अमेरिका टेक्नासाथ जब उनी पक्राउ परिन् ...

अमेरिका टेक्नासाथ जब उनी पक्राउ परिन् ...

काठमाडौं : लाखौं रुपैयाँ खर्च गरेर दाङकी एक युवती अवैध बाटो अमेरिका पुगिन् । जब सपनाको देश अमेरिका पसिन्, उनलाई लाग्यो अब सारा दुःख अन्त्य भए । तर, अमेरिकाको धर्ती टेक्दा नटेक्दै बोर्डर सेक्युरिटीमा खटिएका अमेरिकी प्रहरीले उनलाई पक्राउ गर्‍यो । महिनौं कस्टडीमा राख्यो । चार, पाँच महिनाको अदालती लडाइँपश्चात् उनलाई गत कात्तिक १५ गते अमेरिकी सरकारले नेपाल ‘डिपोर्ट’ गर्‍यो ।

तेस्रोबाटो हुँदै अमेरिका पुगेकी दाङकी बस्नेत थरकी युवतीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको हो । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरेकाले अदालतको फैसलाबमोजिम उनलाई नेपाल डिपोर्ट गरिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई नेपालस्थित अमेरिकी दूतावासले पठाएको पत्रमा उनलाई डिपोर्ट गर्नुपर्ने कारणसहितको यात्रा विवरण पठाइएको थियो ।

ब्युरोका प्रवक्ता भावेश रिमालका अनुसार एजेन्टको प्रलोभनमा परेर अमेरिका पुगेको हुन सक्ने अनुमानका आधारमा ब्युरो टोलीले उनीमाथि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ती युवती अध्ययनको सिलसिलामा बेलायत गएकी थिइन् । बेलायतमा नै हुँदा उनको अमेरिका निवासी केसी थरका आफन्तसँग कुरा भयो । केसीले उनलाई अमेरिका आउन सकिने र सजिलै ग्रिनकार्ड बनाउन सक्ने भन्दै प्रलोभनमा पारे ।

बेलायतको विश्वविद्यालयमा पढ्दै गरेकी ती युवतीलाई अमेरिका पुग्ने सपनाले पछ्यायो । उनले तेस्रो बाटो हुँदै अमेरिका जाने प्रक्रिया सुरु गरिन् । लाखौं रुपैयाँ बुझाएर सपनाको देश छिर्न उनले प्रयास गरिन् । दलालहरूले उनलाई बेलायतबाट मेक्सिकोको बाटो हुँदै महिनौं लगाएर अमेरिका पुर्‍याए । कति दिन रातारात मेक्सिको, पनामा जंगल हिँडेरै उनी अमेरिका पुगिन् । अमेरिकी सेनाले उनीसहितसँगै गएकालाई पक्राउ गर्‍यो । उनलाई केही महिना कस्टडीमा राख्यो । कस्टडीबाटै उनले मुद्दा लडिन् ।

अदालतले उनलाई गैरकानुनी रूपमा अमेरिका बसेको भन्दै नेपाल डिपोर्ट गर्ने आदेश गर्‍यो । अमेरिकी प्रहरीको कस्टडीबाट निस्केर सिधै जहाज चढेकी उनी नेपाल फिर्ता भइन् । यो बीचमा उनले लाखौं रूपैयाँ दलाललाई बुझाएकी छन् । उनको मुद्दा हेरिरहेका ब्युरोका प्रहरी सुदन केसीका अनुसार ती युवतीले अमेरिका पुर्‍याउने एजेन्टको विषयमा केही जानकारी दिन मानिनन् । न त उनले आपूmलाई प्रलोभन दिएर अमेरिका लैजाने दलालीको विरुद्धमा नै उजुरी दिइन् । अमेरिका जान आफूले पार गरेका बाटोहरूको विषयमा जानकारी दिए पनि उनले अन्य धेरै कुरा भने सुनाउन चाहिनन् ।
०००

यही कात्तिक १४ गते नै अमेरिकाबाट डिपोर्ट हुने लाइनमा थिए नेपालका ओली थरका एक युवक । रुकुमका ती युवक पनि तेस्रो बाटो हुँदै अमेरिका पुगेका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका मुद्दा शाखाका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार नेपालबाट गैरकानुनी बाटो हुँदै अमेरिका पुर्‍याउने तस्करहरू नेपालमै सक्रिय छन् । यो विषयमा तथ्य र प्रमाणका लागि ब्युरो टोलीले डिपोर्ट भएका ओली थरका युवकसँग पटकपटक कुराकानी गर्ने प्रयास गर्‍यो । अमेरिका जाने चक्करमा लाखौं रुपैयाँ गुमाएका ओलीले प्रहरीसँग सहकार्य भने गरेनन् । आफन्तको सहयोगमा अमेरिका गएको भन्दै उनले कोहीविरुद्ध उजुरी दर्ता गर्न पनि चाहेनन् ।
०००

यी दुई घटना केही दिनअगाडिको हुन् । बल्लबल्ल अमेरिका पुगेकाहरू नेपाल डिपोर्ट हुने संख्या भने विस्तारै बढ्दै छ । अमेरिकी दूतावासले दिएको सूचनाअनुसार केही दिनमै अन्य ६ जना व्यक्ति अमेरिकाबाट नेपाल डिपोर्ट भएर आउँदै छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार पछिल्लो पाँच वर्षमा गैरकानुनी रूपमा अमेरिका पुगेका र गैरकानुनी रूपमा बसोबास गरिरहेका २ सय १ जना नेपालीलाई अमेरिकाले फिर्ता गरेको छ ।

अमेरिका पुग्ने चक्करमा लाखौं रुपैयाँ गुमाए पनि डिपोर्ट भएर आएकाहरू एक जना पनि प्रहरीकहाँ रिपोर्ट लेखाएको तथ्यांक छैन । उनीहरू तस्करसँगै सहकार्य गरेर फेरि अमेरिका जाने प्रक्रिया थाल्ने वा अन्य देशमा जान खोज्ने अथवा मौखिक रूपमा गाउँघरमै सहमति गर्ने, तमसुक बनाउनेजस्ता कार्य गर्छन् । तर पैसा नउठ्ने र अनावश्यक झन्झट हुने डरले प्रहरीसम्म आउँदैनन् ।

किन जाँदैनन् प्रहरीमा पीडित ?     

पैसा नउठ्ने डरले पीडितहरू प्रहरीमा जाँदैनन् । कानुनी झन्झट र लामो मुद्दा फैसला हुन लामो समय लाग्ने हुँदा पीडितहरू प्रहरीकहाँ जान खोज्दैनन् । अहिलेसम्म डिपोर्ट भएर नेपाल फर्काइएका २ सय १ जनामध्ये कसैले पनि प्रहरीकहाँ जाहेरी दर्ता गराएका छैनन । 

ब्युरोका प्रवक्ता रिमालका अनुसार अमेरिकाबाट डिपोर्ट हुने व्यक्तिको संख्या प्रत्येक वर्ष बढ्दो छ । ५० लाखदेखि एक करोड पैसा खर्च गरेर बल्लबल्ल अमेरिका पुगेर फिर्ता हुनेको व्यावहारिक दुःख बेग्लै छ । उनीहरूको आर्थिक पाटो र पारिवारिक समस्याको कहानी सुनिनसक्नु छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.