छाडे। आमचोक गाउँपालिका ८ दुङ्मानाका राईले गाउँ छाडेको अहिले ठ्याक्कै ४० वर्ष पूरा भयो। अहिले उनी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ३ भालुवनको अनकण्टारमा रमाइरहेका छन्।

बूढीगण्डकीको किनारै किनार गएपछि पुगिन्छ जगत। जगतबाट झण्डै एक घण्टा पखेराको उकालो हिँडेपछि भालुवन पुगिन्छ। भालुवनबाट पनि झण्डै एक घण्टा उकालो खोरिया हिंडेपछि जंगलको फेदमा उनीहरूको घर छ। एकलासको काठले बारेको सो घरमा बस्छन्, ठूले राई, श्रीमती कान्छी अनि छोरी सिर्जना। छोरा युवराजलाई कसैले पढाउन दमौली लगेको छ।

बुबाले श्रीमती ल्याएर नथाकेपछि बिरक्तिएर उनले घर छाडेका हुन्। पहिलो बेगमा उनी काठमाडौं पुगे। त्यहाँ रोजीरोटी खोज्दै सुरुमा जोरपाटीको गार्मेण्ट उद्योगमा काम गरे। त्यहाँ मासिक सुक्खा ६०० रुपैयाँको जागिर पाए। पछि तलब राम्रो पाइन्छ कि भन्दै अत्तरखेल, महांकाल, सातदोबाटो, लुभु, भक्तपुरका गार्मेण्टहरू चाहारे। आठ-नौं वर्ष जति गार्मेण्ट उद्योग चाहारेपछि उनलाई पर्यटकको भारी बोकेर थोराङपास जाने काम मिल्यो। मर्स्याङ्दीको किनारै किनार मनाङ छिचोलेर मुस्ताङ निस्कने रुटमा भारी बोकेबापत दिनको सुक्खा २५० रुपैयाँ पाइन्थ्यो। महिनाको ६०० भन्दा दिनको २५० ले तानेपछि उनले काठमाडौंबाट पनि बेग हाने।

उनले बोकेको मट्टितेलको भारी मनाङ बगरछाप पुगेपछि सिद्धियो। ‘मट्टितेलको भारी बोकेर गाथ्यो। क्यामैपिच्छे स्टोभहरू बाल्दै बाल्दै गएपछि भारी सिद्धियो’, उनले भने, ‘त्यसपछि मेरो काम पनि सिद्धियो। मान्छेहरूले बगरछापमा होटलहरू बनाइरहेको देखेँ। म पनि काम पाइन्छ कि भन्दै त्यतै लागें। अनि काठ चिर्न थालें। धारापानी, बगरछाप, डिस्याङ, थोँचे, सानो मनाङ, च्याम्चेमा आठ वर्षजति काठ चिरेरै बिताएँ।’ त्यसपछि सुरु भयो हिमाली अनकण्टार गाउँबस्तीमा रमाउने दिन।

जन्मथलो बिर्सिएर बहक्किएका ठूले राई घर बनाउने काम खोज्दै फेरि कास्कीको सिक्लेसतिर बेग हाने। त्यहाँ पनि तीन वर्षजति रुख ढाल्ने र काठ चिर्ने काम गरे। फेरि फर्किए मनाङ, लम्जुङतिरै। 

च्याम्चेमा रमाइलो संयोग मिल्यो, जसले उनको निरस जिन्दगीलाई रसिलो बनायो।

गोरखा लाप्राकका ज्यामीहरू च्याम्चेमा होटल बनाउन जाने गर्थे। दाइको पछि लागेर लाप्राककी कान्छी गुरुङ पनि घर बनाउने काम गर्न पुगेकी थिइन्। त्यहाँ ठूले राई र कान्छी गुरुङको चिनजान, बोलचाल, हिमचिम बाक्लिँदै गयो। एक वर्ष सँगसँगै काम गरेपछि उनीहरू एकले अर्कालाई अपनाए। ठूले कान्छीभन्दा ७ वर्षले ठूला नै थिए। ‘बिहे गर्दा म २६ वर्षको थिएँ। यो १९ वर्षको थिई’, उनले भने।

अब उनीहरूलाई दाइले काम गरेको ठाउँ वरिपरि बसिरहन मिलेन। अनि लार्केपास गरेर गोरखाको हिमाली गाउँ ल्हो पुगे। ल्होमा रिपुम गुम्बा निर्माणको काम चलिरहेको थियो। उनीहरूले त्यहीँ काम समाते। त्यहाँ पनि सधैं काम पाइएन। ‘असार १ गते हामी ल्हो आइपुगेको हो। मंसीरमा दोभान झर्‍यौं’, ४८ वर्षकी कान्छीले थपिन्, ‘दोभानमा नि होटल बनाउने ठाउँमा काठ चिर्न थाल्यौं। दोभानमा काम गर्दागर्दा जगतबगरको विशालले होटलको काठ चिर्न बोलायो। अनि त्यहाँ काम गर्न आयौं।’ 

