ती केपी र यी केपी

ती केपी र यी केपी

जसले भविष्यका लागि आवश्यक सत्य सपना देख्छन्, तिनै व्यक्तिले द्रष्टाको रूपमा इतिहासमा नाम लेखाउँछन्।

‘छुक छुक छुक छुक रेल’ भनेर नेपालीले गीत गाउने मात्र होइन, अब छुकछुक गर्ने रेल मेची–महाकाली कुदाइन्छ, केरुङबाट काठमाडौं, काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी पुर्‍याइन्छ। पहाडहरूमा सुरुङ खनिन्छ र त्यहाँ पनि रेल र गाडी कुदाइन्छ। किनारबाट बगिरहेको गण्डकीतर्फ देखाउँदै तत्कालीन प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले घोषणा गरे; ‘अब यो नदीबाट नेपाली झण्डा फरफराएको पानीजहाज गंगाहुँदै समुद्रसम्म पुग्छ।’

नारायणी नदीकिनारमा जम्मा भएका हजारौं जनतामाझ उनले घोषणा गरिदिए। नदीकिनार लाखौंको तालीले गुञ्जायमान भयो। ‘नेपालको पानीजहाजले सामान र मान्छे बोकेर कसरी हिँड्छ हामी देखाइदिन्छौं’ फेरि अर्को कार्यक्रममा उनले भने, ‘सिलिन्डरको खेल अब समाप्त पार्दिन्छु, घरघरमा चुलाचुलामा ग्यासको पाइप पुर्‍याइदिन्छु’, ‘डिजेलको भुरुरु धुवाँ छोडिएको बस चढ्नै पर्दैन, रोडहरूमा अब इलेक्ट्रिक बस चलाइन्छ। युवाले अब खाडीको ५० डिग्रीको तातो रापमा जवानी सक्नै पर्दैन, देशमै उद्योगधन्दा खोलिन्छ, रोजगारीको सिर्जना गरिन्छ र परिवारको साथमा उद्यमी बनेर देशमै बस्ने वातावरण बनाइन्छ।’

यतिमात्र होइन, उनले भनेका थिए, ‘दिदीबहिनीहरूले बच्चा पाउन नसकेर अब अकालमा ज्यान गुमाउनु पर्दैन, तत्काल हेलिकप्टर पुग्छ र उद्धार गरेर हस्पिटल पुर्‍याउँछ। कुनै बच्चा र असहाय नागरिक अब नेपालको सडकमा बेसहारा देख्न पाइने छैन, तिनको राज्यले जिम्मा लिन्छ। ज्यानमाया मारेर अब कोही तुइनमा झुन्डिनु पर्दैन, त्यहाँ पुल बन्छ।

‘कुनै नेपाली अब उपचार नपाएर मर्नु पर्दैन, पालिका पालिकामा अस्पताल खोलिन्छ र जनताको उपचार गराइन्छ। अब हामी अन्धकारमा बस्नु पर्दैन, पर्याप्त बिजुली निकालिन्छ, देश उज्यालो बनाइन्छ, बढी बिजुली बेचिन्छ र डलर कमाइन्छ। खानीहरूको खोजी गरिन्छ, स्वदेशमै खनिज उत्पादन गरिन्छ। खेती अब नयाँ प्रविधिले गर्छ, डाँडाकाँडा फलफूलमय बनाइन्छ। नेपालको आफ्नै सेटेलाइट हुन्छ। अब चीनसँग पनि पारवहन सन्धि हुन्छ, कसैको गुलाम बनिँदैन। नेपालको गुमेको जमिन फिर्ता लिइन्छ।

कुनै नेपाली अब घरबारविहीन हुनुपर्दैन, सबैलाई आवासको प्रबन्ध गरिन्छ। ठूलाठूला अन्तर्राष्ट्रिय विमानस्थल बनाइन्छ, नेपाल विश्वको ट्रान्जिट हब बन्छ। आकस्मिकतामा रोडमै प्लेनहरू अवतरण गर्न सक्ने गरी ठूलाठूला रोडहरू बनाइन्छ। शिक्षामा व्यापक सुधार गरिन्छ, विश्वको दक्ष श्रम बजार नेपालीमय हुनेछ।’ आदि आदि हालका प्रधानमन्त्री ओलीका भनाइ हुन्।

जसरी ती केपी (कृष्णप्रसाद भट्टराई)ले मेलम्चीको उडन्ते सपना देखेका थिएनन्, त्यसैगरी उपरोक्त तथ्यहरूले यी केपी (खड्गप्रसाद ओली)ले समेत गफमात्र गरेका थिएनन्। उनको कर्मले निष्ठापूर्वक काम गरे नेपाललाई समृद्धि बनाउन सम्भव छ भन्ने प्रमाणित गरिदिए। जब कि उडाउन त आज पनि यी केपीलाई उडाई राखिएकै छ। 

