सात वर्षदेखि पुल बन्ने पर्खाइमा सौरु र सिर्खुमबासी

सात वर्षदेखि पुल बन्ने पर्खाइमा सौरु र सिर्खुमबासी
सुन्नुहोस्

जोमसोम : राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ-सौरु जोड्ने सस्पेन्सन पुलको योजना २०७४ सालमा पर्‍यो।  सस्पेन्स ब्रिज डिभिजन कार्यालय काठमाडौंले थासाङको एउटै वडामा पर्ने कालिगण्डकी नदी वारिपारीका गाउँ (कोवाङ-सौरु)जोड्ने दुई मिटर चौडा हुने गरी  ५७० मिटर लामो सस्पेन्सन पुलको ठेक्का खुलायो ।

कालिगण्डकी नदीमा निर्माण हुने पुलको ठेक्का ईलाईट रुविना जेभी कन्ट्रक्सनले पायो। बर्सेनि बर्खायाममा कालिगण्डकी नदी वारपार गर्न सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने सौरु र सिर्खुम गाउँका स्थानीय नागरिक पुलको योजना परेकोमा निकै उत्साहित बने। पुल बन्ला र बर्खायाममा जोखिम मोलेर कालिगण्डकी नदी तर्नुपर्ने परिस्थिति हट्ला भन्ने पर्खाइमा बसेका सौरु र सिर्खुमबासीको सपना ७ वर्ष बितिसक्दा समेत पूरा हुन सकेन। पुल बन्ने पर्खाइमा रहेका त्यस क्षेत्रका स्थानीय नागरिकहरूको  धैर्यताको बाँध पुल अलपत्र परेपछि टुट्दै जान थालेको छ।

२०७४ साल कार्तिक महिनामा  ५ करोड लागतमा ईलाईट  रुविना जेभी कन्ट्रक्सनले ३० महिनामा पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। २०७७ साल वैशाखमा सम्पन्न हुनुपर्ने कालिगण्डकी नदीमा निर्माणाधीन सस्पेन्सन पुल ७ वर्ष पुग्दासमेत सम्पन्न हुन सकेन। भौगोलिक विषमता, हिमपात, प्रतिकूल मौसम र कोरोना कहर लगायतको कारण देखाउँदै पटक-पटक म्याद हुँदै आइरहेको मुस्ताङको (कोवाङ-सौरु) जोड्ने सस्पेन्सन पुलको काम पछिल्लो समय पूनः गत वर्षको जेठदेखि अलपत्र परेको छ।

त्यसो त जोइन कम्पनीको रुपमा ठेक्का सम्झौता भएको कोवाङ-सौरु जोड्ने सस्पेन्सन पुलको सुरुवाती चरणमा रुविना कन्ट्रक्सनका प्रतिनिधि जयदेव थापाले पुल बनाउने जिम्मा लिएका थिए। प्रतिनिधि थापाले पुलको सुरुवाती आंशिक काम गरेपछि त्यसयता पुलको कामलाई अघि बढाउन सकेनन्। पुल बनाउने प्रतिनिधि नै पुलको काम अघि बढाउन छोडेर लामोसमय सम्पर्कविहीन रहे। त्यसपछि कोवाङ-सौरु पुल निर्माणको काम पूरै ठप्पै बन्यो। 

रुविना कन्ट्रक्सनका थापाले पुल अलपत्र छाडेकाले गतवर्षदेखि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जोइनको अर्को पार्टनर ईलाइट कन्ट्रक्सनलाई पुल बनाउने अख्तियारी दिएर फिल्डमा फर्कायो। ईलाइट मार्फत सहायक ठेकेदार निकेश श्रेष्ठ प्रतिनिधि बनेर (सौरु-कोवाङ) पुल बनाउन जुटे। गतवर्ष वैशाखमा पुलको अधुरो कार्य सुरु गरेका निकेशले पनि जेठ लागेपछि निर्माण कार्यलाई तीव्रता दिन सकेनन्। उनले पुलका लागि व्यवस्थापन गरेको मेट्रियल बाढीले बगाएकाले निर्माणको काम रोकिएको जनाएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका स्थित (कोवाङ-सौरु) जोड्ने सस्पेन्सन पुलको पछिल्लो भौतिक प्रगति ७० प्रतिशत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर प्रवेश रेग्मले जानकारी दिए।‘पुलको काम केही बाँकी छ, त्यसलाई वैशाख महिनाभित्र पूरा गर्ने भनेका छौं, इन्जिनियर रेग्मीले भने,‘ सिभिल र पुलको फिटिङ गर्ने काम छ, निरन्तर काम भएमा धेरै समय लाग्दैन।’ 

उनले निर्माण कम्पनीका प्रतिनिधि दसैं, तिहार र छठ पर्व सकिनेबित्तिकै काममा फर्किने जनाए। यता, ईलाइटका प्रतिनिधि निकेश श्रेष्ठले (कोवाङ-सौरु) जोड्ने पुल वैशाख अगावै सकिने दावी गरे। उनले पुलको काम सुरु गर्न जनशक्ति र उपकरण फिल्डमा परिचालन गर्ने तयारी गरेको बताए। ‘पुलको केही सिभिलको काम र पुल फिटिङको काम बाँकी छन्, सबै पुललाई सामानहरू कार्यस्थलमा व्यवस्थापन गरिएको छ। केही प्राविधिक कारणले गर्दा पुलको काममा बाधा परेको थियो’, उनले भने। 
 
राष्ट्रिय राजमार्गको कालिगण्डकीपारि पूर्वमा अवस्थित सौरु र सिर्खुम गाउँमा करिव १२० घरधुरीको बसोबास छ। कालिगण्डकी नदीमा पुल नहुँदा वर्षौंदेखि त्यस क्षेत्रका नागरकहरूले बर्खायाममा निकै कष्ट र सास्ती झैल्दै आइरहेका वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। कालिगण्डकी नदीमा पुल नहुँदा त्यहाँका नागरिकहरूले शिक्षा, स्वास्थ्य र स्थानीय तहको विभिन्न सेवा लिन कोखेठाँटीको पुल हुँदै करिव २ घण्टाको फेरोमा पैदल हिँड्नु पर्ने हुन्छ। कालिगण्डकी नदीमा पुल नबन्दा त्यहाँ उत्पादन हुने कृषि उपजको समेत सहज बजारीकणमा समस्या पर्ने गरेको सौरु गाउँका स्थानीय सोजन हिराचनले जानकारी दिए। उनले बर्सेनि बर्खायाममा खोला पार गर्न कालिगण्डकी नदीमा काठको साँघो हाल्ने र झिक्ने सास्ती व्यवहोर्न परेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.