सहकारी ठगी प्रकरण : रविको दोस्रो दिनको बयान जारी
भैरहवा : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी, संगठित अपराध कसुरमा दोस्रो दिनको बयान सुरु भएको छ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधबार बिहानदेखि पुनः बयान सुरु गरिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ बयान स्थगित पश्चात् बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधबार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुर्याएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूको उपस्थितिमा दोस्रो दिनको बयान सुरु गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याएको थियो। मंगलबार लामिछानेसँग ५ घण्टा बयान लिएर बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सबै विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहीले फसाइएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।