उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षामै कलर भिजन टेस्ट
काठमाडौं : आजदेखि सुरु भएको उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षामा कलर भिजन टेस्ट पनि सँगै गरिएको छ।
यसअघि परीक्षामा उत्तीर्ण भएपछि स्किल टेस्टको समयमा मात्र कलर भिजन टेस्ट हुने गरेको थियो। तर, यसपटकको परीक्षामा कलर भिजन टेस्ट पनि सँगै गरिएको हो। परीक्षामा समावेश हुने ४० वटा प्रश्नको हल गरेपछि कलर भिजन टेस्ट हुने छ।
ईपीएस कोरियन शाखाका अनुसार परीक्षामा ३६ हजार बढी परीक्षार्थी सहभागी हुने छन्। सन् २०२४ मा उत्पादनमूलक क्षेत्रतर्फ सहभागी हुनका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए। जसमा पहिलो र दोस्रो चरणमा गरी १ लाख २७ हजार ४५६ जना परीक्षार्थीको परीक्षा सम्पन्न भइसकेको छ।
यसपटक ठूलो संख्यामा आवेदन परेका कारण अन्य क्षेत्रको परीक्षा सञ्चालन भएको थिएन। सन् २०२५ देखि नयाँ प्रणाली लागू गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।