देशभर सम्पन्न भएका चुनावी सभाहरूमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले शानका साथ उपरोक्त नाराहरू घन्काए। मानौं उनी सरकारमै छन् र ती परियोजनाहरू कार्यान्वयन हुँदैछन्। तर वास्तवमा उनी प्रतिपक्षी दलका नेता थिए त्यसबेला। सत्ता उनीभन्दा निकै टाढा थियो तर उनका विकासप्रतिका आकर्षक सपनाहरूले विशेषगरी युवा नेपाली जमातमा गहिरो छाप छोड्दै थियो। सभामा उनका कुरा सुन्न हजारौंको भीड लाग्न थालेको थियो। उनको सरल, आक्रमक र रोचक भाषणले साँच्चिकै श्रोतालाई लठ्याएको थियो।

सयौं वर्षदेखि नेपाली जनतामा विकास र समृद्धिको सपना बाँड्न सक्ने नेतृत्वको अभाव खडकरहेको घडीमा उनी त्यसको पर्याय जस्ता देखिन्थे। २०६२–०६३ को परिवर्तनपछि नयाँ संविधान बन्ने र देशमा समृद्धिका नयाँ शृंखलाहरू सुरु हुने नेपालीको आशाविपरीत देश अस्थिरता र अराजकतातर्फ जाँदै थियो। संविधान बन्नुअघिका आठ वर्षमा पाँचवटा सरकार फेरिए। कुनै सरकारले संविधान दिन सकेनन्। सत्ताको लुँछाचुँडीमा मात्र उनीहरूको समय व्यतीत थियो। अराजकता, असुरक्षा, भ्रष्टाचार, विकासविहीनता आदि घटनाले नेपाली जनताको मन विरक्तिएर निराशा भरिएको थियो।

संयोग २०७२ सालमा नेपालले ठूलो विपत्ति भोग्नुपर्‍यो। भूकम्पले सयौं नागरिकको ज्यान लियो, हजारौं घरहरू ढले, लाखौं नागरिक विपत्तिमा रुमलिए। विपत्तिको त्यो घडीमा राजनीतिक दलहरू संविधानको न्यूनतम सहमतिमा पुगे र संविधान जारी गरे तर विडम्बना एउटा छिमेक हाम्रो संविधानप्रति खुसी देखिएन र उसले नेपाली जनतामाथि नाकाबन्दीको नयाँ उपहार थमाइदियो।

ओलीको व्यक्तित्व र राष्ट्रवादी छवि यसै घटनाका साथ सगरमाथा जस्तै चुलियो। संविधान बनेपछि नाकाबन्दीका बीच प्रधानमन्त्री बनेका उनै ओली नेपाली राष्ट्रवादका प्रतीक बने। नेपालीलाई बरु भोकै बस्न सहमत गराए तर भारतीय मिचाहा प्रवृत्तिसामु झुक्दै झुकेनन्। अन्ततः नेपाली जनताको अडान सामु भारत झुक्यो र नाकाबन्दी खुल्यो। नेपाली कांग्रेसले नाकाबन्दीसम्म भन्न नसकेको सारा नेपालीको राष्ट्रवादी लडाइँमा केपी शर्मा ओली साहसिक सेनापति ठहरिए। त्यसपछि भीमसेन थापालाई झैं अपमानपूर्वक उनलाई सत्ताबाट हटाईयोे। तर उनको सरकार ढले पनि उनीप्रति अधिकांश नेपालीको विश्वास भने ढलेको देखिएन।

संविधान बनाउन अहम् भूमिका खेलेको, भारतसँग डटेर झुक्न बाध्य बनाएको, नेपाली जनताको स्वाभिमानको लडाइँको दृढतापूर्वक नेतृत्व गरेको आदि कारणले उनको व्यक्तित्व भव्य बनेको थियो। उनका सामु अरू नेताहरू सगरमाथाको सामु ढिस्काजस्ता देखिन्थे। उनले नेपाली जनतालाई जगाएको आशा क्रमशः भरोसामा परिणत हुँदै थियो। उनको व्यक्तित्व यस्तो बन्यो, कांग्रेससँगै सत्तामा बसेर चुनाव गराउन लागेको माओवादीसमेत अचानक सत्ताबाट ओर्लियो र उनकै अभियानमा सामेल बन्यो। चुनावमा जनताले उनीप्रति अपार समर्थन देखाए। उनी सबैभन्दा ठूलो र बलियो पार्टीको नेताको रूपमा स्थापित भए। माओवादीको समर्थनमा उनी पुनः सत्तामा फर्किए। उनलाई उडाउनेहरू, गिज्याउनेहरू र उनका योजनामाथि व्यंग्य गर्नेहरू हेरेको हेरै भए।

