वडाअध्यक्ष उपर कुटपिटको आरोप
महोत्तरी: गौशाला नगरपालिका वडा नं. १ का वडाअध्यक्ष नविनकुमार साहले महिलालाई कुटपिट गरेको भन्दै स्थानीयहरूले आरोप लगाएका छन्। गएराति स्थानीय विन्देश्वर महराकी छोरी शोभा महरालाई कुटपिट गरि घाइते बनाएको स्थानीयहरूले आरोप लगाएका हुन्।
पारिवारिक झगडा भइरहेको समयमा घरमा पुगेका वडाअध्यक्ष साहले स्थानीय विन्देश्वरको घरमा पुगि उनकी श्रीमती समुन्द्री र छोरी शोभालाई निर्धात कुटपिट गरिएको जनाएका छन्। उनले विवादको क्रममा बोलिएको आवाजसहितको अडियो फेसबुकमार्फत सार्वजानिक भएको छ। गर्भवती अवस्थामा रहेकी शोभा कुटपिटबाट गम्भीर रूपमा घाइते भएकी र उनको उपचार जनकपुरस्थित नवजिवन हस्पिटलमा भइरहेको छ।
यस विषयमा वडाअध्यक्ष नविनकुमार साहले आफूमाथि केही व्यक्तिहरूको समूहले गलत आरोप लगाइरहेको जनाएका छन्। वडाअध्यक्षले भने, 'रातिको समयमा विन्देश्वरको घरमा पारिवारिक विवादले उग्ररुप लिएको थियो। उनीहरूले विवाद समाधान गर्नका लागि मलाई बोलाएका थिए। म सम्झाएर मात्र फर्किएको हुँ।' कसैमाथि हातपात गरेको आरोप भ्रामक र आफूलाई फसाउने षडयन्त्र रहेको उनले बताए।
यस सम्बन्धमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले आफू बाहिर रहेकोले घटनाको सम्बन्धमा सत्य तथ्य बुझी ठोस कदम चाल्ने प्रतिक्रिया दिएका छन्। घटनामा पीडितले पक्कै पनि न्याय पाउने र निर्दोष कोही पनि नफस्ने मेयर महतोले प्रतिवद्धता जनाएका छन्।