जगतमा काम गर्दैगर्दा उनीहरूलाई भालुवनमा खोरिया फाँडेर घर बनाउने जग्गा मिल्यो। दर्तावाल खोरिया फाँडेर टहरो बनाए। भुइँचालोले भत्काइदियो। सरकारी अनुदानले फेरि अर्को टहरो बनाए। ‘यहाँ त घरमात्र हो। पखेरामा आठ, दस थुन्से मकै आउँछ। हामीले यसको भाडा पनि तिर्न पर्दैन, तिरो पनि साहुले नै तिर्छन्। हामीले त यसो केही काम परेका बेला साहुलाई सघाइदिए हुन्छ’, राईले भने, ‘यसको आम्दानीले त एक महिना पनि खान पुग्दैन। बाह्रै महिना ज्याला मजदुरी गरेर खाने हो।’ 

५५ वर्षका ठूले राईलाई आफ्नोभन्दा चिन्ता छोरीको छ। २७ वर्षकी छोरी सिर्जना मुटुको रोगी छिन्। धेरै खर्च गरेर मुटुको भल्भ फेरेर ल्याएको त हो, तर अझै निदान भएको छैन। निरन्तरको औषधीले धानेको छ उनलाई। ओखती किन्ने खर्च पनि कहाँ पाउने? पाखुरामा बल छउञ्जेल भीर पखेरामा दस नङ्ग्रा खियाएर जसोतसो हात मुख जोर्न पुग्छ। तर, बुढेसकालमा कसरी पेट पाल्ने अन्यौल छ।

जति हन्डर ठक्कर खाए पनि उनलाई जन्मथलो फर्कन मन छैन। घर छोडेको ४० वर्षमा दुईफेर गाउँ फर्केका छन्। ‘बाउले कान्छी लिएर बस्यो। आमा अर्को बुढा टिपेर गयो’, दिक्क मान्दै उनी भन्छन्, ‘आफ्नो घर पनि छैन। आफ्नो भन्ने मान्छे कोही पनि छैन। बापट्टि पनि बाटो बाङ्गो पर्‍यो, आमापट्टि पनि बाटो बाङ्गो पर्‍यो। कसको मुख हेर्न जाने?’ 

ठूलेमात्र होइन, कान्छी यतै नजिकै पर्ने माइत पनि गएकी छैनन्। ‘बिहे दर्ता गर्न जन्मदर्ता चाहिन्छ भन्या भएर उहिल्यै एकफेर गा’थेँ। त्यसपछि गा’छैन’, उनले भनिन्, ‘अहिलेसम्म नागरिकता पनि बनाएको छैन।’

राईका बाले लगालग तीनवटीसँग बिहे गरे। उनी माइली पट्टिका हुन्। माहिलीपट्टिको भए पनि आफू सबैभन्दा जेठो छोरो भएको उनी बताउँछन्। ‘बाउका पाँचभाइ छोराहरूमा म जेठो हो’, उनले भने, ‘एउटा मर्‍यो। अहिले चार जना छौं। हाम्रो आमापट्टि एउटा बहिनी थिई। ऊ पनि बिहे गरेर कता पुगी थाहापत्तो छैन।’ सत्र, अठार वर्षअघि एकफेर गाउँ जाँदा फुपूहरूसँग बहिनीको मोबाइल नम्बर मागेर ल्याए पनि बहिनीसँग सम्पर्क नगरेको उनको भनाइ छ। ‘धरानतिर बिहे गरेर गा’छ भन्थे। भेट्न सकिनँ। नम्बर पनि कता हरायो। कुरा पनि हुन पाछैन’, उनी भन्छन्, ‘माया मार्‍यो अब त्यो ठाउँको।’

अहिले राई दम्पती सिकर्मी, डकर्मी काम गर्छन्। ‘म मिस्त्री, उ लेबर। दुवैजना मिलेर सिकर्मी, डकर्मी काम गर्छौं’, राई भन्छन्, ‘हाम्रो जिन्दगी नै जेलामा बित्यो।’ भोजपुर फर्केर पनि सुख देखेका छैनन्। ‘भोजपुरमा पनि काम पाउँदैन। त्यहाँबाट पनि सप्पै इण्डियातिर गएका छन्। कोही नागाल्याण्ड, कोही मेघालय, कोही मिजुराम, कोइलाखानीतिर जान्छन्। मलाईचाहिँ नेपालतिरै काम गर्न ठीक लाग्यो’, उनी भन्छन्, ‘यता नआउँदै एकफेर म पनि मेघालयसम्म पुगेको थिएँ। तर, त्यताभन्दा नेपालमै काम गर्नु ठीक लाग्यो। उता गए पनि काठ काट्ने, बोक्ने, यता पनि त्यही त हो। जहाँ गए पनि दुखै गर्ने हो, किन जाने विदेश।’ 

लामो समयदेखि गुरुङहरूको माझमा बसे पनि थर भने फेरेका छैनन्। ‘आधा जिन्दगी त यतै गइसक्यो। अब के फर्कनु छ र भोजपुर’, उनले भने, ‘गैयलाजस्तो छैन। यतै घुलमिल भयो। सबै चिनापर्ची भयो। जोश, जाँगरको उमेर यता बिताएर अब बुढो भएपछि के जानु भोजपुर।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.