संयोग कस्तो मिल्यो भने अधिकांश विपक्षीले उडाएका, कतिपय विद्वानहरूले नपत्याएका, चुनावभरि बाँडेका बग्रेल्ती समृद्धिका सपनाहरू विपना बनाउने जिम्मा अब उनकै काँधमा आइपर्‍यो। बल उनकै गोडामा ठोक्कियो। ‘कुन पोस्टमा गोल गर्ने ? ल अब गर’ भने झैं नेपाली जनताले सत्ताको चाबी उनैलाई थमाइदिए।

संविधान बनेपछि पनि उनले नेपाली जनतामाझ ब्यँुझाएका सपनाहरूलाई विपक्षीले उडाइरहेकै थिए। कागजका जहाजहरू बनाएर पानीमा तैर्‍याइए। काठको प्वालहरूलाई सुरुङ मार्ग भनियो। रेल डोरीले तान्दै व्यंग्य गरियो। पाइपबाट कहीँ ग्यास पुर्‍याउन सकिन्छ भन्दै उनका कुरालाई उट्पट्याङ भनियो। भारतसँग पौठे जोरी खेल्नु पहरालाई कुइनुले लडाउन खोज्नु हो भन्दै उनको राष्ट्रवादी छविलाई धमिल्याउन खोजियो। चीनसँग पारवहन सन्धि गर्नुपर्छ भन्दा कम्युनिस्ट भएर कम्युनिस्टतिरै लाग्यो भनियो। आदि इत्यादि भनेर मूलधारका मिडियाहरूले, विपक्षीहरूले र कतिपय विद्वान हुँ भन्नेहरूले समेत उनलाई उडाइरहेकै हुन्थे। मानौं, उनी कुनै सर्कसका जोकर हुन्।

२०४८ र २०५६ सालको चुनावमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गर्दा उनलाई त्यसैगरी उडाइएको थियो। त्यही पानीले काठमाडौंको सडक धुने र सिंगापुर जस्तै काठमाडौंलाई सफा बनाउने कुरा गर्दा उनलाई कतिले उट्फट्याङ भनें। दर्जनौं पहाड छिचोलेर ल्याउने योजना त्यतिखेर काठमाडौंवासीलाई सपनै जस्तो लाग्थ्यो, त्यसमाथि सुरुङ खनेर। गुफाबाहेक कुनै अर्को सुरुङ नदेखेको नेपाली मनले त्यस्तो कथा जस्तो लाग्ने कुरा कसरी पत्याउनु ? भट्टराईका कुरालाई उडाउने मात्र होइन, अपत्यारिलो समेत बनाइयो। जानेबुझेकै भनिएका व्यक्तिहरूबाट उनी खिसीट्युरीका पात्र बने। २६ किलोमिटर सुरुङ छिचोल्दै हिमालसँग पिरती गाँस्दै बसेकोे मेलम्चीको पवित्र पानी आखिर उनले घोषणा गरेको करिब २३ वर्षपछि सुन्दरीमा ओर्लियो।

जसरी मेलम्चीको पानी ल्याउँछु भन्दा ती केपीलाई उडाइएको थियो, उट्फट्याङ भनिएको थियो। नेपालमा पानीजहाज चलाइन्छ, रेलगाडी छुकछुक पारिन्छ, सुरुङ खनिन्छ, पहाडको फेदफेदमा रेलका स्टेसनहरू बन्छन्, नेपालको आफ्नै सेटेलाइट हुन्छ, भान्सा–भान्सामा पाइपबाट ग्यास पुर्‍याइन्छ, बाटो चौडा पारिन्छ भने जस्ता कैयौं युगान्तकारी योजनाहरू अगाडि सार्दा यी केपीलाई समेत त्यसैगरी उडाइयो। उट्फट्याङ भनियो, उखाने भनियो र सर्कसको जोकर जस्तो बनाइयो। तर ती केपीले देखाएको सपना साँच्चिकै वास्तविक थियो र काठमाडौंवासीलाई अपरिहार्य पनि। विपना हुन सक्ने सपना देखेकै कारण ती केपीको सपना विपनामा परिणत भएका थिए। सपना सबैले देख्न सक्छन् भन्ने हुँदैन। जसले भविष्यका लागि आवश्यक सत्य सपना देख्छन्, तिनै व्यक्तिले द्रष्टाको रूपमा इतिहासमा नाम लेखाउँछन्।

