पितृ उद्धारको कामना गर्दै जालपादेवीमा महाद्वीप प्रज्वलन
नुवाकोट : आफ्ना दिवगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा हजारौंद्वारा महाद्वीप प्रज्वलन गरिएको छ। एकादशी मेलाको अवसरमा मंगलवार महाद्वीप प्रज्वलन गरिएको छ।
यस वर्षको एकादशी मेलामा गत वर्षको भन्दा धेरै तीर्थालुआएका थिए।
एकादशी मेला भर्न नुवाकोटलगायत विभिन्न स्थानबाट आएका तीर्थालुहरु गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत बढेका जनाइएको छ। यस वर्षको हरिबोधनी एकादशी मेलाको अवसरमा नुवाकोटको विदुर नगरपालिका ५ देवीघाटको जालपादेवी मन्दिरमा मात्र सोमवार राती सातहजारभन्दा बढीले महाद्वीप प्रज्वलन गर्नुका साथै आफ्ना दिवंगत पितृको मोक्षको कामना गर्दै द्विप प्रज्वलन गरेका देवीघाट जालपा क्लबका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए।
उनले स्थानीयावासीले आफ्नो दिवंगत पितृहरूको सम्झनामा जालपादेवी मन्दिरको किनारा त्रिशूली नदीमा पुगेर द्विप प्रज्वलन गरेको जनाए । तीर्थालुहरुले जालपादेवीलगायत विभिन्न स्थानमा पितृमोक्षको कामनासहित हजारौं भक्तजन सोमवार रातभर जाग्राम बसेर महाद्विप प्रज्वलन गरेका थिए। मंगलवार विहान जालपा देवी मन्दिरमा फूलको डोली तारेर उक्त मेला सम्पन्न भएको हो।
जालपादेवी मन्दिर हुँदै त्रिशूली नदीबाट ४० वटा फूलको डोरी टाँगिएको छ। यस वर्ष जालपादेवी मन्दिरमा गत वर्षकोभन्दा धेरै फूलको डोरी टाँगिएको हो।
आफ्ना दिवंगत पिताको स्मृतिमा आफू देवीघाटको जालपादेवी मन्दिरमा आएर परिवारसहित द्वीप प्रज्वलन गरेको बेलकोटगढी नगरपालिका १२ मदानपुरका शिवराम नेपालले बताए। उनले आफूले मानवीय धार्मिक संस्कारको भावनाले पिताको स्मृतिमा पूजापाठ गरेको समेत बताए।
एकादशीको अवसरमा जालपादेवीमा पुगेर स्नान, दान र पूजापाठ गरेमा पितृको मोक्ष हुने र जानीनजानी गरिएका पापबाट मुक्ति हुने विश्वासमा भक्तजनहरु आउने गरेको जालपा क्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए ।