जन्तरेचुलीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
नुवाकोट : गाउँमा पर्यटन प्रवर्द्धनका लागि नुवाकोटको जन्तरेचुलीमा छ्योर्तेन निर्माण गरिएको छ। तारकेश्वर गाउँपालिकाको लगानीमा आफ्नो पालिकाको उच्च स्थान तारकेश्वर १ को जन्तरेचुलीमा छ्योर्तेनको निर्माण गरिएको हो।
तामाङ समुदायको पवित्र धार्मिक स्थल पाल्छेङ्बा गङमा नवनिर्मित छ्योर्तेनको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारीले उद्घाटन गरे।
छ्योर्तेन उद्घाटन गर्दै अध्यक्ष अधिकारीले यसबाट आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन हुने लक्ष्य लिइएको बताए। उनले तामाङहरूको धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारको सदैव सहयोग रहने समेत बताए।
नवनिर्मित पाल्छेङ्बा गङ छ्योर्तेन गाउँपालिकाको पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।