उनी व्यंग्यबाट हडबडाएनन्, आलोचनाबाट आत्तिएनन्, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ भने झैं यी केपीले पनि आफ्नो कर्मलाई निरन्तरता दिइराखे। संयोग कस्तो मिल्यो भने उनका सपना कार्यान्वयन गर्ने ठाउँमा उनी आफैं पुगेका छन् यतिबेला। ती सपना त्यस्ता थिएनन्, जसलाई विपना बनाउन नसकियोस्। ती नेपाली जनताका लागि न्यूनतम आवश्यकता थिए, गर्नैपर्ने कार्यहरू थिए र अहिलेसम्म नगरिएका विकासका नयाँ योजनाहरू थिए।

जब उनी सरकारको नेतृत्वमा आए तब कोशी, नारायणी र कर्णालीबाट गंगा हुँदै समुद्रसम्म जहाज चलाउन पाउने गरी भारतसँग दुईपक्षीय सम्झौता गरे। पानीजहाज कार्यालय नै खोलियो र त्यससम्बन्धी थप काम अगाडि बढे। चीन र भारतसँग नेपालमा रेल ल्याउन सम्झौता गरे। मेची–महाकाली रेल बाटो बन्न थाल्यो। कोशी र गण्डकीमा ससाना बोटहरू चल्न थाले। नेपालको आफ्नै सेटलाइट बन्यो। नागढुंगामा सुरुङ मार्ग सुरु भयो। सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गर्न थालियो। सडकका बालबालिका र बेसारा मानिस राज्यले जिम्मा लियो। तराईको दक्षिणतर्फ विशाल चौडा सडकहरू बनाइए। लोडसेडिङ हट्यो। विद्युत् उत्पादनका ठूलाठूला योजनाहरू सुरु गरिए। भूकम्पले ध्वस्त घर र पुरातात्विक स्थलहरू शीघ्रतापूर्वक ठडिए। धरहरा पुनः उठ्यो। यीलगायत कैयौं काम अगाडि बढे, जसले नेपाललाई समृद्धितर्फ डोर्‍याउन थाल्यो।

उपरोक्त कर्महरूले उनका सपना असामान्य नभई सामान्य हुन् र नेपालीले गर्न सक्छन् भन्ने तथ्य पुष्टि गर्‍यो। एक वर्षको छोटो कार्यकालमै (२०७६ सालमा) विदेश जाने युवाको संख्या २४ प्रतिशतले घट्यो। निर्यात १९.४ प्रतिशतले वृद्धि भयो। आयात २३ बाट घटेर १३.९ प्रतिशतमा झर्‍यो। राजस्व संकलन २२.६ प्रतिशतले वृद्धि भयो। कृषिमा ४२.५ प्रतिशत, औद्योगिक कर्जामा २०.३ प्रतिशत, निर्माण क्षेत्रमा २२.२ प्रतिशत, यातायात र सार्वजनिक क्षेत्रमा ३२.५ प्रतिशत कर्जा वृद्धि भयो। सयौं सडकपुल र हजारौं किलोमिटर सडकहरू बने। समग्रमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भयो। देशमा शान्ति र सरकारमा स्थिरताको प्रभाव समाजमा देखियो। विश्वमा नेपाललाई सुन्न थाल्यो (समृद्धिको यात्रा– केपी ओली)।

ती केपीले देखेको मेलम्चीको तिलस्मी सपनासमेत यी केपीले पूरा गरिदिए। तिर्खाले खङ्गरङ्ग सुकेको काठमाडौंवासीको आँत यिनै केपीले भिजाए। आफूलाई उडाउनेहरूको मुख आफ्नो शत्प्रयासको बुझोले बन्द गरिदिए। जसरी ती केपी (कृष्णप्रसाद भट्टराई)ले मेलम्चीको उडन्ते सपना देखेका थिएनन्, त्यसैगरी, उपरोक्त तथ्यहरूले यी केपी (खड्गप्रसाद ओली)ले समेत गफमात्र गरेका थिएनन्।

उनको कर्मले निष्ठापूर्वक काम गरे नेपाललाई समृद्धि बनाउन सम्भव छ भन्ने प्रमाणित गरिदिए। उडाउन त आज पनि यी केपीलाई उडाई राखिएकै छ। जसरी ती केपीलाई उडाइएको थियो। तर वास्तविकता वास्तविकता नै हो। कि त हामी अभाव गरिबी र अविकासमा बस्न अझै मञ्जुर हुनुपर्‍यो। अन्यथा देश उनले देखाएको मार्गमा नहिँडेर सुखै छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.