महिला यु १९ टि ट्वान्टी विश्व कप छनोट
पूजा महतोको कीर्तिमानी शतक, नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
काठमाडौं : युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप छनोटमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ।
युएईको अजमानमा जारी प्रतियोगितामा नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक पूरा गरेकी हुन्। उनले पहिलो शतक पूजाले ५७ बलमा१२ चौका मद्दतमा १०० रन पूरा गरेकी थिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रनको योगफल तयार पारेको हो। नेपालका लागि महतोले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट रहँदै १३० रन बनाइन्।
पूजासँग साझेदारी गरेकी सोनी पाख्रिनले ४३ रन बनाउँदै अविजित रहिन्। यसैगरी सावित्री धामीले ११ रन, साना प्रविनले ६ रनको योगदान गरिन्।
कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले १/१ विकेट लिए।
यस अगाडि नेपालले ३ खेलमा जित र युएईसँगको १ खेलमा हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन, दोस्रोमा कुवेतलाई १ सय ८ रन र चौथो थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ। नेपालको अन्तिम खेल युएईसँग पुन खेल्नेछ। प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्याण्ड रहेको छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।