नेपाललाई बिरामीमुक्त देश बनाउने प्रधानमन्त्रीको घोषणा
धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छन्। सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
आठ वर्षपछि ६५६ जना चिकित्सक र नर्सहरूलाई दीक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई बिरामी मुक्त देश बनाउन मानिसहरू बिरामी नै नहुने गरी काम गर्न निर्देशन दिए। उनले नयाँ-नयाँ क्यान्सर रोगहरू पत्ता लगाएर सफल उपचार विधि सफल बनाउन पनि चिकित्सकहरूलाई सुझाव दिएका छन्। बिरामी अस्पताल निको हुने उद्देश्यले आउँछन्, त्यसैले बिरामीहरूलाई झर्केर होइन, राम्रो बोलेर उपचार गर्न चिकित्सकलाई प्रधानमन्त्री ओलीको सुझाव छ।
चिकित्सकले राम्रो बोलेर उपचार गरे २५ बिरामीको प्रतिशत व्यथा निको हुने प्रधानमन्त्रीको भनाइ छ। 'हामी नेपाली कालाजार र मलेरियाविरुद्ध लडेर बाँचेका मान्छे हौं। अब अर्ग्यानिक खानेकुरा खाएर र स्वच्छ खानेपानी पिएर सबै नेपाली रोग नै नलाग्ने हुनुपर्छ। त्यसैले नेपाललाई बिरामी मुक्त बनाउन चिकित्सकले मात्र नसक्ने भएकाले प्रत्येक नागरिकले आ-आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ,' उनले भेन।
प्रधानमन्त्री ओलीले स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गरिने पनि बताए। शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रत्येक नगरिकसम्म शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउने बताए। उनले बीपी प्रतिष्ठानमा डाक्टर र नर्स अध्ययनरत विद्यार्थीको सिट घटेकाले आवश्यकताअनुसार वृद्धि गरिने पनि बताए।
उनले बीपी प्रतिष्ठानबाट उत्पादन भएका चिकित्सकहरूलाई विश्वका जुनसुकै देशका चिकित्सक संघ प्रतिस्पर्धा गरेर प्रथम हुन पनि सुझाव दिए। उनले चिकित्सकहरूलाई देशका विभिन्न स्थानमा गएर बिरामीको सेवा गर्न र नेपाली चिकित्सकको शिर झुक्ने गरी काम नगर्न पनि आग्रह गरे।