एनपीएलका फ्रेन्चाइज टिमलाई २४ सै घन्टा निगारीमा राखिने
काठमाडौं : नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी तीव्र रूपले अघि बढिरहेको बताएका छन्। एनपीएलका सन्दर्भमा सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको सबै तयारी तीव्ररूपले अघि बढिरहेको बताए।
लिगलाई भव्य बनाउनका लागि क्यानले लामो समयदेखि गरेको तयारी अहिलेको अवस्थासँग आइपुग्दा सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए। खड्काले फ्रेन्चाइज लिगका लागि चुनौतीको रूपमा रहेका पूर्वाधारको तयारी पनि अघि बढिरहेको बताए। खेल र खेलाडीको विकाससँगै क्रिकेटमा आकर्षण बनाउन लागि पनि लिग महत्त्वपूर्ण हुने उनको भनाइ छ।
उनले अब हुने पहिलो संस्करणमा फ्लड लाइटमा गर्न नसकेपछि दोस्रो संस्करण फ्लड लाइटमा गर्ने इच्छा रहेको बताए। सचिव खड्काले एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको २४ घण्टा नै निगरानी हुने बताए। कुनै किसिमको 'फिक्सिङ' हुन नदिन लिग अवधिभर एन्टीकरप्शन टीम सक्रिय रहने उनको भनाइ छ। एनपीएल आगामी मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।